प्रिय आला,
प्रणय दिवसको अवसरमा तिमीलाई 'प्रिय' सम्बोधन गरेर पत्र लेख्दै छु। थाहा छैन यो प्रिय शब्द यस विशेष दिनमा यसरी प्रयोग गर्नु जायज छ कि छैन। तर तिम्रो आत्मीयता, न्यानोपन र तिमीसँग जोडिएको मेरो सम्बन्धले गर्दा मलाई उक्त शब्द जायज छ जस्तो लाग्छ र यो शब्द प्रयोग गर्न अनि तिमीलाई 'तिमी' भनेर सम्बोधन गर्न कत्ति पनि अप्ठ्यारो महसुस भएको छैन। आशा छ, तिमीले पनि यो सहज र सकारात्मक रुपमै लिने छौ।
मनमनै मन पराएर एकतर्फी प्रेम गरेको करिब एक दशक अनि अनौपचारिक सम्बन्धमा गासिएको करिब आधा दशकपछि अहिले त्यो सम्बन्धलाई औपचारिक मोड दिन पाउँदा ती सँगै बिताएका क्षण मेरा लागि निकै भावपूर्ण छन्। र सँगै बिताएका हरेक पल अविष्मरणीय क्षण बनेर मेरो मानसपटलमा घुमिरहन्छन्। तिमीलाई मनमनै मन पराएको क्षणदेखि लिएर अनौपचारिक प्रेम सम्बन्धमा गाँसिएर अहिले त्यसलाई औपचारिक सम्बन्धमा पुर्याँउन पाउँदा आफूलाई निकै भाग्यमानी सम्झन्छु। अनि अहिले सँगै रहेर तिम्रो साथ काफी छ, तिमीलाई पाउन गरेका ती अनगिन्ती सम्झौता, कडा परिश्रम, अथक प्रयास, अनि त्यो पीडा सबै बिर्साउन।
तिमीलाई पाउन मैले गरेको त्यो कठिन यात्रामा कति रातसँग सम्झौता गरेर अनिंदो बस्नुपरेको छ। कति छाकसँग सम्झौता गरेर भोकै बस्नुपरेको छ। घरपरिवार, आफन्त साथीभाइ सबैसँग टाढिनु परेको छ। प्रोफेसरको रुखो बोली, सिनियरका अनगिन्ती गाली, साथीभाइका आफ्नोजस्तै निराश कथा आदिआदि अनेकौं सुन्नु परेको छ। साच्चै, तिमीलाई पाउन अनगिन्ती मठ–मन्दिर ढोग्नेदेखि लिएर, घर–परिवारसँग टाढिएर बिरानो ठाउँमा गएर निकै दु:ख भोगेको छु।
तिमीलाई पाउन त्यो मेरो प्रयास मात्र त कहाँ पर्याप्त थोयो होला र? त्यसको पछाडि मुख्य नायकको भूमिका खेल्ने त मेरो बुबाआमा हुनुहुन्छ। जसले मलाई तिमीसँग भेटाउनैको निम्ति मैलेभन्दा धेरै भोक निद्रासँग सम्झौता गर्नुभएको छ। जसले आफ्नो इच्छा, आकांक्षा, सपना सबै धितो राखेर, सम्पूर्ण मिहिनेत मात्र तिमीसँग नजिकिने वातावरण मिलाउन खर्चिनु भएको छ। तिमीले त्यो सरल रुपमा लिन्छौं होला, तर प्रिय त्यो सबै दु:ख मैले तिमीलाई चाहन्छु भन्ने थाहा पाएर, तिमीसँग सम्बन्ध गाँस्न गर्नुभएको त्याग थियो, जसको ब्याख्या गर्न अहिलेसम्म कुनै शब्द भेटेको छैन। र सायद भेटिंदैन पनि होला। त्यो सबैकुरा सम्झिँदा त साँच्चै मलाई तिम्रोभन्दा पनि तिमीसँग भेटाइदिने मेरो बुबाआमाको बढी माया लाग्छ।
