काठमाडौं- टोखास्थित टोखा चण्डेश्वरी अस्पतालमा कर्मचारी अभावका कारण आकस्मिक सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ। अस्पतालको आकस्मिक विभागमा कार्यरत दुई जना छात्रवृत्ति करारका नर्सिङ अधिकृत सरुवा भएपछि सेवा सञ्चालनमा समस्या देखिएको हो।
अस्पतालका कर्मचारीहरूले कार्यालय प्रमुखलाई सम्बोधन गर्दै लेखेको पत्रमा अन्य विभागबाट तत्काल दुई जना कर्मचारी खटाई आकस्मिक सेवा निरन्तर सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेका छन्। आवश्यक जनशक्ति नपुगेमा आकस्मिक विभाग बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ।
यससँगै कर्मचारीहरूले विगत पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। तलब नपाउँदा दैनिक जीवनयापनमा गम्भीर असर परेको उनीहरूको भनाइ छ। पाँच महिनादेखि पारिश्रमिक नपाउँदा मानसिक, सामाजिक र भौतिक रूपमा अत्यन्तै समस्यामा परेको समेत उनीहरूले बताएका छन्।
कर्मचारीहरूले तत्काल तलब उपलब्ध गराउन र सेवा सञ्चालन सहज बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले हालको अवस्था समाधान नभए उत्पन्न हुने समस्याको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने चेतावनी समेत दिएका छन्।