वैशाख शुक्ल तृतिया अर्थात् अक्षय तृतिया हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने तिथि मानिन्छ । अक्षय तृतियाका दिनमा पवित्र व्रत राख्ने वैदिक चलन पनि रहेको छ । आज हामी वैशाख शुक्ल तृतियाका दिन सेवन गर्नै पर्ने मानिएको सातु अर्थात् सत्वको बारेमा जानकारी दिन गइरहेका छौं ।
सत्व अर्थात् सातु के हो ?
विभिन्न अन्नहरूलाई भुटेर वा नभुटिकन पिसेर बनाइएको पिठोलाई सामान्यतया सत्व भनिन्छ । पोषणका दृष्टिकोणबाट सातु विशेष महत्त्व राख्ने गर्दछ । गहुँ, जौ, चना, भटमास, मकै आदि अन्नहरू सातुका रूपमा प्रयोग गरिने चलन हामीकहाँ छ । यव सत्व (जौको सातु) सबै सातुहरूमध्ये उत्तम सातु हो । आयुर्वेदमा सातुलाई लघु आहारको रूपमा लिइन्छ । जुन आहारहरूमा फाइबरको मात्रा बढी हुन्छ र जसमा कार्बोहाइड्रेट र क्यालोरीको मात्रा कम रहने गर्दछ, ती आहारहरूलाई लघु आहार भनेर बुझ्न सकिन्छ ।
लघु आहारहरू सुपाच्य हुन्छन् । अग्नि अर्थात् पाचन शक्तिलाई कमजोर नगराई सजिलै पाचन हुने र पोषक तत्वहरू मेटाबोलिज्ममा सहजै जाने भएकाले लघु आहारहरू हाम्रो शरीरका लागि राम्रो मानिन्छन् । सातुहरूमध्ये पनि सबैभन्दा लघु यव सत्व हुने गर्दछ । अधिक फाइबर (सेलुलोज) हुने कारणले जौको सातु सबैभन्दा लघु मानिन्छ ।
सातुको ऋतु अनुसारको नियम
सातु सुपाच्य, लघु, उत्तम, पोषक र अग्निवर्धक भए तापनि सबै मौसम र समयमा सातुको सेवन राम्रो मानिँदैन । आयुर्वेद संहिताहरूको सुन्दर पक्ष भनेकै यसमा वर्णन गरिने नियम र सूत्रहरूमा ऋतु, बल, आहार शक्ति, अग्नि र उमेर अनुसारको निर्देशन पाइन्छ । सबैका लागि सधैं कुनै पनि आहार एवं औषध उपयोगी वा हानिकारक हुँदैन भन्ने तथ्य मानव जीवनका लागि आरोग्य सूत्र नै हुन् ।
सातु सेवन योग्य ऋतुहरू वसन्त, ग्रीष्म र वर्षा हुन् । यी समयमा अग्नि अर्थात् पाचन शक्ति कमजोर हुने भएकाले पाचनका लागि सहज सातुको सेवन यी ऋतुहरूमा पथ्य मानिन्छ । हेमन्त र शिशिरमा सातुको सेवन अपथ्य अर्थात् सेवन गर्न नहुने भनिएको छ ।
रोग र देह अनुसार सातु सेवन
वातजन्य रोगहरूमा सातुको सेवन गर्दा यसको लघु र रुक्ष गुणका कारणले वात झन् प्रकोप हुने गर्दछ । तसर्थ, वातजन्य रोग लागेको अवस्थामा सातु सेवन अपथ्य हुन्छ । क्षीण देही अर्थात् दुब्लो, पातलो र कमजोर शरीर भएका व्यक्तिहरूले अधिक मात्रामा सत्व सेवन गर्नु बर्जित गरिएको छ ।
मन्थ विवेचना
सातुलाई पानीमा घोलेर बनाइएको पेयलाई मन्थ भनिन्छ । मन्थ सातुजस्तै गुणयुक्त हुने गर्दछ । मन्थलाई अझ शीतल मानिन्छ र शरीरमा जलको अंश पूर्तिका लागि मन्थ सेवन उत्तम हुन्छ । मन्थ सेवन ग्रीष्म ऋतुमा गर्नै पर्दछ । सातु वर्षा ऋतुमा पथ्य भए तापनि मन्थ सेवन गर्नु हुँदैन भनेर आयुर्वेदमा वर्णन गरिएको छ । शिशिर र हेमन्त ऋतुमा सातुजस्तै मन्थ पनि बर्जित गरिएको छ ।
हामीले परम्परागत रूपमा सेवन गर्नै पर्ने भनिएका र सेवन गर्दै आएका आहार विशेषहरू मान्यता र परम्परासम्मत मात्र नभई स्वास्थ्यका दृष्टिकोणबाट पनि उत्तिकै महत्त्वपूर्ण छन् । यी नियम र चलनहरू आयुर्वेदसम्मत छन् र आजको समयमा पनि स्वास्थ्यवर्धक छन् ।