अझै मेरो मानसपटलमा ताजा नै छ, पहिलोपल्ट तिमीलाई देखेको त्यो क्षण। एउटा हस्पिटलको हाताभित्र, एउटा भद्र भलाद्मी देखिने, सुकिलो लुगा लगाएका व्यक्तिको गलामा तिमी माला बनेर जसरी सजिएर बसेकी थियौं, त्यो देख्नासाथ मेरो पूर्ण ध्यान तिमीतिर तानिएको थियो। अनि तिमी आकर्षकको केन्द्र। हो त्यही नै थियो मैले तिमीलाई पहिलो पटक देख्न पाएको क्षण। अनि त्यो तिमीलाई देखेको दिनदेखि नै थियो, मैले तिमीलाई मनमनै मन पराउन थालेको, त्यही दिन तिमीसँग जोडेर जीवनका सपना बुन्न थालिसकेको थिएँ।
तर प्रिय, देख्दैमा र चाहँदैमा जोकोहीलाई आफ्नो भन्न, आफ्नो बनाउन कहाँ सम्भव छ र? यदि सम्भव हुन्थ्यो भने त बजारमा असफल प्रेमका कहानी, ब्रेकअपका घटना किन छ्याप्छ्यप्ती सुन्न पाइन्थ्यो होला र? त्यस्तो सम्बन्ध क्षणिक सम्भव भए पनि दोहोरो सम्बन्ध बनाउन अनि त्यसलाई दिगो राख्न दोहोरो समझदारीको जरुरत पर्थ्यो। जसका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्थ्यो। र त्यो प्रक्रियाअन्तर्गत लामो समय, कडा परिश्रम, पारिवारिक समर्थन र आर्थिक लगानी सबैको तालमेल मिल्नुपर्थ्यो। त्यसैले त त्यो बेला मन पराएकै भरमा मात्र त तिमी मेरा लागि आकाशको फल जस्तै थियौं।
एक पटक मात्र देखेको भरमा परेको त्यो एकतर्फी प्रेममा डुबेर मनदेखि नराम्रो मान्नभन्दा बरु त्यस्तो प्रेमबाट ओभानो नै रहन्छु भन्ने सोचेर बिस्तारै याद कम गर्दै थिएँ, भुल्दै थिएँ।
त्यसको धेरैपछि एउटा अनौपचारिक कुराकानीका बीच औपचारिक रुपमा तिम्रो नाम थाहा पाउने अवसर मिल्यो। त्यहाँ त्यस्तै कुराकानीका बीच, कोही ज्ञानी पुरुष आएर भनेका थिए– ए! त्यो डाक्टरले घाँटीमा भिर्नेलाई त स्थेतोस्कोप भनिन्छ । स्थे.....? अलि गाह्रो लाग्यो तिम्रो नाम त्यसैले तिम्रो नाम त सुनें तर पूरा नाम टिप्न भ्याइनँ। अनि सोचें, मैले मन पराएकी उनको नाम त 'एस' बाट आउने रैछ। नाम मात्र थाहा पाउँदा पनि निकै खुसी भएको थिएँ। मन चंगा भएको थियो। साँच्चै, बालापनको प्रेम कस्तो निश्चल हुन्छ है?
