मुलुकी संहिता एेन! मुलुकी फौजदारि कार्यविधी!
उत्तेजित भिड ! हातपात र ज्यान मार्ने धम्कि!!
हत्याराको ट्याग! अनि अपराधी सरि हतकडी !!
यो सनसनीपूर्ण चक्रब्युह अड्किएको मेरो पेशा!
यो सङ्कटकालमा त्रसित काँपिरहेको मेरो हात !!
यो भयावह अवस्थामा निसासिएको मेरो ज्यान !!
आज घाँटी निमोठ्न खोज्दैछ राज्यले मेरो सिपको !
आज हत्या गर्न खोज्दैछ राज्य मेरो ज्ञानको !!
मेरो धर्मको ! मेरो पेशाको !
मेरो आँटको ! मेरो साहसको !!
जीवन भर आर्जेको पढाइ ज्ञान अनि सीप,
बिरामीको उपचारमा खर्चने म एक चिकित्सक।
न त भगवान हुँ म,
न अपराधी हुन सक्छु,
मामुली मानव म, एक चिकित्सक!
बिरामीको आफन्त रोइरहँदा ,
नरुनुस् न म छु नि, भन्ने म चिकित्सक!
बिरामी दुखाईले दर्दले रोगले छटपटिरहँदा ,
नआत्तिनुस् न म छु नि, उपचार छ नि, भन्ने म चिकित्सक !
जति तनाव बिरामीलाई, बिरामीको आफन्तलाई हुन्छ,
त्यति नै चिन्ता मैले हेरेको बिरामीको मलाई पनि हुन्छ!
आफ्ना बिरामी निको पारी घर पठाउने मन कुन चिकित्सकलाई हुन्न ?
ल भन्नुस् संसारभरमा हुने उपचारमा जोखिम कुन विधिमा हुन्न ???
कालगतिका मृत्यू र केही भवितव्यलाई विज्ञानले पनि छुन्न !!
खुशी हुन्छु म,
जब मेैले हेरेका बिरामी स्वस्थ मुस्कान सहित घर फर्किन्छन् ,
त्यहि मुस्कानका लागि उपलब्ध स्रोत साधनमा म इमान्दार परिश्रम गर्छु।
तर केही रोग, केही समस्या यति जटिल हुन्छन् कि विज्ञान पनि नतमस्तक हु्न्छ।
सम्पूर्ण उपचार विधि विफल हुन्छन्, सयौँ कोशिस बाबजुद मृत्यू रोक्न सकिँदैन।
जब आफ्नो बिरामी आफै सामु अन्तिम श्वास लिदै हुन्छ
म जिउन बिर्सन्छु, म श्वास फेर्न बिर्सन्छु!
याद हुन्छ त केवल "म कसरी यो धढ्कन फर्काउँ"?
म कसरी यो ज्यानमा श्वास प्रस्वास चलाउँ ??
म अथक प्रयास गर्छु !
तर भवितव्य भईदिन्छ!
रुन्छ मन मेरो पनि, दुख्छ मुटु मेरो पनि,
प्रकृतिलाई जित्न सकिन्न जब,
हरेक ज्यानमा प्राण भर्न सकिन्न जब !!
पसिना पुस्छु आफ्नो,
आँशु लुकाउँछु आफ्नो,
अनि बाहिर आई भन्छु,
अथक प्रयास बाबजुद "बचाउन सकेनौ"
तब अकस्मात आक्रोशित भिड मलाई मुर्दावादको गाथा सुनाउन थाल्छ!
मैले लुकाएको आँसु मेरै शरिर भित्र अब काँप्न थाल्छ,
विज्ञानले नसकेको, प्रकृतिले नथेगेको, ज्यानको
मलाई हत्याराको ट्याग लाग्छ !!
मेरो प्रयास, मेरो परिश्रम,
मेरो सीप मेरो ज्ञान म भित्रै अब मर्न थाल्छ !!!
अपरेसन कोठामा जब म रोग उखेल्दै हुन्छु,
घण्टौँ सम्म भोक प्यास निन्द्रा म सबै बिर्सन्छु,
अपरेसन कोठामा जब रगतका धारा छुट्छन् कहिले,
पसिनाका धारोले मेरा माथा भिज्छ,
बिरामीको भन्दा तेज मेरै धढ्कन दौडिन्छ,
तर पनि काँप्दैनन् मेरा हात !
तर पनि छाड्दिन म बिरामीको साथ!
हर विधि अपनाई जब बिरामी उठ्छ,
तब बल्ल मेरो मुटु सुकुनले धढ्किन्छ!
तर आज,
आज यो देश, यो कानुन,
यो नियम, यो एेन ले मरो साहस माथी प्रहार गर्दैछ !
मलाई उपचारमा जोखिम उठाउन बाट हतोत्साहित गर्दैछ !!
लौ भन हे जनता, अब म कसरी उपचार गरिरहुँ??
लौ भन हे देश, म यहि देशमा कसरी डाक्टर बनिरहुँ ??
टाउकोमा बन्दुक तेर्साई "निको पार् नत्र मर्छस्!" भन्दा तिमीले,
आफ्नै ज्यानको लागि भयावहित म,
लौ भन अब म उपचार कसरि गरिरहुँ?
आफेँ असुरक्षित म चिकित्सक,
लौ भन अब तिम्रो रोग निर्मुल, म कसरी गरुँ?
अब तड्पिरहेको तिम्रो बिरामीलाई,
बिना उपचार मर्दै गरेको म कसरी हेरुँ ?
छोएर अब छोइपासो बनुँ कि सिधै नहेरी रिफर गरुँ ???
"हत्यारा"!!
