काठमाडौं- नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो।
परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईले गत भदौदेखि अनुसन्धान शुरु गरिएको जानकारी दिँदै उच्च रक्तचाप, नूनको मात्रा, चिल्लो पदार्थलगायत कुन तत्वले नसर्ने रोगलाई बढी प्रभाव पारेको छ भनेर अनुसन्धान हुने जानकारी दिए।
प्रारम्भिक चरणमा अहिले घरधुरी सर्वेक्षणका लागि २४ समूहमा टोली परिचालन गरिएको छ। सन् २०१३ को अनुसन्धानमा नसर्ने रोग बढ्दै गएको पाइएको थियो। तथ्याङ्कले उच्च रक्तचाप, मोटोपन, मादकपदार्थ, सुर्तीजन्य पदार्थको प्रयोग, नूनको मात्रा बढ्नुलगायतका कारणले हृदयाघात, मुटुरोग, क्यान्सरजस्ता नसर्ने रोग बढ्न सहयोग गरेको देखिएको थियो।
फेरिँदो 18, लापरवाहीपूर्ण खानपिन तथा शारीरिक अभ्यासको कमीले नसर्ने रोगलाई बढाउन मद्दत गर्ने क्यान्सर रोग विशेषज्ञ डा अनील कार्की बताउँछन्। अस्वस्थकर खानपिन पनि अर्काे महत्वपूर्ण कारक तत्व हो। यस्तै वंशाणुगत तथा विभिन्न विषादीले पनि नसर्ने रोगलाई बढाउन मद्दत गर्ने डा कार्की बताउँछन्।
सन् २०१३ कोभन्दा अहिलेको अवस्था के छ भनेर यसपटक अध्ययन हुनेछ। यसबाट आएको प्रतिवेदन सरकारलाई बुझाइने परिषद्ले जनाएको छ। अनुसन्धानले रोगको जोखिम घटाउन नीति निर्माणका लागि सरकारलाई सहयोगी भूमिका खेल्ने विश्वास लिइएको छ।
देशका सबै क्षेत्रलाई प्रतिनिधित्व गर्दै झण्डै ५० हजार घरघुरी प्रारम्भिक सर्वेक्षणबाट छानिएको छ हजार २४७ घर छनोट गरी अनुसन्धान हुने अर्का अनुसन्धान अधिकृत अच्यूतराज पाण्डेले बताए। यसमा १५ देखि ६९ वर्षका व्यक्ति सहभागी हुँदैछन्।
शुरुमा भौगोलिक अवस्थाको पहिचान हुने त्यसमा पनि शारीरिक अवस्था र अभ्यास गरे नगरेको अनुसन्धान हुनेछ भने तेस्रो चरणमा रगत र पिसाब सङ्कलन गरेर ल्याब परीक्षण हुनेछ। रगतमा चिनी र चिल्लो पदार्थको मात्रा र पिसाबबाट नूनलगायतको मात्रा पत्ता लगाइनेछ।
गएको दुई महिनामा ३१ हजारको घरधुरीमा प्रारम्भिक सर्वेक्षणको काम सकिएको पाण्डे बताउँछन्न्। सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा नसर्ने रोगका कारण करीब ६० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ। 11 सङ्गठनले समेत नसर्ने रोगको जोखिम विश्वमै बढ्दै गएको भन्दै हरेक राष्ट्रलाई ध्यानाकर्षण गराउने र अनुसन्धानमा समेत सहयोग गर्दै आएको छ। नेपालमा पनि हरेक पाँच वर्षमा नसर्ने रोगको अनुसन्धान हुन्छ।
गत भदौबाट शुरु भएको अध्ययनअनुसार सन् २०१८ भित्रमा घरधुरी सर्वेक्षण सकेर दोस्रो चरणको अनुसन्धान थाल्ने बताउँदै अनुसन्धान अधिकृत सरोज भट्टराईले अर्काे दशैँमा प्रतिवेदन सार्वजनिक हुने जानकारी दिए।
परिषद्का उपमुख प्रशासकीय अधिकृत निर्भयकुमार शर्मा अनियमित खानपिन, चेतनाको कमी, शारीरिक अभ्यास नहुँदा नसर्ने रोग बढ्दै गएको दाबी गरछन्। “अल्छीपन छ, आधा घण्टा लाग्ने बाटो हिँड्न छाडेर आधा घण्टै कुरेर पनि गाडी चढ्ने बानी छ, यसले नसर्ने रोगलाई स्वभाविकै सहयोग गर्छ”, शर्मा भन्छन्। वातावरण प्रदूषण र अव्यवस्थित शहरीकरण पनि अर्काे कारक तत्व हुनसक्ने भन्दै यसतर्फ पनि अनुसन्धान केन्द्रित गर्नुपर्ने अनुसन्धानकर्मीको भनाइ छ।
बढ्दो छ नसर्ने रोगको जोखिम
नेपालमा सन् २००३ बाट नसर्ने रोगको अध्ययन शुरु भएको थियो। सन् २०१३ देखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा अनुगमन भएको थियो। सन् २०१३ को तथ्याङ्कमा नेपालमा २२ दशमलव ४ प्रतिशतमा मोटोपन पाइएको थियो। यस्तै २१ दशमलब ६ प्रतिशतमा बढी तौल र ४ प्रतिशतमा अत्यधिक मोटोपन रहेको थियो।
औषधि नलिने ८३ दशमलब ३ प्रतिशतमा उच्च रक्तचाप, ९१ दशमलब ५ प्रतिशतमा चिनी रोग र कोलेस्टोरल २२ दशमलब ७ प्रतिशतमा थियो। अनुसन्धानमा ध्रुमपान गर्ने १८ दशमलब ५ प्रतिशत, फलफूल तरकारी तथा सागसब्जीको मात्रा कम खाने झण्डै ९९ प्रतिशत रहेको छ। यी विभिन्न कारणले नसर्ने रोगलाई बढावा दिन सहयोग गर्ने चिकित्सक बताउँछन्। रासस