काठमाडौं- नेपालमा ४० प्रतिशत जनता १८ वर्षमुनिका छन्। भविष्यमा देशको जिम्मेवारी बोक्ने उनीहरुको मानसिक तथा बौद्धिक विकासका लागि सरकारले निकै न्यून लगानी गरिरहेको सरोकारवाला बताउँछन्।
कुल बजेटको ५ प्रतिशत भन्दा कम स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको छ। त्यसको पनि एक प्रतिशत भन्दा कम बजेट मात्र मानसिक स्वास्थ्य क्षेत्रमा छुट्याउने गरिएको छ। त्यसैमा पनि बालबालिका तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यको लगानी शुन्य प्रायः रहेको छ।
मानसिक रोग मध्ये ५० प्रतिशत रोगको शुरुवात १४ वर्ष भन्दा कम उमेरमा नै भइसक्ने र ७५ प्रतिशत रोगको शुरुवात २४ वर्ष भन्दा अगाडी नै हुने विभिन्न अनुसन्धानले देखाएको छ।
विश्व मानसिक स्वास्थ्य दिवस सन् २०१८ देखि २०२० सम्मको एउटै नारा ‘बदलिदो विश्व परिवेशमा युवा र मानसिक स्वास्थ्य’ रहनुले समेत किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिनुपर्ने स्पष्ट पारेको छ।
यसैसन्र्दभमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यका विषयमा आगामी कदमबारे ‘बालबालिका तथा किशोरकिशोरीहरुको मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ काठमाडौंमा सम्पन्न भएको छ।
हिजो र आज काठमाडौंमा भएको सो सम्मेलनले ११ बुदेँ काठमाडौं घोषणापत्र जारी गरेको छ।
उक्त घोषणापत्रमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य प्रवद्र्धनको लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने, संघीय संरचनामा सुहाउँदो कानुन, नीतिको विकास गर्दै मानसिक स्वास्थ्यको विकास गर्ने, बालबालिको तथा किशोरकिशोरीलाई लक्ष्य गरी सुदुपयोगमा आधारित कार्यक्रमहरुको तर्जुमा तथा कार्यन्वयन गर्ने र बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई लक्षित गरी थप वैज्ञानिक अध्ययन र अनुसन्धानको प्रवद्र्धन गर्नेलगायतका विषय समेटिएको छ।
समापन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले वर्तमान सरकारले मानसिक स्वास्थ्यलाई महत्वका साथ लिइएको र त्यसमा बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयोजकत्व तथा युनिसेफ, सी.एम.सी नेपाल, टि.पी.ओ नेपाल, युएमएन, नेपाल मनोचिकित्सक संघलगायतको नेपालमा पहिलो पटक बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो।
नेपाल मनोचिकित्सक संघका अध्यक्ष डा अरुणराज कुवँरले सरकारी, गैर सरकारी, निजी क्षेत्र, शिक्षण संस्था, अनुसन्धानकर्ता, विषयगत विज्ञ, नागरिक समाजलगायतका सबैलाई एउटै थलोमा ल्याई बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यका लागि भएका कामका साथै अन्तर्राष्ट्रिय अभ्यासबारे छलफल भएको बताए।
उनले भने, ‘मानसिक स्वास्थ्यको क्षेत्रमा भए गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धान, शोधका उपलब्धीलाई आपसमा छलफल गरी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य र यस क्षेत्रमा काम गर्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय सहकार्यको वातावरण तयार गर्नु पनि यस सम्मेलनको उद्देश्य थियो।’
नेपालमा बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्राथमिक स्वास्थ्य सेवासँग एकिकृत गरि समुदाय स्तरसम्म प्रभावकारी ढंगले सेवा विस्तार गर्नका लागि पैरवी आवश्यक भएको उनले बताए ।
सम्मेलनमा नर्वे, अमेरिका, बेलायत, क्यानडा, भारत र नेपाल गरी २ सय १७ जनाको सहभागिता रहेको थियो।
11 संगठनका अनुसार २०१८ को तथ्याङ्क अनुसार विश्वमा हरेक ५ जना व्यक्ति मध्ये एकजनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको अनुमान छ।नेपालको पछिल्लो अवस्था हेर्ने हो भने करिव ५० देखि ५५ लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेको अनुमान छ।
सन् २००८÷२००९ मा स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको अध्ययनले १५ देखि ४९ वर्ष उमेर समूहमा रहेका महिलाको मुत्यको पहिलो कारण आत्महत्या रहेको देखाएको छ।
नेपाल प्रहरीको गत आ.व. २०७४÷०७५ को तथ्यांक अनुसार ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेको तथ्याङ्ग छ । यसको प्रमुख कारण मानसिक समस्या रहेको चिकित्सकको भनाई छ।