काठमाडौं– कुनै समय उत्पादन ठप्पको स्थितिमा पुगेको सिंहदरबार वैद्यखानाले हाल १०३ थरीका औषधि उत्पादन गरेको छ।
च्यवनप्राश, त्रिफला चूर्ण, तुलसी चिया, दशमूल तेल, टंकण भस्मलगायत विभिन्न प्रकारका १०३ थरीका औषधि हाल वैद्यखानामा उत्पादन भइरहेको वैद्यखानाका निर्देशक डा. प्रदीप केसी बताउँछन्।
‘८४ प्रकारका औषधि उत्पादनको लक्ष्य भए पनि १०३ प्रकारका उत्पादन भइरहेको छ,’ डा. केसीले भने, ‘वैद्यखानाका औषधिको माग उच्च हुँदा धान्न धौं–धौंको स्थिति छ।’
बजारमा अत्यधिक माग भएका औषधिलाई प्राथमिकतामा राखेर उत्पादन हुँदै आएको उनले बताए। हाल वैद्यखानाले जी–टु–जी कारोबारमा ध्यान केन्द्रित गरिरहेको डा. केसी बताउँछन्।
आगामी दिनमा जीएमपीको काम अघि बढाउँदै शिलाजीत, मिमिया लगायतका औषधिलाई जीएमपी उत्पादन ढाँचामा लैजाने वैद्यखानाको योजना रहेको उनले जानकारी दिए। साथै, च्यवनप्राश, गुग्गुल र अन्य अवलेह औषधि पकाउन सुधारिएको चुल्हो निर्माण कार्य पनि अगाडि बढाइएको उनले बताए।
वैद्यखानाको निश्चित संगठनात्मक आकार आवश्यक
वैद्यखानाको सञ्चालनमा संगठनात्मक त्रुटि रहेको डा. केसीको धारणा छ। यसलाई निश्चित संगठनात्मक आकार दिएर त्यसअनुरूप कर्मचारी नियुक्ति गरिनुपर्ने उनी बताउँछन्।
वैद्यखानाको सञ्चालन सरकारले गर्ने हो भने दरबन्दीसहितको जनशक्तिको व्यवस्था गर्नुपर्ने उनको जिकिर छ। छैटौं तहमा चिकित्सकले २ दशकसम्म पनि पदोन्नति नपाउनु सामान्य देखिए पनि संस्थागत अन्याय भएको डा. केसीको ठहर छ।
वैद्यखानाको दीर्घकालीन सुधारका लागि यसलाई राजनीतिक चलखेलको थलो बनाउन नहुने उनी बताउँछन्। नेतृत्वमा स्थायित्व, कर्मचारी व्यवस्थापनमा न्याय तथा बजेटमा प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।
वैद्यखानाको दीर्घकालीन विकासका लागि नेतृत्व परिवर्तनभन्दा प्रणाली बसाल्न सक्नुपर्ने डा. केसीको धारणा छ।
जी–टु–जी सम्झौतामार्फत ५५ संस्थामा औषधि आपूर्ति
हाल सबै प्रदेशका स्वास्थ्य संस्थामा करिब ७ करोड रुपैयाँ बराबरको औषधि जी–टु–जीमार्फत वैद्यखानाले आपूर्ति गर्दै आएको छ।
माग हुँदै आएका करिब १० प्रकारका औषधि वैद्यखानाले चाँडै पुर्याउने तयारी गरेको डा. केसी बताउँछन्। आगामी केही दिनभित्रै डेढ करोड रुपैयाँ बराबरको औषधि आपूर्ति गरिने उनले बताए।
प्रदेश आपूर्ति केन्द्र तथा जी–टु–जीमार्फत करिब ५५ वटा स्वास्थ्य संस्थासँग काम गरिसकिएको उनले बताए। नरदेवी आयुर्वेद चिकित्सालय, कीर्तिपुर आयुर्वेद शिक्षण संस्थान लगायतका ११ संस्थामा पनि वैद्यखानाले औषधि आपूर्ति गर्दै आएको छ।
यो आर्थिक वर्षको अन्त्यसम्ममा वैद्यखानामा उत्पादन हुने औषधिको संख्या १०० पुर्याउने लक्ष्य रहेको डा. केसीले बताए।
जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी
वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्डमा लैजाने तयारी गरिएको निर्देशक डा. केसीले बताए।
यस वर्षदेखि शिलाजीत, मिमिया लगायतका औषधिलाई जीएमपी मापदण्डअनुसार उत्पादन गर्ने तयारी रहेको उनले जानकारी दिए। चूर्ण र ट्याब्लेटलाई पनि जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी भइरहेको उनले बताए।