रुपन्देही- गत सोमबार राती थुन्हिया स्वास्थ्य चौकीमा कार्यरत अनमी उषा केसीमाथि कुटपिट भयो। कुटपिटबाट रात्रीकालीन सिफ्टमा ड्युटीमै रहेकी अनमी केसीको बायाँ हात भाचिएको छ। अनमी केसिमाथी भएको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध जनाएका छन्। कुटपिटबाट घाइते भएकी अनमी केसीले उक्त दिनको घटना र उनीमाथि भएको आक्रमणका विषयमा स्वास्थ्यखबरका चन्द्रकान्त खनालसँग यसरी सुनाएकी छिन्। उनको पीडा उनकै शब्दमा :
कपिलवस्तुको थुन्हिया स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा कार्यरत छु। पुस २ गते हेल्थपोस्टमा काम गरिरहेको अवस्थामा एक अपरिचित व्यक्ति आएर ढोकामा लात्तीले हानेको आवाज आयो। त्यसपछि यो स्थान मेरो लागि सुरक्षित छैन भनेर मैले हेल्थपोस्टका ईन्चार्ज राजेश कुँवरसँग भनें। उहाँले 'त्यो मान्छे ठीक छैन, त्यस्तासँग के बोल्ने' भन्नुभयो। फेरि पुनः ४ गते त्यो मानिस आएर हेल्थपोस्टमा दिनभर बसेको थियो। पछि घर गएछ।
९ गते बेलुका हेल्थपोस्टमा एक जनाको सुत्केरी गराएर घर पठाएँ। त्यसपछि म बर्थिङ सेन्टरको क्वाटरतिर लागें। बेलुकाको १० बजिसकेको थियो। एक जना स्विपर र कार्यालय सहयोगीसहित हामी ३ जना त्यहाँ बसेका थियौं। स्विपर दिदी हुनुहुन्छ। उहाँले त्यो दिन मदिरा सेवन गर्नु भएको रहेछ। बिस्तारामा पुगेको एकै छिनमा निदाउनु भयो।
म मोबाइल चलाएर बसेकी थिएँ। बाहिरबाट सानो स्वरमा ढोका ढक्ढकाइरहेको आवाज आयो। एक दुई पटक ढोका ढक्ढक्याउँदा समेत मैले ढोका खोलिनँ। बिरामी आउने ठाउँ, रातको समय। ढोका खोल्ने कि नखोल्ने, एकदमै दोधार मन भयो। बाहिरको आवाज सुन्दा पनि बिरामी लिएरै आएजस्तै सानो स्वर थियो। ढोका ढक्ढक्कीरहेको थियो।
मन दोधारमा नै थियो। मैले सुरक्षाका विषय सोचें। केही दिनअघि भएको घटना पनि सम्झें। पछि ठुलो स्वरमा ढोका हान्न थाल्यो। म आत्तिएँ। हतार-हतार वडाध्यक्षलाई फोन गर्न थालें। उसले ढोकामा तात्ती बजारिरहेको आवाजले फोनमा डिस्टर्व पनि भइरहेको थियो। क्षणभरमा नै ढोका फुटेको आवाज आयो। मेरो डर यति बढ्यो कि, म व्यक्त गर्न सक्दिनँ।
म आत्तिएकी थिएँ। वडाध्यक्षसँग कुरा गर्दागर्दै अग्लो मान्छे भित्र पस्यो। मलाई कुटपिट गर्न थाल्यो। बेस्सरी कुट्यो। मेरो छेउमै रहेकी स्विपर दिदीलाई बोलाएँ। तर दिदी बोल्नु भएन। दिदी पनि डरले भागिसक्नु भएको रहेछ। उहाँ कता जानु भयो मलाई पत्तो भएन। अब मलाई झन् बढी डर लाग्न थालिसकेको थियो।
उसले पिट्दापिट्दै बल्लबल्ल बाहिर निस्कन सकें। चकमन्न रात। झन् सुनसान। मैले बोलाएको कसैले सुनेन। बाहिर पनि मलाई डर नै लाग्यो। केही समयपछि म फेरि बाहिरबाट भित्र गएँ। त्यो मानिस त्यहीँ रहेछ। उसले आफ्नो शरीरमा लुकाएर लठ्ठी पनि ल्याएको रहेछ। त्यही लठ्ठीले मलाई हान्न थाल्यो। टाउको शरीर सबैतिर हान्दै थियो। मैले आफूलाई बचाउन हर तरहले प्रयास गरी नै रहेकी थिएँ। हातले टाउको जोगाउछु भन्दा मेरो हातमा उसले हानेको लठ्ठी बजारियो। देब्रे हात भाँचियो।
प्रतिरक्षा गर्ने मेरो सामर्थ्य कमजोर हुन थालिसकेको थियो। वडा अध्यक्ष घरबाट हेल्थपोस्टमा आउने समय मलाई धेरै नै लामो लाग्न थालिसकेको थियो। उनी नआउन्जेले उसले पिटेको सकेसम्म प्रतिरक्षा गर्नु र सहनु बाहेक मसँग अरु कुनै विकल्प थिएन।
अब म मर्ने नै भएँ। मार्नेको मुख देखेरै मर्छु भन्ने सहास आयो। हिम्मत जुटाएँ। उसको ज्याकेटमा समातें। त्यही ज्याकेटमा झुन्डिएँ।
बल्लबल्ल उसले लगाएको माक्स खोल्न सकें। अनुहार हेरें। ऊ त २ गते हेल्थपोस्टमा आएकै मान्छे पो रहेछ।
यति गर्दा वडाध्यक्ष आएको आवाजको संकेत आयो। वडाध्यक्ष आएको संकेत पनि पाउनु र मैले उसको पहिचान गर्न पनि सक्नु लगभग एकै समयमा भएको थियो।
वडाध्यक्ष आएपछि ऊ भागेको थियो। पछि घरबाट दाजु र बुबालगायत गाउँका मानिसहरू पनि आउनु भयो।
यदि वडाध्यक्ष अलि ढिला गरेको भए मेरो प्राण नै जाने थियो। धन्न उहाँ आउनु भयो।
त्यति बेलासम्म प्रहरी र स्थानीयलाई वडाध्यक्षले नै फोन गर्नु भएको रहेछ। मलाई कुट्ने मोहबुज मुसलमान हो। ऊ गाउँकै एक घरमा गएर लुकेको अवस्थामा फेला पर्यो। दाई र स्थानीयको सहयोगले प्रहरी कार्यलयमा बुझाउन सफल भयौं।
प्रहरीलाई खबर गरेका थियौं। तर प्रहरी पनि उसलाई समात्न डराए। प्रहरीले भने 'ऊसँग हतियार होला। हामीसँग हतियार छैन। कसरी समात्ने?
दाईसहित गाउँलेले पनि सहयोग गर्ने बताए। सबैको प्रयासमा उसलाई समात्न सकियो। मुसलमान ईलाका प्रहरी खोरमा रहेको छ।
यदि वडाअध्यक्ष समयमै नआएको र मैले हातले छेक्न नसकेको भए मेरो टाउकोमा गहिरो चोट लाग्ने थियो। म बाच्ने थिइनँ।
अहिले मेरो शरीरमा निलडाम छन्। हात भाँचिएको छ। निकै कमजोर अवस्थामा छु। आक्रमणपछि त्यो राति त्यहीँ उपचार भयो। १० गते बुटबलको मेडिटेक अस्पतालमा हातको पलास्टर गरिएको छ। मेरो उपचारमा डा गोपाल ज्ञवाली संग्लन हुनुहुन्छ।
आक्रमणपछि शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध गरेका छन्।