आँखाको उपचारमा नेत्र सहायकको ठूलो भूमिका रहन्छ। नेपाल नेत्र सहायक परिवारका अध्यक्ष विमल पौड्यालसँग बुनु थारुले गरेको कुराकानीः
नेपालमा नेत्र सहायकको अवधारणा कहिलेदेखि आएको हो?
नेपालको पहिलो आँखा अस्पताल नेपाल आँखा अस्पताल खुलेपछि यसको अवधारणा आएको हो। डा रामप्रसाद पोखरेलेको नेतृत्वमा सो अस्पताल विसं २०३० स्थापना भएको हो। आँखा उपचार सेवाको सुरुवात आँखा डाक्टरहरुबाट मात्र सम्भव थिएन।
आँखा उपचार सेवा जिल्ला स्तरमा सुचारु गर्न र ग्रामीण जनसमुदायमा पु¥याउनका लागि मध्यमस्तरीय आँखा जनशक्ति विकासको खाँचो देखिएका हुनाले नेत्र सहायकको अवधारणा आएको हो। सन् १९८१ को मे महिनाबाट काठमाडाँैको वीर अस्पताल एवं नेपाल आँखा अस्पतालको सक्रियतामा सुरु गरिएको हो।
त्यतिबेला ७ जना आँखा विशेषज्ञ थिए। प्यारामेडिक्सको रुपमा कुनै अरु तह थिएन। त्यसपछि यो जनशक्तिको आवश्यकता महसुस भएर ४० जनाको दरले नेत्र सहायक जनशक्ति तालिमको सुरुवात गरिएको थियो। म पहिलो व्याचको हो।
यो विषय कहाँकहाँ पढाइ हुन्छ?
नेत्र सहायकको जनशक्तिको माग बढेपछि नेपालमा ८ वटा आँखा अस्पताल नेपाल आँखा अस्तपाल (त्रिपुरेश्वर), तिलगंगा आँखा प्रतिष्ठान (गौशाला), सगरमाथा चौधरी आँखा अस्पताल (लहान), लुम्बिनी आँखा अस्पताल (भैरहवा), भरतपुर आँखा अस्पताल (चितवन), फत्तेबाल आँखा अस्पताल (नेपालगञ्ज), राप्ती आँखा अस्पताल (दाङ) र हिमालय आँखा अस्पताल (पोखरा) मार्फत नेत्र सहायकको प्रमाणपत्र तहको पठनपाठन भइरहेको छ।
अफ्थाल्मिक साइन्स प्रमाणपत्र तहको यो पढाइ एक वर्ष बेसिक साइन्स र दुई वर्ष क्लिनिकल अफ्थाल्मोलोजी गरी कुल तीन वर्षको पाठ्यक्रम अनुसार पठनपाठन हुने गरेको छ।
वार्षिक कति जना नेत्र सहायकहरु उत्पादन भइरहेका छन्?
८ वटा कलेजमा ४०–४० जना कोटाका दरले पढाइ हुन्छ। यसअनुसार वार्षिक ३ सय नेत्र सहायक उत्पादन भइरहेका छन्।
अहिले नेपालमा कति जना नेत्र सहायक छन्?
हाल नेपालमा १५ सय जनाको हाराहारीमा दर्ता गरिएका नेत्र सहायकहरु कार्यरत छन्। आँखा अस्पतालको अलावा नेत्र सहायकहरु ७७ वटै जिल्लामा विभिन्न गैरसरकारी संस्थाबाट सञ्चालित आँखा अस्तपालहरु, जिल्लास्थित प्राथमिक एवं सामुदायिक आँखा उपचार केन्द्रहरु, निजी तहमा सञ्चालित आँखा उपचार केन्द्रहरु तथा निजी क्लिनिकहरुमा यो जनशक्ति कार्यरत छन्।
नेत्र सहायकको मुख्य काम के हो?
