ऊ मनले नमस्कार गर्छ, म हातले फर्काऊछु
जति नजिकिन खोज्दछ, म ऊति तर्काऊछु
ऊस्को मन पीडाको पोको, फुकाऊन खोज्दछ
मेरो मन दम्भ र बडप्पन रोज्दछ
बिरामी ऊ कि म ?
ऊ भन्छ टाढा बाट आएको, ठाउँ छैन रहने
‘काठमाडौंमा घर त दिन सक्दिन’ मैले यही हो कहने
‘राम्ररी हेरिदिनु' झल्किन्छ, आशा होइन कुनै रवाफ
'चिना बोकेर ल्याछौ ? यही हो मेरो जवाफ
बिरामी ऊ कि म ?
कुर्दछ दिनभर, म दिन्छु मिनेट केही
मुस्काउँछ सकि–नसकि, प्यारो मान्दछ त्यही
लम्पसार पर्छ, नाङ्गिन्छ, मेरै एक आदेशमा बोकेर आशा
म बॉड्छु प्राय निराशै निराशा
बिरामी ऊ कि म ?
ऊ भन्दछ- तिमी मेरो भगवान
म रन्कन्छु- भोलि दानव नभन
कहिले ओखर, माछा कहिले, कहॉको घिउ, कहॉको स्याऊ
खुसुक्क झिक्ने ऊ, म भने मान्ने झ्याऊ
बिरामी ऊ कि म ?
म भन्छु- जुत्ता खोलेर सुत्नु भन्या सुनेन र
उसलाई फाटेको मोजा देखिने डर
आफ्नै लवजमा ऊ सोच्दोछ- यो डाक्टर खासा
म दिन्छु गाली- खोई जानेको मेरो भाषा
बिरामी ऊ कि म ?
समस्याको फेहरिस्त, ऊ लगाउँछ मसँग
मैले लगाइदिएको रोग हैन, भन्दा ऊ झसंग
जग्गा बन्धकि राखेर आएको, सुनाउँछ पैसा छैन
एकै नाश रटिरहने म, म सरकार हैन
बिरामी ऊ कि म ?
डा बराल वीर अस्पतालमा मिर्गौला रोग विशेषज्ञका रुपमा कार्यरत छन्।