यो खुशीको दिनमा,
निराशाको त्यो दिन सम्झिँदै,
मेरो जिन्दगीको हराभरा बनमा
लागेको त्यो डढेलो
अनि
झण्डै–झण्डै जल्नै लागेको
त्यो एउटा 'त्यान्द्रो आशाको' ।
हो त्यही आशाको त्यान्द्रोमा
आगो नलागोस्
र खरानी नबनोस् भनेर
हात–हातमा सेउला लिएर
त्यो बनको डढेलो निभाइ
मेरो जीवनको ज्योति बालिदिनुहुने
मेरा परिवार, आफन्त, इष्टमित्र, साथिभाई
र मप्रति सहयोग सद्भाव राख्नुहुने
तपाईंहरु सबैलाई सम्झिन्छु आज ।।
अस्पतालको बेडमा
मन थाम्न नसकी,
तप्प–तप्प चुहिने ती थोपा
अनि लुछुप्प भिज्ने त्यो चिसो सिरानी देखेर,
तलदेखि माथिसम्म
डायलाइसिस र सलाइनका
पाइपहरु नियाल्ने
र
अत्तालिंदै
डाक्टर सापलाई बोलाउने
ती सिस्टरहरु,
अनि मेरो बेडसम्म आइ
आँसु पुछिदिंदै
निराशाको बादल हटाई
आशाको किरण देखाउनुहुने र
धिपिक धिपिक निभ्न लागेको दियोमा तेल थप्दै
सलाइनको बोतलमा कोपेर राखेको सुइको सुइरो झिकेर
दियोको बाती तानिदिने
मेरा डाक्टरहरु सबैलाई सम्झिन्छु आज ।
मृगौला प्रत्यारोपणको यो अघिल्लो रात
दाई,
तपाईंले मलाई एउटा मिर्गौला दिँदै गर्दा
आफ्नो आधा जीवन मलाई दिँदै गर्दा
तपाईं पनि त आधा नै त बाँकी रहनुहुन्छ नि ?
अनि अझै दैब लागेर
हाम्रो अपरेसन सफल भएन भने ?
र हस्पिटलको बेडबाट
तपाईं एक्लै डिस्चार्ज हुनुभयो भने
आफ्नो ख्याल गर्नुहोला है दाई भन्दै
म भक्कानिदै गर्दा,
अनि घण्टा मिनेट गन्न खोज्दा
घडी नचलेको त्यो रातपछिको
बल्लतल्ल सुनेको भालेको आवाजसँगै
अपरेसन कक्षको
टिट् टिट् टिट् टिट् आवाज छिचोल्दै
मेरो हातमा आफ्नो हात राख्दै,
तिमङीलाई अंगदान दिन पाउँदा
म आधा हैन भाइ, झनै दोब्बर हुनेछु
म, मसँगै तिमिमा पनि हुनेछु भन्दै,
मलाई अपार माया गरी
यमराजको छायाँ पर्न नदिने
ती महान प्रेमदाईलाई सम्झिन्छु आज ।
बिरानो ठाउँ, बिराना मान्छे
अनि बिरानै भाषा
अनि कानले नबुझेपनी मनले बुझ्ने
ति कोइम्बातुरे आक्का अनि आन्नाको
माया र सद्भाव
अनि
हरिनारायननजी, ओ हरि नारायननजी
अरे ओ पण्डितजी आँख खोलो
देखो तुम्हारे पशुपतिनाथ खुस है
तुम अब ठिक हो
अपरेसन सक्सेस हुवा भन्दै
एनेस्थेसियाले लठ्याएको
मेरो शरिरको खुट्टामा प्याट्ट हान्दै
चिरनिन्द्राबाट बिउँझाईदिने
ती डाक्टर विवेक पाठक र देबदास माधवन
अनि मातृवात्सल्य प्रेम नै भुलाइदिने
ती नर्सहरु सबैलाई सम्झिन्छु आज ।
अनि आफैं सबैको आत्मामा रही
सबैमा कृपादृष्टी राख्नुहुने
मेरो भगवानप्रती कृतज्ञ छु आज ।
र अन्त्यमा,
जीवन एक किताब रैछ
दु:खसुख जिन्दगीका दुईचार पाना रैछ
पाना पल्ट्याउँदै जाउँ पल्ट्याउँदै जाउँ
भगवानप्रती कृतज्ञ हुँदै जाउँ
परोपकारः पुण्याय, पापाय परपीडनम् जप्दै जाउँ
जिउँदो हुँदा गरौं रक्तदान ।
जिउँदोमा मात्र होइन,
मरेपछि पनि गर्न पाइन्छ है अंगदान ।।
आजै मरणोपरान्त गर्न सकिने अंगदान गरौं
आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं ।
शर्माको फेसबुकबाट