काठमाडौं-नेपाली हास्य क्षेत्रमा चर्चित कलाकार दीपकराज गिरीले आफूले सूर्ती सेवन छोड्न सकेको रोचक अनुभव सार्वजनिक गरेका छन्। उनका अनुसार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अनौठो सुझावले उनलाई सूर्तीबाट टाढा रहन प्रेरित गरेको हो।
के थियो घटना?
केही वर्षअघि आफू अत्यधिक सूर्ती खाने गरेको स्मरण गर्दै गिरीले बताए कि एकदिन मदनकृष्णले उनलाई सूर्ती नखान सल्लाह दिएका थिए। उनले मजाककै शैलीमा भनेका थिए,“जब सूर्ती खान मन लाग्छ, यसलाई मदन दाइको आची हो भनेर सम्झनु, खान मन लाग्दैन।”
गिरीका अनुसार, उक्त कुरा दिमागमा बस्यो र उनले लामो समयसम्म सूर्ती खानै मन नगरेको बताए। “झन्डै दुई महिना सूर्ती छोडेँ,” उनले भने।
तर केही समयपछि सूर्तीको तलतल बढ्दा उनले पुनः सेवन गरेको स्वीकारे। “एकदिन सोचेँ— अरूको होइन, मदन दाइको पो हो त! अनि खाइदिएँ,” उनले हास्दै सुनाए। यो घटनाले दुबै कलाकार लामो समयसम्म हाँसेका थिए।
यद्यपि, केही समयपछि उनले स्थायी रूपमा सूर्ती छोड्न सफल भएको पनि जानकारी दिए।
गिरीले मदनकृष्णलाई अत्यन्त सरल, रिसराग रहित र सबैको भलो चाहने व्यक्तित्वका रूपमा चित्रण गर्दै उनलाई “महान मानव” जस्तो लाग्ने बताए। साथै, उनले मदनकृष्णलाई जन्मदिनको हार्दिक शुभकामना पनि व्यक्त गरेका छन्।