सौराहा (चितवन)– शुक्रबार, अपरान्हको समय।
मञ्चको पृष्ठभूमिमा थारु संस्कृति झल्किने पेन्टिङ छ। दायाँबायाँ भित्तामा थारु समुदायले प्रयोगमा ल्याउने औजार तथा सामाग्रीहरु डेली, ब्यायाँ, कोइनी, छतिया सुपा, खराउ, ह्याङा, जाल, बहिङा, सिलौटी, घैला जाँत, बिजिटा, हलो, बिँडा, ढोलक, मानरी, बौगी, बिजिटा लगायत लहरै झुन्डाइएको छ। झट्ट हेर्दा संग्रहालयजस्तो लाग्ने यो स्थान सौराहाको गैंडा चोकमा अवस्थित थारु कल्चर हाउसको हो। करिब ४ सय ५० जना एकैपटक सहभागि हुनसक्ने यो हलमा शुक्रबार चिकित्सा क्षेत्रका हस्तिदेखि कवि, साहित्यकार तथा विद्यार्थीको बाक्लो जमघट थियो।
मेडिकल लिटरेचर मेलाको पहिलो दिनको अन्तिम सत्र, सुर्यास्त हेर्न तमतयार हुनुपर्ने सौराहा डाक्टर र कविहरुको कविता सुन्ने तरखरमा थियो। अन्य समय बिरामीको उपचारमा तल्लिन हुनुपर्ने डाक्टरहरु आफ्ना अनुभूति र देशको समसामयिक परिस्थितिहरु सम्मिलित कविता सुनाउन एक–एक गर्दै मञ्चमा उक्लिए। डाक्टरहरुलाई उत्तिकै साथ र हौसला दिइरहेका थिए कवि र कविताप्रेमीहरु।

वाचनको पहिलो सत्रमै बोलाइयो हास्यव्यंग्य कवि लक्ष्मण गाम्नागेलाई। सिस्नुपानी नेपालका गाम्नागेले सरकारको समृद्धिको यात्रालाई व्यंग्य गरे। समृद्धिको यात्रामा सघाउन आग्रह गरेका गाम्नागेले सबथोक बिर्सेर समृद्धि मात्रै सम्झिन सुझाए।
यात्रामा सबैले सतर्क रहनु
केहि वर्षका लागि कोहि पनि बाढीमा नबग्नु
पहिरोमा नपर्नु
हिलोमा नफस्नु
खाडलमा नखस्नु
बिष मिसिएको तरकारी खाएपनि
मल भएको चामल र ढल मिसिएको पानी खाए पनि
फोक्सो नबिगार्नु
कलेजो र किड्नी ठिकठाक राख्नु
भूइँचालो आए पनि नलड्नु
हृदयघात भए पनि नढल्नु
टाउकैमा आकाश खसेपनि खस्न दिनु
श्वास नै जान लागे पनि
माथि–माथि हेरेर राम नाम जप्नु
समृद्धि एक दिन आउँछ आउँछ
त्यसैले आज खान पाए पनि अघाउनु
खान नपाए पनि अघाउनु।
पहिलो कविता सुनाउँदा ताली नै ताली पाएका गाम्नागेले दोस्रो कवितामा पनि सरकारकै सहयोगमा लागि आह्वान गरे। २ दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका उनले पछिल्ला केही वर्षदेखि व्यंग्य कवितामार्फत लगातार समाजमा भइरहेका गलत काम र प्रवृद्धिको विरोध गरिरहेका छन्।

‘नेपाल सरकारलाई सघाउनुहोस्’ शिर्षकको कविता सुनाउँदा पनि उनले दर्शकको राम्रो साथ पाए।
सरकारले वितरण गरेको दुध १० मिनेट उमालेर पिउनुहोस्
सरकारले बाँडेको खानेपानी २० मिनेट उमालेर खानुहोस्
सरकारले दिएको चामल ३ सिठी लगाएर खानुहोस्
कदाचित हैजा लागेमा सरकारी अस्पताल जानुहोस्
डाक्टर नभेट्टिए पिएनले दिएको ओखति खानुहोस्
पिएन पनि नभेटिए झाँक्रीको सरण पर्नुहोस्
यमराजले नपत्याए बाँच्नुस् नभए मर्नुहोस्
यत्ति गर्दा पनि उम्किनुभयो भने तपाईं
वायुसेवा निगमको जहाज चढ्नुहोस्
ताप्लेजुङका लागि उडेको दार्चुला पुगेर लड्नुहोस्
आउनुहोस् आउनुहोस् आउनुहोस्
सरकारलाई सघाउनुहोस्।
गाम्नागेपछि कविता सुनाउने पाले आयो डाक्टरको। मञ्चमा उक्लिए भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा कृष्ण पौडेल।
अघिल्लो वर्ष मात्रै उनले कविता संग्रह नै बजारमा ल्याएका छन्। यसपटक भने उनले गएराति मात्रै लेखिएको ताजा कविता सुनाए। ‘बेली र ठेली’ शिर्षकको सो कवितामा उनले स्वास्थ्य सेवा र कार्यसम्पादनका क्रममा देखिएका झन्झट र असहजपनलाई उतारेका थिए।