"ज्यानमारा"!!
"मुर्दावाद"!!
"५ वर्ष,१०वर्ष आजीवन जेल चलान"!!
माफ गर हे देश,
यो सबको लागि म डाक्टर बनेको होईन,
हत्या गर्नकै लागी मैले डाक्टरि पढेको होइन !!
यो साना दुखले अर्जेको लाईसेन्स होईन,
कि तिमी जथाभावि कानुन ल्याउ र मलाई जेल पठाऊ!!
अरे, "हत्यारा" नै हुनुथ्यो त बन्दुक बोक्थे, बारुत खेल्थे होला।
साथीभाई खेलिरहँदा म किताबमा मुन्टो किन जोद्थे होला ?
यत्रो वर्ष चाड, पर्व, बिदा, दिन या रात नभनी किन खट्थे होला ?
हत्यारा बन्न कै लागि यत्रो मेहेनत किन गर्थे होला ???
सेतो एप्रोन मेरो नैतिक पोशाक,
आला मेरो गर्वको माला!!
अस्पतालको कर्मचारि भन या मलाई देशको सेवक ,
मेरो पेशाधर्म छ नेक र म हुँ यसकै ईमान्दार सेवक ।
ए राज्य! किन लगाउछौ खोट तिमी मेरो नियतमा,
गर हेक्का, मर्का तिमीलाई नै पर्नेछ!
डाक्टरहरुले काम छोडे भने यदि,
राज्यले ठुलो भार चुकाउनुपर्नेछ !!
म एक चिकित्सक,
म एक आम चिकित्सक,
बिरामी बजैमा म आफ्नी आमा देख्थे।
बिरामी बुढा बालाई आफ्नै बुबा सोच्थे !!
भए त मसँग अमरत्व बुटि, मेरा बा-आमा सायद अमर हुन्थे।
भए त मसँग अमरत्व बुटि, म आफू नै सायद अमर हुन्थे।
तर डर लाग्छ मलाई मृत्यू सँग,
हो, मलाई डर लाग्छ तिमीले ल्याउने आक्रोषित भिड सँग,
डर लाग्दैछ मलाई राज्य सँग, देश सँग
यो अवैज्ञानिक मुलुकि एेन सँग!
सबसे बढि ,अब मलाई डर लाग्दैछ आफैसँग ,
किन कि म भित्र एक नेक मानव छ,
जो देश छाडि जान चाहदैन,
जो दुखि दरिद्रि बिरामीको उपचार गर्न चाहन्छ,
त्यसैले डर लाग्छ मलाई आफैसगँ
किनकि अहिले म भित्रको डाक्टर डराईरहेको छ,
डर लाग्दैछ मलाई,
म भित्रको डाक्टरको नजिकिदो मृत्यू सगँ !!
त्यसैले आग्रह छ मेरो ,
यो मुलुकि एेन सम्सोधन गरिदेऊ!
आम मानिसले डाक्टरलाई हेर्ने नजर फेरिदेऊ!!
हर मृत्यूलाई लापरवाही सोच्न छोडिदेऊ!
अस्पतालहरुलाई शान्तिक्षेत्र बनाईदेउ,
अस्पतालमा हुलदङ्गा तोडफोड निषेध गराईदेऊ!!
बरु गल्ति नै भए मेरो, छानबिन गरि सजाय सुनाईदेऊ!!
हचुवाको भरमा, भिडको लहडमा अपराधी नभनिदेऊ!!
बिन्ती उपचाररत मेरा अन्य बिरामीलाई नतर्साईदेऊ!!
हो, गल्ति नै भए मेरो, स्पष्ट छानबिन गरि सजाय सुनाइदेऊ!
तर विना प्रमाण, विना खोज अनुसन्धान,
मलाई "हत्यारा" नबनाईदेऊ !
मलाई हत्यारा नबनाईदेऊ!!
याद राख,
जुन दिन साँच्चै नै म भित्रको डाक्टर मर्नेछ ,
सायद म कुनै बिरामी नै हेर्ने छैन,
सायद म कुनै बिरामी नै छुने छैन,
त्यसबेला तिम्रो कानुनले त मलाई बक्स देला!!
त्यसबेला अज्ञानी भिडले त मलाई धमकि नदेला !!
त्यस दिन म त बाँचुला, तिम्रो भीडदेखि उम्कुला,
त्यस दिन ए ठूला नेता गण हो,
तिमीहरु त उपचारलाई विदेश पसौला,
तर उपचार भए बाँच्न सक्ने आम जनता,
बिना उपचार मे भने कसले फर्काइदेला ??
त्यस दिन म त बाँचुला,
तिम्रो भिड देखि, तिम्रो कानुन देखि उम्कुँला!
तर पेशा धर्म बाट हात धोएर,
म भित्र मरिसकेको डाक्टर कसले ब्युँत्याइदेला ??
अनि,
अनि जुन दिन म जस्ता "म"हरु भित्रका डाक्टरहरु एकाएक मर्नेछन्,
जुन दिन म जस्ता "नेक" डाक्टरहरुका हातहरु सधैँको लागि काँप्नेछन्,
जुन दिन म जस्ता साहसी डाक्टरहरु उपचार जोखिम मोल्नबाट भाग्नेछन्,
जुन दिन म जस्ता देशप्रेमी डाक्टरहरु एकाएक विदेश पलायन हुनेछन्,
हे देश, मलाई डर लाग्छ याहाँ कति बिरामीहरु बिना उपचार मर्नेछन्.......!!!
(डा कार्की काठमाडौं युनिभर्सिटी धुलिखेल अस्पताललामा एमएस गरिरहेकी छिन् )