काठमाडौं– ललिता अधिकारी दुई छोरीकी आमा हुन्। उनका छोरीहरु कक्षा ५ र १ मा पढ्छ्न। डिल्लीबजारको पद्मकन्या माविमा अध्ययनरत उनीहरु विद्यालयमा नर्स आएपछि आफूहरुमात्र सचेत छैनन्, अभिभावकलाई समेत स्वास्थ्यसम्बन्धी धेरै कुराको जानकारी दिन थालेका छन्। ललिता भन्छिन्, ‘घरमा कस्तो खाजा अनि खाना खाने भनेर छोरीहरुले सिकाउँछन्। कसरी थाहा पायौ त भनेर सोध्दा नर्स मिसले सिकाएको अरे।’ स्कुलमा नर्स आएपछि बच्चाहरूको व्यवहारमा परिवर्तन आएको उनले बुझेकी छिन्।
स्कुल नर्स आउँदा विद्यालयमा निकै परिवर्तन आएको बताउँछन् श्रीपद्म विद्याश्रम मावि कक्षा १० का विद्यार्थी शेखर चौधरी। उनी त्यहाँको बाल क्लबका अध्यक्ष समेत हुन्। स्कुल नर्स आएर राम्रो काम गर्दिनुभएको छ, खेल्दा पनि सानोतिनो चोटपटक लागेर आत्तिनुपर्ने अवस्था थियो। नर्स आएपछि निर्धक्कसँग खेल्न सक्ने भएको उनी बताउँछन्। 'नर्स मिसले सिकाएका कुरा एकअर्कालाई पनि सिकाउने गरेका छौँ, स्कुलमा जंक फुड ब्यान्ड गरिनुका साथै सरसफाइमा ध्यान दिइएको छ,' उनले भने। त्यसैगरी केही साथी लागुपदार्थको कुलतमा पनि फसेको नर्स मिसले पत्ता लगाएको उनले बताए।
१४ वर्षीया निशा कोजु बागेश्वरी माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्छिन्। 'नर्स नहुँदा स्वास्थ्य सेवा थिएन, महिनावारीका बेला के गर्नुपर्छ, के खानुपर्छ, कति-कति बेला प्याड फेर्नुपर्छ सबै मजाले बुझाउनुभयो। मिसले अनि व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत सिकाउनुभएको छ,' उनले भनिन्।
राजधानीमा आयोजित 'एक विद्यालय, एक नर्स कार्यक्रम'को एक दिवसीय समीक्षा तथा भावी योजना तर्जुमा गोष्ठीमा व्यक्त गरिएका विचार हुन् यी। यी विचारले विद्यालमा नर्सले पुर्याएको सकारात्मक योगदानको पुष्टि गर्दछन्। कार्यक्रममा उपस्थित धेरै वक्ताहरुले कार्यक्रम निकै फलदायी भएको र विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा धेरै परिवर्तन आएको औल्याँए।
दुर्गा-शेषकान्त अधिकारी माध्यमिक विद्यालय चितवनकी स्कुल नर्स मधु कुमारी पौडेलले विद्यालयमा नर्स पुगेपछि पोषणमा सुधार, जंक फुडमा रोकावट, फोहोर व्यवस्थापन, सरसफाइमा सुधार आएतापनि समस्या र चुनौती उत्तिकै रहेको बताइन्। उनले धेरै विद्यार्थीहरु हुँदा सबैको स्वास्थ्य जाँचमा समस्या हुने र आवश्यक सामग्री ताथ औषधीको अभाव रहेको बताइन्। सोही विद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारीले स्कुल नर्स आएपछि छात्राहरु नियमित रुपमा विद्यालय आउन थालेको बताउँदै यसले विद्यार्थीमात्र नभई अभिभावकको पनि विश्वास जितेको बताए।
अनुभव सुनाउने क्रममा नुवाकोट मेघाङ गाउँपालिकामा अवस्थित विन्दुकेशर माविकी स्कुल नर्स ज्योति सापकोटाले सुरुमा यो कार्यक्रमबारे कसैले खासै चासो नदिएको बताइन्। कहिलेकाहीँ परामर्श दिँदा बढी जान्ने भएको भनेर हप्कीदप्की पनि खेपेको बताउँदै उनले जंक फुड रोक्न हम्मेहम्मे परेको अनुभव सुनाइन्।