त्यसपछि कविडाँडा साहित्य समाजका अध्यक्ष तथा साहित्यकार एलबी क्षेत्रीले एउटै कविताका दुई भाग सुनाए। नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको कवितामा उनले आदिवासी थारु समुदायको उत्पिडनको कथालाई समेटेका थिए। उनले पहिलो कविता ‘सापटी माग’ र दोस्रो कविता ‘द गेस्ट’ सुनाए।
कवि भूपिनले ‘नोट’ शिर्षकको कवितामार्फत नोटको जीवनी सुनाए। उनले कवितामा नोट क–कसको हातमा पुग्छ र कसरी नोट पुरानो र फोहोर हुन्छ भन्ने दर्शाउन खोजेका थिए।
आफूलाई 'डाक्टर्नी' भन्न रुचाउने कवयत्री सुलोचना मानन्धरले काठमाडौंको सबैभन्दा अग्लो डाँडा ‘शिवपुरी’का बारेमा कविता सुनाइन्।
धेरैपछि एकदिन
हिँड्दाहिँड्दै साच्चै पुगें म चुचुरोसम्मै
खुसी भएँ
आकाश नजिकै पुगें भनेर दंग परें
आरोही पो भएँ भनेर
जब झन्डा फराउन खोज्यो मनले
शिवपुरी हाँस्यो
अल्लिपर लस्करै उभिएका हिउँचुलीहरु देखाउँदै बोल्यो
हेर ति त मभन्दा पनि अग्ला छन्
र तिभन्दा पनि अग्ला छन् वन।

‘श्रीमान् र श्रीमतीलाई कसरी अलग गर्न सकिन्छ र?’, लगत्तै उद्घोषकबाट आवाज आयो, ‘कवयत्री र डाक्टर्नीपछि अब पालो कवि र डाक्टरको।’ ती कवि र डाक्टर थिए डा सरोज धिताल। ‘अहिले सौरहा र मनमा दुबैमा तातो छ, तातोलाई बाहिर आउन दिनुपर्छ’, मञ्चमा उक्लिने बित्तिकै डा धितालले भने, ‘कि प्रेम कि गाली र व्यंग्य गरिएको कविता मानिसले रुचाउँछ, म प्रेम कविता सुनाउँछु।’
उनले ‘म तिमीभित्रै’ शिर्षकको कविता सुनाए।
रुपन्देहीबाट कार्यक्रममा सहभागि हुन सौराहा आएका डा सन्तोष पोखरेलले संवादमा आधारित कविता सुनाए। कवितामा श्रीमान्–श्रीमतीको संवाद सुन्न सकिन्थ्याे।
डा सुशील अधिकारीले छन्द कविता सुनाएपछि कविता सुनाउन मञ्चमा उक्लिए अर्का डाक्टर डा सुवास प्याकुरेल। उनले ‘उ अर्थात हर्कबहादुर’ कवितामार्फत अभावमा कोहि किन र कसरी जिउन अभिसप्त छ भन्ने जनाउन खोजेका थिए।

