काठमाडौं– लोकोक्ति छ- विपत्ति बाजा बजाएर आउँदैन।
तर, क्षति कम गर्न सकिन्छ। यसका विभिन्न उपायहरु छन्। त्यसैमध्येको हो, पूर्वानुमान। कुनै पनि विपत्तिबारे पूर्वानुमान गर्न सम्बन्धित क्षेत्रका विज्ञहरु रहेको आधिकारिक निकाय हाम्रो देशमा पनि छन्। जस्तो कि मौसम पूर्वानुमान महाशाखा। यसले मौसम चक्रका साथै त्यसले कुन क्षेत्रमा कतिसम्म असर पार्न सक्छ, अनुमान गरी पूर्वसूचना दिन्छ। विपत्ति आइहाले पनि यही सूचनाका आधारमा पूर्वतयारी अपनाई क्षति कम गर्न सकिन्छ।
तर, गएराति यस्तो भएन।
मुख्यगरी बारा र पर्सामा आइतबार राति आएको भीषण हावाहुरीबारे न महाशाखाले अनुमान गर्यो, न त विज्ञहरुले सुइँको नै पाए। उक्त हावाहुरीका कारण यो समाचार तयार पार्दासम्म २७ जनाले ज्यान गुमाइसकेका छन्। तीन सयभन्दा बढी घाइतेहरु विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा उपचाररत छन्। भौतिक क्षति कति भयो, विवरण आउन बाँकी छ।
हावाहुरी आउने सूचना पहिल्यै पाउन सकेको भए मृतक र घाइतेको संख्या कम हुन सक्थ्यो भन्नेहरु पनि छन्। मौसमविद्हरु भने अब फेरि पनि यस्तो खाले विपद् आउन सक्ने भएकाले सतर्क रहन आह्वान गरिरहेका छन्।
अहिलेको प्राथमिकता उद्धार, उपचार र पुनर्स्थापना नै हुन्। त्यसतर्फ सरकार लगायत विभिन्न निकाय परिचालन भइसकेका छन्।
नजिकैको छिमेकी देश भारतमा यस्तो प्राकृतिक विपद् आउन सक्नेबारे सतर्क हुन सूचित गराउँदै गर्दा नेपालमा किन केही सूचना दिइएन भन्ने प्रश्न पनि उठेको छ। त्यतिका मान्छेको ज्यान लिएको त्यत्रो वेगको हावाहुरी आउँदैछ भन्ने पूर्वचेतावनी किन दिइएन? सामाजिक सञ्चालहरुमा समेत महाशाखाको पुर्वानुमानप्रति प्रश्न उठाइएको छ।
के कारणले सूचना दिने कुरामा चुक भयो?
मौसमविद् मणिरत्न शाक्य भने यस्तो हावाहुरी 'लोकलाइज्ड' भएकाले काठमाडौंको मौसम विभागले सूचित गराउन नसकेको बताउँछन्। 'हामी नजिकमा हुने मौसम फेरबदलबारे थाहा पाउछौं, सबै स्थानमा मौसम पूर्वानुमान युनिट नभएकाले पनि सूचित गराउने कुरामा कमजोरी भएको हो,’ उनले भने, 'त्यही भएर देशका हरेक स्थानमा मौसम पूर्वानुमान युनिट आवश्यक छ भनिएको हो।'
'गर्मीयाममा जमिन तातो भइसकेपछि एक प्रकारको बादल बन्छ, यस्तो बादल क्युमलोनिम्बस हो। यो बादल बन्ने बेलामा मात्र हुरीबतास, चट्याङ पर्ने, पानी पर्ने हुन्छ,' उनी प्रस्ट्याउँछन्, 'यस प्रकारको बादल जहाँ पनि बन्न सक्ने अवस्था हुन्छ।'
हावाहुरी यो समयमा सधैं नै आउने भए पनि हिजोको हावाहुरीको गति तीव्र भएकाले दुर्भाग्यवश धेरैको मृत्यु भएको उनी बताउँछन्। उनले भने, 'त्यहाँको कमजोर भौतिक संरचनाले पनि बढी क्षति भयो। ’
‘हाम्रो सिस्टममा यसखाले सूचना बिहान र बेलुका मात्र सम्प्रेषण गर्ने गरिएको छ तर यहीँ कमजोरी भयो। सञ्चारमाध्यममा केही समयपहिले चेतावनीका सूचना जारी गर्न सक्थ्यौं।’
अर्का मौसमविद् राजेन्द्र श्रेष्ठ पनि यस्तो घटना एक्कासि नभएको बताउँछन्। प्रि-मौसमको समयमा यस्ता खाले हावाहुरी आउने उनको भनाइ छ।
मौसमविद्हरुले आँधी आउन सक्ने पूर्वानुमान भए पनि पर्याप्त प्रविधि र मोडल नहुँदा आँधीको बेगबारे ‘अन्डरस्टिमेट’ गरिएको पनि कतिपयले बताएका छन्।
'फेरि आउन सक्छ, सचेत बनौं'
मौसमविद् शाक्य र श्रेष्ठ हावाहुरी आउने मौसम भएकाले यतिबेला सचेत हुन जरुरी भएको बताउँछन्। 'यसअघि पनि यो समयमा विभिन्न समयमा हावाहुन्डरी आएका थिए,' उनीहरु भन्छन्, 'तर यस पटक भने ठूलो धनजनको क्षति हुन पुग्यो।'
यसअघि २०४४ फागुन २९ गते काठमाडौंको दशरथ रंगशालामा पनि यस्तै खाले हावाहुरी चल्दा भागदौडका क्रममा ९३ भन्दा बढीको ज्यान गएको थियो।
मौसमविद् श्रेष्ठ पूर्वसूचना दिने कुरामा कमजोरी हुँदा ठूला दुर्घटना निम्तिने बताउँछन्। ‘हाम्रो सिस्टममा यसखाले सूचना बिहान र बेलुका मात्र सम्प्रेषण गर्ने गरिएको छ तर यहीँ कमजोरी भयो,' उनी स्विकार्छन्, 'सञ्चारमाध्यममा पनि हामीले केही समयपहिले चेतावनीका सूचना जारी गर्न सक्थ्यौं।’
यस्तो हावाहुरी आउँदा के गर्ने?
मौसम पूर्वानुमान महाशाखाका पूर्वप्रमुख समेत रहेका शाक्यले हावाहुन्डरी चलेका बेला सकेसम्म घरभित्रै बस्न सुझाउँछन्।
‘सकेसम्म भौतिक संरचना बलियो भएको, एन्टेना भएको घरमा बस्नुपर्छ,' उनी भन्छन्, 'त्यो सम्भव नहुने भए खुलास्थानमा टाउकोमा हात राखेर लम्पसार भएर बस्ने वा बसभित्र झ्याल ढोका बन्द गरेर बस्नु नै सबैभन्दा सुरक्षित उपाय हुन्छ।’
यस्तो समयमा रुखमुनि वा बिजुलीको पोल भएका स्थानमा बस्नु झन् खतरा हुने उनी बताउँछन्। ‘पहाडको टुप्पामा पनि बस्नुहुन्न, उनले भने,‘ उनले भने, 'आधुनिक घर बनाउँदा एन्टेना राख्नुपर्छ, जसले चट्याङ पर्दा हुने क्षति रोक्न सक्छ। मन्दिरहरुको टुप्पोमा फलामको त्रिशूल राख्नुको अर्थ पनि चट्याङका कारण मन्दिरमा क्षति नहोस् भनेर नै हो।'