काठमाडौं - वरिष्ठ वाथरोग विशेषज्ञ डा. विनित वैद्यको अध्यक्षतामा सोसाइटी अफ प्यारेन्टेरल एन्ड एन्टेरल न्युट्रिशन अफ नेपाल (स्पिन) गठन गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा संस्थाको औपचारिक घोषणा गरिएको हो।
संस्थाको उपाध्यक्षमा डायटिसियन नानीशोभा शाक्य, सचिवमा डा. पावना कायस्थ, सहसचिवमा डा. सुवास पन्त तथा कोषाध्यक्षमा डा. दीपेश शाक्य चयन भएका छन्। सदस्यहरूमा डा. विजय केसी, डा. मनिषा भोछिभोया, डा. रोशन घिमिरे, डायटिसियन मीना कुमारी गुरुङ, डायटिसियन योगिता सापकोटा र डायटिसियन प्रियंका सैंजु रहेका छन्।
कार्यक्रममा बोल्दै सचिव डा. पावना कायस्थले दीर्घरोग, शल्यक्रियापछिको अवस्था तथा गम्भीर बिरामीहरूको उपचारमा ‘प्यारेन्टेरल’ र ‘एन्टेरल’ न्यूट्रिशनको महत्व दिनप्रतिदिन बढ्दै गएको बताइन्। उनले पोषण व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
आयोजकका अनुसार नेपालमा पोषणसम्बन्धी सेवा अझै पर्याप्त प्राथमिकतामा नपरेको अवस्था छ। यस क्षेत्रमा नीतिगत स्पष्टता, जनचेतना अभिवृद्धि तथा व्यावसायिक तालिमको आवश्यकता औँल्याइएको छ। कार्यक्रममा पोषणलाई उपचारको अभिन्न अंगका रूपमा स्थापित गर्दै जनस्वास्थ्य सुधारमा यसको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिइयो।
यसै अवसरमा स्पिन र नेशनल सेन्टर फर र्युम्याटिक डिजिज (एनसिआरडी) को संयुक्त आयोजनामा ‘न्यूट्रिशनल केयर’ सम्बन्धी सिएमई (सीएमई) कार्यक्रम पनि सम्पन्न भएको छ।
उक्त कार्यक्रममा चिकित्सक, पोषणविद्, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपालमा ‘न्यूट्रिशनल केयर’ को आवश्यकता, चुनौती तथा प्रभावकारी कार्यान्वयनबारे जानकारी आदानप्रदान गर्नु रहेको आयोजकले जनाएको छ।
वक्ताहरूले रोगको उपचारसँगै उचित पोषण व्यवस्थापनले बिरामीको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। विशेषगरी दीर्घरोग, शल्यक्रियापछिको अवस्था तथा गम्भीर बिरामीहरूको उपचारमा ‘प्यारेन्टेरल’ र ‘एन्टेरल’ न्यूट्रिशनको भूमिका अझ महत्वपूर्ण बन्दै गएकोमा जोड दिइयो।
सिएमई कार्यक्रममार्फत सहभागी स्वास्थ्यकर्मीहरूलाई नवीनतम चिकित्सा ज्ञान, प्रविधि तथा पोषणसम्बन्धी अभ्यासबारे अद्यावधिक गराइएको थियो। यस्ता कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।