नेत्र सहायकले आँखा अस्पतालहरुमा नेत्र विशेषज्ञको सहायकको रुपमा आँखा जाँच, उपचार, सामान्य शल्यक्रिया (लिडको मात्र) तथा चश्मा जाँच कार्य गर्छन् भने आँखाको जुनसुकै अपरेसनमा नेत्र विशेषज्ञलाई सघाउने तथा आँखाको अनुसन्धनात्मक कार्यहरुमा सहभागिता जनाउँछन्। नेत्र सहायकहरुले आँखा अस्पतालहरुका अलवा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेर सेवा दिइरहेका छन्।
हाल देशभरमा १ सय २० वटा प्राथमिक एवं सामुदायिक आँखा उपचार केन्द्र छन्। कुनै जिल्लामा ५–७ वटा पनि प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। ८० प्रतिशत भन्दा बढी प्राथमिक तहमा आँखा सेवा उपलब्ध गराउने नेत्र सहायक नै हुन्। आँखा अस्पताल नभएका ठाउँबाट उनीहरुले अन्यत्र रिफर पनि गरिदिन्छन्। जिल्ला स्तरमा विद्यालयमा आँखा जाँच कार्यक्रम, आँखा शिविर सञ्चालन जस्ता कार्यहरुमा संलग्न भई कार्यरत रहेका छन्। हरेक सर्जरीमा अफ्लामोलोजिस्टलाई सघाउने काम उनीहरुको हुन्छ। विदेशतिर चाहिँ अफ्थाल्मिक नर्स भनिन्छ।
नेत्र सहायकमा चाहेजत्तिको आकर्षण किन छैन?
आँखाकोे क्षेत्रमा केही नेत्र सहायकहरु उच्च नेतृत्वमा समेत पुगेका छन्। सम्बन्धित निकायहरुबाट नेत्र सहायकको विकासका लागि आवश्यक पहल भइरहेको पनि छ तर पनि यसमा विभिन्न चुनौती छन्। पदोन्नतिको अवसर नपाउनु, नयाँ आँखा विषयक ज्ञान र सिपमूलक तालिमहरुको निरन्तरतामा कमी हुनु र पदीय स्थायित्वको विश्वासमा कमी रहेको पाइएको छ। आँखा सेवा अनिवार्य सेवा हो भनेर विस्तारै सरकारले महसुस गर्दैछ। नत्र भने आँखा स्वास्थ्य नेपाल सरकारको प्राथभिकतामा परेको छैन।
नेत्र सहायक परिवारको स्थापना कहिले भएको हो? यसले के काम गर्छ?
नेत्र सहायक परिवारको स्थापना २०५८ सालमा भएको हो। परिवारले नेत्र सहायकहरुको हकहितका लागि वर्षमा सिएमई कार्यक्रम गर्ने गरिरहेको छ। परिवारमा ९ सय जना आबद्ध छन्। नेपालमा सञ्चालित आँखा अस्पताल, प्राथमिक तथा सामुदायिक आँखा उपचार केन्द्र र अन्य आँखासम्बन्धी सेवा प्रदान गर्ने संघ, संस्थाहरुमा कार्यरत सम्पूर्ण नेत्र सहायकहरुको पेसागत हकहित र अधिकार तथा पदीय मर्यादाको प्रवर्धन तथा संरक्षण यसले गर्छ।
आँखाको उपचारमा नेत्र सहायकको के भूमिका रहेको छ? यसको जनशक्ति बढाउनुमा के कुरामा ध्यान दिनुपर्छ?
नेत्र सहायकहरु नेपालको आँखा सेवाको मेरुदण्ड हुन्। सबै नेत्र सहायकहरु एक भए आफ्नो वृत्ति विकासका साथै राष्ट्रको अन्धोपन निवारण कार्यमा धेरै सहयोग पुग्छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आँखा स्वास्थ्यको लागि सर्वोच्च एकाइबाट तयार पारी कार्यान्वयनका लागि प्रक्रियामा रहेको आँखा स्वाथ्य ऐन २०७५ अन्तर्गतको प्रस्तावित संस्थागत संरचना नेपाल सरकारबाट लागू हुनुपर्छ।
यसो भएको खण्डमा देशमा आँखा सेवाको विस्तार हुुनका साथै नेत्र सहायकको माग बढ्न जाने र अन्धोपन निवारण कार्यमा स्वास्थ्य चौकी तहसम्म पदस्थापन हुन जाने हुँदा यो पेसा अझ जिम्मेवारीपूर्ण र गरिमायम हुने छ।