वाइफाई (वायरलेस फाइडेलिटी) तार विनाको प्रविधि हो। जसलाई डब्लुल्यान (वायरलेस लोकल एरिया नेटवर्क) पनि भनिन्छ। वाइफाई अविष्कारको सुरुवात अलेक्जेन्डर ग्रामबेल तथा समनेरद्वारा १८८० मा भएको थियो। अहिले को वाइफाई (IEEE Standard 802.11) नेदरल्यान्ड्सको NCR Corporation/AT&T ले सन् १९९१ मा गरेको थियो।
यस प्रविधिको प्रयोग अहिले घर, अफिस तथा अरु सार्वजनिक ठाउँमा गर्ने क्रम बढ्दो छ। जस्तै: हवाइ अड्डा, स्कुल/कलेज, सरकारी/अर्ध-सरकारी कार्यालयहरु, व्यापारिक क्षेत्र, सहरी क्षेत्र आदि। यस माध्यमबाट सूचना आदान-प्रदान तथा सानादेखि ठूला कामहरु पनि गर्न सकिन्छ। जसले मानिसको दैनिक जीवनलाई सस्तो, सजिलो, सुरक्षित र भरपर्दो बनाएको छ।
त्यसैले वायरलेस नेटवर्क अहिले मानवको एउटा अभिन्न अंग बनिसकेको छ। जसको फलस्वरुप आधार स्टेसन, स्थानीय वायरलेस नेटवर्कहरु थपिइरहेका छन्।
वाइफाई सुरुमा मोबाइल फोनहरुको लागि बनेको थियो तर अहिले व्यापक रुपमा मोबाइल लगायत इलेक्ट्रोनिक वस्तुहरुमा प्रयोग भइरहेको छ। जस्तै: मोबाइल फोन, ट्याबलेट पिसी, टिभी, कम्प्युटर, अडियो प्लेयर, डिजिटल क्यामेरा इत्यादि।
वायरलेस प्रविधिको लागि तीन वटा आवश्यक तत्वले काम गरिरहेका हुन्छन्। जस्तै: रेडियो संकेतहरु, एन्टेना, राउटर, जसमा रेडियो तरंग नै प्रमुख हो। वायरलेस प्रविधिले हामीलाई तारको सञ्जालको झन्झटबाट जोगिन मद्दत गरिरहेको छ।
प्रविधि विकासको फलस्वरूप अहिले रिमोट कन्ट्रोलको सहायताले विभिन्न कामहरु सजिलैसँग गर्न सकिएको छ। यसको साथसाथै हामीहरु जानी-नजानी वायरलेस संकेतहरूबाट प्राप्त हुने विभिन्न विधुतीय विकिरणसँग पनि दैनिक घुलमिल भइरहेका छौं।
स्वास्थ्यका लागि कति सुरक्षित?