समय बित्दै गयो। देखभेट नभएपछि सम्पर्क पातलिंदै गएपछि याद पनि बिस्तारै कम हुँदै बिरानो भइने रैछ र माया पनि फितलो हुँदै जाँदो रहेछ। यस्तै क्रममा एकदिन तिमीसँग प्रत्यक्ष भेटको मौका मिल्यो। प्लस टु पढ्ने बेलामा बायोलोजीको एउटा प्राक्टिकल कक्षामा ब्लड प्रेसर नाप्न सिकाउने प्रयोगात्मक कक्षा हुन्थ्यो। हो त्यही दिन थियो मेरो मन जित्न सफल, बाल्यकालदेखि मैले एकतर्फी प्रेम गरेको तिमीसँग पहिलो पटक भेट भएको र तिम्रो स्पर्श पाएको। त्यतिबेला कलेजमा मोबाइल बोक्न अनुमति थिएन तर त्यस दिन लुकाएर लगेर भए पनि तिमीसँगको एउटा फोटो लुकाएरै क्यामेरामा कैद गरेको थिएँ। अनि घरमा गएर निकै उत्सुकताका साथ हेरें, तिमी र म सँगै हुँदा कस्तो देखिन्छ भनेर। एक त सानो मोबाइलको क्यमेरा त्यत्ति क्वालिटी नभएको, अर्को खिच्दा फोटो हल्लिएछ। अलि धमिलो आयो। तैपनि हाम्रो सँगैको त्यो फोटो हेर्दै निकै खुसी थिएँ। अनि अझै धेरै तिमीलाई पाउने इच्छा पलाएर आयो।
अनि प्लस टु सकेर मेरो घरकालाई फकाएर तिम्रो घरकालाई रिझाएर भर्नाको औपचारिकतापछि सुरु भयो मेरो औपचारिक एमबिबिएसको पढाइ। अनि हाम्रो अनौपचारिक सम्बन्ध, जसलाई औपचारिक बनाउन अझै साँढे पाँच वर्षको कडा परिश्रम गर्न बाँकी थियो। त्यसपछि हाम्रो निकटता बढ्यो र हामीसँगै रहन पायौं। लाग्थ्यो, मैले तिमीलाई प्रेमिकाको रुपमा पाएँ, जुन सम्बन्ध वैधानिक हुन्थेन। किनकि प्रिय, तिमीलाई थाहा छ नि, नेपाली समाजमा प्रेमी-प्रेमिकालाई हेर्ने दृष्टिकोण अलि भिन्न हुन्छ। त्यस्तै थियो, हाम्रो मेडिकल कलेजको चिकित्सकीय वातावरण पनि। जस्तो कि, नामको अगाडि डाक्टर नलेखी काँधमा आला झुन्ड्याउनु त्यति शोभनीय हुन्थेन र अग्रजहरुले पनि त्यही सिकाउँथे र यदि बाहिर देख्नेगरी काँधमा राखिहाल्यो भने पनि उडाउने धेरै हुन्थे। त्यसैले तिमी साथमा भएर पनि हामी बाहिर खुल्लमखुल्ला त्यति हिँडिन्थेन। तर अक्कल्झुक्कल एकान्त पारेर मैले तिमीलाई अँगालोमा बेर्ने भने गर्थें। जस्तो कि, एउटा भर्खर प्रेममा परेको प्रेमी केटाले जसरी प्रेमिकाको हात समाउन डराउँछ, म पनि त्यसरी नै डराउँथें। अनि जब एकान्तमा भएपछि यताउता नियालेर निर्धक्क हात समाउँछ र अँगालोमा बेर्छ नि हो म पनि कहिलेकाहीं एक्लै भएको बेलामा एप्रोनको खल्तीबाट निकालेर डराइडराइ घाँटीमा बेर्ने गर्थें किनकी जसरी प्रेम सम्बन्धले औपचारिक रुप लिएर वैवाहिक सम्बन्धमा नबाँधिउन्जेल समाजको अगाडि सँगै हात समाएर हिंड्न डराइन्छ, हाम्रो त्यो चिकित्सकीए समाजमा पनि त्यही चलन थियो, नामको अगाडि डाक्टर नलेखिन्जेल आलालाई गलामा सजाउन शोभा नदिने। त्यसैले तिमी पाँच वर्षसम्म मेरो खल्तीको खल्तीमै रह्यौ।
