भक्तपुर- काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको दोस्रो युनिट दुवाकोटमा मुटुको पहिलो सफल उपचार सम्पन्न भएको छ। भक्तपुर नगरपालिका इनाचोका ६९ वर्षीय मसिनु माकजू केएमसी दुवाकोटबाट मुटुको सफल उपचार सेवा लिने पहिलो बिरामी बनेका छन्।
पेट र मुटु दुख्ने समस्याले पिरोलिएका माकजूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालको अत्याधुनिक प्रविधिका साथ विशेषज्ञ टोली उनको उपचारमा तल्लीन भयो। मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक 'डाइग्नोस्टिक एन्जियोग्राम' सम्पन्न गर्यो।
करिब ३० मिनेटको उक्त परीक्षणका क्रममा उनको मुटुका दुईवटा नशाहरू अवरुद्ध भएको तथ्य फेला पर्यो। पहिलो पटकमै यस्तो महत्वपूर्ण सफलता हासिल गर्न सकिएकोमा डा. तामाङले खुसी व्यक्त गरेका छन्। हाल बिरामीको अवस्था स्थिर छ र चिकित्सकहरूको सल्लाहबमोजिम परिवारले चाँडै नै मुटुको अवरुद्ध नशा खुलाएर स्टेन्ट अर्थात् जाली राख्ने योजना बनाएका छन्।
एन्जियोग्राम भनेको मुटुको नशाको अवस्था कस्तो छ भनेर गरिने एक सूक्ष्म जाँच हो। सामान्यतया मुटु दुख्नेबित्तिकै हृदयघात नै भएको नहुन पनि सक्छ; यस्तो अवस्थामा एन्जियोग्रामले नशा अवरुद्ध भए/नभएको र हृदयघातको जोखिम रहे/नरहेको छर्लङ्ग पारिदिन्छ।
केएमसी दुवाकोटमा सञ्चालनमा आएको यस क्याथ ल्याबमा अब हृदयघातको उपचार, मुटुको शल्यक्रिया, नशा खोल्ने र जाली राख्नेदेखि भल्भ फेर्ने उपचारसम्मका सम्पूर्ण सुविधाहरू उपलब्ध छन्।