पार्वती मावि काभ्रेपलाञ्चोकको पार्वती माविका प्राधानाध्यापक गोविन्द शर्माले स्कुल नर्स कार्यक्रम राम्रो भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने इच्छा व्यक्त गरे। उनले यस कार्यक्रमले विद्यार्थीको भर्ना संख्यामा पनि वृद्धि भएको बताउँदै प्राथमिक उपचारका लागि अन्त पठाउनुपर्ने बाध्यता अन्त्य भएको बताए।
सिन्धुली कमलामाई नगरपालिकाको जनज्योति माविका प्रअ भीमविक्रम थापाले प्रदेश ३ ले नेतृत्व गरेको यो कार्यक्रम अरु प्रदेशले पनि सिको गर्नुपर्ने बताए। उनले आफ्नो विद्यालयमा विद्यार्थी तथा शिक्षकहरुको जन्मदिनका अवसरमा चकलेट बाँड्ने प्रथा हटाउँदै साबुन दान दिने सिस्टम बसालेको बताए।
रामेछाप मन्थली माविका सहप्रअ पेसल आर्चायले एक जना नर्स बराबर कति विद्यार्थी हुनुपर्ने कुरा तोकिनु पर्नेमा जोड दिए।
प्रदेश ३ सामाजिक विकासमन्त्री युवराज दुलालले यो कार्यक्रमको सकरात्मक तथा नकारात्मक दुवै टिप्पणी आएको बताउँदै यसको सफलताले हौसिएको बताए। उनी भन्छन्, 'यो कार्यक्रम अघि जान्छ, प्रदेश १ ले पनि सुरु गरिसेकेको छ, मलाई लाग्छ केन्द्रीय सरकरालाई यो चुनौतीका रुपमा आएको छ।'
नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले कार्यक्रमबाट विद्यार्थी, परिवार, समूदाय अनि पूरै राष्ट्र लाभान्वित हुने बताउँदै यसले स्वस्थ नागरिक उत्पादन गर्ने धारणा व्यक्त गरिन्।
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी लक्ष्मी तुईतुईले कार्यक्रमलाई अरु प्रदेशका पनि प्रत्येक विद्यालयमा विस्तार हुनुपर्ने बताइन्। उनले छुट्टै कार्यविवरण निर्माण, रिफरल मेकानिजम्, बिरामीलाई तुरुन्त अस्पताल लाने अभिभावकको कन्सेन्ट फर्म्याट छिटै बन्ने बताइन्। ५औँ तहमा कार्यरत स्कुल नर्सको करियर ल्यान्डिङका बारेमा सोच्नुका साथै व्यवसायिक वृद्धिविकासका बारेमा पनि सोच्नुपर्ने उनको सुझाव छ।
प्रदेश ३ सामाजिक विकास मन्त्रालयकी पब्लिक हेल्थ नर्स मिलन घिमिरले नर्सहरुले आफ्नो कामकर्तव्य पूरा गरेको बताउँदै कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरिन्। त्यसैगरी पब्लिक हेल्थ नर्स पार्वती विष्टले एकजना महिलाको समस्या अर्को अर्को महिला मात्र राम्ररी बुझ्न सक्ने बताइन्। उनले भनिन्, 'केटीलाई नै बढी स्वास्थ्य समस्या पर्छ, एउटा केटा नर्सले प्याड कसरी लगाउने भनेर सिकाउन त्यति सहज मान्दैनन्, जति महिला नर्सले सिकाउन सक्छिन्।'
करिब ५ महिनाअघि प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा पाइलट प्रोजेक्टको रुपमा १३ जिल्लाका २० विद्यालयमा नर्स नियुक्त गरेको थियो। विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा जानकारी, बालबालिकालाइ प्राथमिक उपचार, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नेलगायतका विषयमा स्कुल नर्सले सहयोग गर्दै आएका छन्। १ महिनाअघि प्रदेश १ सरकारले पनि १४ जिल्लाका १४ विद्यालयमा 'विद्यालय नर्स' खटाएको छ।
यो पनि पढौं :