हाम्रो सम्बन्धलाई औपचारिक रुप दिन चरणबद्ध रुपमा कयौं परीक्षा दिनुपर्थ्यो, दिएँ। अनि समय बित्दै जाँदा अन्तिम परीक्षा आयो र त्यो पनि दिएँ, जुन परीक्षामा पास भएपछि हाम्रो सम्बन्धले औपचारिक रुप पाउँथ्यो। परीक्षा दिएको केही दिनपछि नतिजा आयो। तिमीलाई आफ्नो बनाउने नतिजा सार्वजनिक भएपछि मनमा एकदम डर लाग्यो। किनकि परीक्षा जतिसुकै राम्रो गरे पनि नतिजामा निर्धक्क भएर बस्ने वातावरण सायद मेडिकल फिल्डभित्र हुन्थेन। अनि उक्त नतिजा सार्वजनिक भएको थाहा पाएपछि मुटुको चाल यतिसम्म बढ्यो कि मुटु नै बाहिर निस्किन लागेको जस्तो भएको थियो। तर जब उक्त परीक्षामा पास भएर औपचारिक रुपमा तिमीलाई हासिल गरें भन्ने सन्देश पाएँ, हर्षले छाती ढक्क फुल्यो। बढेको छातीले बाहिर निस्किन लागेको जस्तो मुटुलाई बसमा लियो र यथास्थानमा राख्यो। साच्चै प्रिय, त्यो दिन जत्तिको खुसी म अहिलेसम्म कहिल्यै पनि भएको छैन।
औपचारिक रुपमा तिमीलाई आफ्नो बनाइसकेपछि, आफ्नो दैनिक कार्यमा हरेक ठाउँमा तिमीलाई सँगै लिएर हिंड्न थालें र निर्धक्क काँधमा सजाएर हिंड्थे हस्पिटल परिसरभित्र। तिमीलाई औपचारिक रुपमा आफ्नो बनाइसकेपछि, हाम्रो सम्बन्ध पनि त दर्ता गर्नुपर्योछ। अनि फेरि तिम्रो माइतीले परीक्षा लिन्थे, पास भए मात्र सम्बन्ध दर्ता हुन्थ्यो। तिमीलाई आफ्नो बनाउन कत्रोकत्रो संघर्ष गरेर त्यहाँसम्म पुगेको थिए र फेरि उति नै संघर्ष गरेर हाम्रो सम्बन्ध दर्ता पनि गरिछाडे।
अहिले त तिमी मेरो दैनिकी जस्तै भएको छौं। आफू आफ्नो दैनिकीमा जाँदा तिमीलाई अँगालोमा बेरेर काँधमा सजाएर जान्छु। अनि जब तिमी मेरो गलामा सजिएको हुन्छौं, ऎनामा हेर्छु अनि मुस्कुराउँछु। साँच्चै, कति सुन्दर देखिन्छौं है हामी, जब तिमीले आफ्नो शिर मेरो देब्रे छातीमा टाँसेर शरीरले घाँटीमा बेरेर दुई हातले मेरो दाइने छातीमा समाउँछौ। एकदमै गर्व महसुस हुन्छ प्रिय, यसरी तिम्रो साथ पाउँदा।
अनि तिम्रो सहयोगले म कति छिट्टै कुनै पनि बिरामीको जुनसुकै रोगको निदानमा पुग्छु।जब तिमीलाई समाएर बिरामीको छातीमा लैजान्छु र ढुकढुकी या अन्य आवाज सुन्छु, अनि कुन प्रकारको कस्तो रोग लागेको हो, कस्तो औषधि चलाउने लगभग ज्ञान हुन्छ। अनि काममा निकै नै सहज हुन्छ। जस्तो कि तिमी छैनौ भने म अपांग जस्तो हुन्छु। साँच्चै प्रिय, आजकाल तिमिबिना मेरो जीवनको केही अर्थ नै छैन जस्तो लाग्छ, एकदम अधुरो लाग्छ।
अन्त्यमा, जाँदाजाँदै तिमी आएर मेरो जीवन अर्थपूर्ण बनाइदिएकोमा धेरैधेरै धन्यवाद। सधैं यस्तो साथ र सहयोगको अपेक्षा। कसम! हाम्रो यो सम्बन्ध अझ प्रगाढ बनाउँदै अगाडि लैजान आफ्नो जीवनको जुनसुकै जोखिम मोल्न पनि तयार छु। अनि तिमीलाई सधैंसधैं यसैगरी खुसी राख्नेछु। र, आफ्नो कार्यक्षेत्रको मर्यादाभित्र बसेर जीवनमा तिमीलाई सँगै साथमा लिएर अझ अगाडि बढ्नेछु । तिमिलाई पाउन अगाडि गरेको बाचा 'हिप्पोक्रेटिक ओथ' को सम्मान गर्दै उक्त बाचा पनि निभाउने छु र आज यो विशेष दिनमा गरेको बाचा आजन्म भुल्ने छैन।