कवि तथा सञ्चारकर्मी जनक पौड्यालले ‘एक अर्थपूर्ण कविता’ शिर्षकको कविता सुनाए।
कवि तथा समिक्षक उदय अधिकारी हेटौंडा र भरतपुरमा समानान्तर रहनेगरी बस्दछन्। उनले हेटौंडाकै पेरिफेरिलाई कवितामा उतारेको बताए।
‘हेटौंडा बजारमा बसोबासको यस्तो सेटिङ छ, जहाँ तामाङ भाषीको बाहुल्य छ, त्यसपछि नेवारी, केही मारवाडी समुदाय बस्छन् अनि मात्रै नेपाली बोल्नेकाे बाहुल्यता छ’, उनले कविताको रचनागर्भ सुनाए, ‘एक साँझ केही तामाङ, नेवारी र मारवाडी समुदायका बालबालिकाहरु खेलिरहेका थिए, मेरो बाहुन साथीको छोरा जो इन्डियाबाट आएको थियो, उसलाई नेपाली कम मात्रै बोल्न आउँथ्यो, उसले अंग्रेजीमा नेपाली मिसाएर बोल्ने प्रयास गरिरहेको थियो, उसलाई अन्य केटाकेटीहरुले नेपालीमा बाेलेर खेलकाे सन्दर्भ बुझाउन खाेजिरहेकाे देखेपछि मलाई सानो टुक्रा लेख्न मन लाग्यो।’
‘बजार’ शिर्षकको उक्त कविताः
केटाकेटीहरु हाँसीहाँसी खेलिरहेछन्
र बोलिरहेछन्
बजारमा चल्तिको भाषा
कुनैदिन केहीले
खोतल्नेछन् कारण
र पाउँनेछन्
संवादको शक्ति गुमाइसकेको एउटा भाषा
जो तिनका आमाबाले
बजारसँग साटिदिए।

त्यसपछि कवि सुमन घिमिरेले ‘छोरी र भर्चुअल संसार’ शिर्षकको कविता सुनाए। सानी छोरीलाई नेपालमै छोडेर विदेश जाँदा मनमा उब्जेको तरंग कविताको शक्ति बनेको थियो।
चितवन मेडिकल कलेज, सहप्राध्यापक डा भारती शर्मा ‘रहरभित्रको कहर’ कविता सुनाइसकेपछि कवि प्रकाश चापागाइँको पालो आयो। उनले हाल नेपाली राजनीतिको केन्द्रका रहेका दुई जिल्ला झापा र चितवनकै बारेमा छन्द कविता सुनाए।
वैदेशिक रोजगारीका क्रममा रहेका छोराछोरीले आफ्ना बाबुआमालाई विदेश आउन गरेको आग्रह र त्यसले सिर्जना गरेको परिस्थितिका सम्बन्धमा लेखिएको कविता ‘तेल भिषा’ सुनाए कवि सुरेन्द्र अस्तफलले। चितवन साहित्य परिषद्का अध्यक्ष समेत रहेका कवि अस्तफलले कवितामार्फत विदेश जाँदा पनि आमाबाबुसँगै देश पनि जाने तर्क गरे।
कार्यक्रमकै लागि भनेर हतारहतार चितवन आइपुगेका थिए डा ढुण्डीराज पौडेल। डा पौडेल हाल ह्याम्स अस्पतालमा कार्यरत रहेपनि लामो समय चितवनलाई नै कर्मथलो बनाएका डाक्टर हुन्। उनले यस स्थानसँग भावनात्मक सम्बन्ध जोडिएको बताउँदै त्यहि सम्बन्धले नै यहाँसम्म डोर्याएको बताए।
फरक प्रसंगमा उनले भने, ‘मैले कविता लेख्न खोजेभने मिलाएर सुनिदिनु भन्न छुट हुन्छ। तर डाक्टरलाई मिल्छ त? त्यसकारण कवि भाग्यमानी, चिकित्सक अभागी छन्।’
उनले सुन्ने विधाको विकास गर्न जरुरी रहेको बताउँदै ‘के लेख्नु मैले भन?’ कविता सुनाए।

कविता वाचनको बिट मार्ने पालो आयो डा निरज भट्टराई जिम्मामा। केही साताअघि मात्रै कार्डियाक सर्जरीमा एमडी गरेर नेपाल आएका डा भट्टराईले करिब ६ वर्षपछि यस्तो समागममा जोडिन पाएको अनुभव सुनाए। ‘आवाज’ शिर्षकको कविता सुनाएका उनले एउटा गजल सुनाउँदै कार्यक्रमको बिट मारे।
गन्तव्य भन्नु आखिर एउटा धोका रहेछ
अन्तिम ढोकापछि पनि अर्को ढोका रहेछ।
जिन्दगीभर तिर ताकिँरहें जसको छातीमा
छोएर हेरें मायाले पानीको फोका रहेछ।