मेरो नाम अस्मुद्दिन अन्सारी। यस गाउँलाई गछ्छा टोल भन्छन्। अहिले वडा नं ७ हो हाम्रो।
आइतबार साँझ त्यो कहालीलाग्दो दिन। साँझपख, म मेरो घरमा थिएँ। अचानक ठूलो हुरी आयो।
त्यसपछि ठूलो आँधी पनि आयो। वरिपरका तार सबै फालिए। घरहरू भकाभक ढल्न थाले। यो सब अन्धाधुन्दा भइरहेको थियो। हामी डरले घरभित्र पस्यौं।
त्यसपछि मैले मेरो मोबाइलबाट १०० डायल गरी प्रहरीलाई फोन गरेँ। प्रहरीले ‘एम्बुलेन्स पठाउँदैछौं’ भन्यो। त्यसपछि गाउँमा एम्बुलेन्स आउन थाले।
मलाई डर लागिरहको थियो। झट्ट मैले सम्झेँ, ‘मेरो दाइको घर त काँचै छ।’ लगत्तै दौडेर हामी दाइको घरमा आयौं।
हाम्रो घर दाइको भन्दा अलि पर छ। हामी एउटै घरमा बस्न सक्ने अवस्था थिएन। पहिला सँगै बसेका थियौं। पछि म अर्को घर बनाएर बसेको थिएँ।
दाइको घरमा दौडेर आयौं। सबै अतालिएका थिए। भाउजू, भतिज र भतिजी समातेर भित्र बस्यौं।
हुरी कम भयो। त्यसपछि छेउमा गएर हेर्यौं। त्यहाँ छिमेककीको भाइ, ममी, भाउजू, बुबा, भान्जा भान्जी सबैलाई निकालेर काकाको घरनिर लग्यौं। काकाको घरनिर लगेर राख्यौं। त्यसपछि एम्बुलेन्स आयो।
अर्को छिमेकीको पनि घर भत्किएको थियो।

त्यस घरमा चार जना दिदीबहिनी, भाउजू, छोरा अनि ममी र बाबा थिए।
९ जना दिदीबहिनी मध्ये ५ जनाको बिहे भइसकेको थियो। यहाँ ४ जना दिदीबहिनी बस्थे। उनीहरू इँटाले च्यापिएका थिए। कुनाकुनामा च्यापिएका।
हामीले इँटा सबै निकालेर उनीहरूलाई उद्धार गर्यौं। एक जना घरमा बितिन्। अर्को एक जना एम्बुलेन्स लगेर जाँदा बाटैमा मरिन्।
उनीहरूका बा आमा सबै घाइते थिए । कुनैको टाउको र खुट्टामा चोट लागेको थियो। हामी ५/६ जना भएर उद्धारमा खट्यौं।
गाउँमा हाम्रो ठाउँमा ४ जना मरे। घाइते १० जनाभन्दा बढी भए।
(अर्को घर देखाउँदै) त्यो छिमेकीको घरमा चार जना बच्चाका २ छोरा २ छोरी थिए। बाबा थिएनन्। साहेब हजाम थियो बाबाको नाम। उनी कपाल काट्ने गर्थे। ८ दिन भयो बाहिर गएको।
उनको परिवार सबै घाइते छन्।
उद्धार गरेपछि अब अस्पताल लैजानु थियो। मैले साथीसँग ८ हजार सापटी मागेँ। उपचारको लागि। अनि एउटै एम्बुलेन्समा १२ जना बोकेर अस्पतालतर्फ गयौं हामी।
तर, अस्पतालमा हाम्रो कुरा कसले सुन्ने? पैसा नभई डाक्टरहरूले उपचार गर्न मानेनन्। ‘घर भत्केको छ हजुर। कहाँ हुनु पैसा यतिबेला,’ हामीले भन्यौं।
तर, अहँ पैसा नभई उपचार हुने अवस्था भएन। ‘पहिला पैसा लिएर आऊ’ भनेर रुखो वचन आयो। ‘थाहा छैन जसरी पनि ल्याऊ’ भने।
हामीलाई रिस उठ्यो। त्यसपछि हामी धेरै जना जम्मा भएर त्यहाँ हल्ला गर्यौं।
एकछिनपछि अस्पतालकै एक जनाले खबर ल्याए, ‘उपचार फ्री गरिदिने भयो।’
मेरा दाइको परिवार सबै घाइते। दाइ भैंसी व्यापारी त्यस दिन हर्कपुरमा रहेछन्। उनी हस्याङफस्याङ गर्दै २ बजे अस्पताल पुगेछन्। त्यतिबेला दाइको खुट्टामा चप्पल थिएन।
राति गएर मलिन अनुहार लगाउँदै ‘कस्तो छ’ भनेर सोध्नुभयो।
म धेरै समय अस्पतालमै रहेँ। घाइतेहरूको हेरचाह गर्न बसेँ। गाउँमा सरकारले राहत दियो/दिएन केही थाहा छैन।
खै, अहिलेसम्म त केही पाएको छैन। त्यतिका घर भत्किए गाउँमा। यस्तोबेला सरकारले के गर्छ हामीलाई। हामी सबैको सहयोग चाहन्छौं।
(आइतबार साँझको विनाशकारी हावाहुरीका कारण क्षतिग्रस्त गाउँ बाराको फेटा पुगेका सहकर्मी नारायण अधिकारीले गरेको कुराकानीमा आधारित)