दूरसञ्चार-नेटवर्कसँग सम्बन्धित एकथरी मानिसहरु साथै विश्व स्वास्थ्य संगठन, हेल्थ क्यानडा, द एफडिए तथा केही अध्ययनहरुले वाइफाई पूर्ण रुपमा सुरक्षित रहेको भन्दै आइरहेका छन्। तर अर्कातिर भर्खरै गरिएका विभिन्न अध्ययनले के देखाउँछन् भने वायरलेस प्रविधिले मानव शरीरलाई तुरुन्तै बिरामी बनाउँदैन। तथापि लामो समयसम्मको रेडियो आवृत्तिसँगको संसर्गले मानव शरीरको कम गर्ने क्षमतालाई असर गर्छ। र, क्यान्सर तथा न्यूरो-डिगिनिरेटिव रोगहरु बढ्न मद्दत गर्छ।
त्यसैले वाइफाई स्वास्थ्यको लागि खतरा छ भन्ने कुरा इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सरले उल्लेख गरेको छ। तर यसको लागि पर्याप्त अध्ययनहरु हुन् बाँकी नै छ। जुन अहिले अन्तर्राष्ट्रिय स्वास्थ्य समुदाय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनहरुमा बहसको विषय बनेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार धेरै लामो समयसम्म रेडियो विकिरण केन्द्रको नजिक बस्ने वा संसर्गमा आउनेहरुमा विभिन्न किसिमका क्यान्सरको सम्भावना हुन्छ। विगतका वर्षहरुमा गरिएका वैज्ञानिक अध्ययनहरुले पनि रेडियो विकिरण र क्यान्सरको बीचमा गहिरो सम्बन्ध भएको उल्लेख गरेका छन्।
त्यस्तै वायरलेस प्रविधिले हानिकारक विकिरण फैलाएको हुन्छ, जसलाई हामीले देख्न र अनुभव गर्न सक्दैनौं। जसले मानव शरीरमा प्रवेश गरी कोषाणुको डिएनएमा असर गर्ने इन्ट्रोडक्सन टु कम्प्युटेसनल मलिकुलर बायोलोजी नामक किताबमा उल्लेख छ।
विभिन्न समयमा गरिएका अध्ययनहरुको रिपोर्ट अनुसार वायरलेसबाट निक्लने विकिरणहरु विभिन्न प्रकारका रोगको कारण बन्छन्। जस्तै: पुरुषमा बाँझोपन, गर्भपतनको खतरा, मष्तिस्क क्यान्सर, कान सुन्ने क्षमता ह्रास हुनु, पेटभित्रको बच्चालाई असर, क्यान्सर बढ्ने खतरा, पार्किन्सन रोग, अल्जाइमर रोग, मुटु रोग, दम, निद्रा नलाग्नु, ल्युकेमिया, उच रक्तचाप, त्रुटिपूर्ण जन्म, बाथ ज्वरो, विभिन्न प्रकारका बच्चाका क्यान्सर, इलेक्ट्रिकल संवेदनशीलता, स्तन क्यान्सर , प्रतिरक्षा प्रणाली इत्यादि।
इन्भाइरोमेन्टल रिसर्च भन्ने प्रसिद्ध जर्नलमा प्रकासित लेख अनुसार वाइफाईको कारण ओक्सिडाइटी तनाव सुक्राणु/टेस्टिकुलर क्षति, पुरुषमा बाँझोपन, मनोरोग, इइजीमा परिवर्तन, अस्वाभाविक कोषहरुको मृत्यु, सेलुलर डिएनए क्षति, इन्दोक्राइन हार्मोन परिवर्तन र क्याल्सियम अधिभार हुन्छ भन्ने कुरालाई जोड दिएको छ।
वाइफाईको संसर्ग कसरी घटाउने?
१. सम्भव भएसम्म वाइफाईको प्रयोग कम गर्ने
२. सुत्नु अगाडि वाइफाई बन्द गर्ने
३. प्रयोग गर्ने बेलामा मात्र वाइफाई राउटर खोल्ने
४. प्रयोग नभएको समयमा सबै उपकरणहरुसँगको वायरलेसको सम्बन्ध हटाइदिने
५. वाइफाई विकिरणसँग टाढा रहने
६. राइट इथरनेट तार प्रयोग गर्ने
७. जेसिआर इको–वाइफाई राउटर प्रयोग गर्ने
धेरै मोबाइल फोन प्रयोग गर्ने बच्चामा ब्रेन क्यान्सर हुने सम्भावना बढेर जान्छ भन्ने कुरा युरोपियन कमिसनको रिपोर्टमा उल्लेख गरिएको छ। त्यस्तै युरोपियन कमिसन तथा व्यावसायिक र पर्यावरण चिकित्साको संयुक्त अध्ययन अनुसार सेल फोनको विकिरणले मानवको व्यवहार जस्तै; ध्यान एकाग्रता र मेमोरी पावरमा पनि असर गर्छ। त्यसैले बेलायत, जर्मनी, बेल्जियम, इजरायल, रसिया, फ्रान्स तथा इन्डिया जस्ता देशले आफ्ना देशका बच्चाहरु लाई मोबाइल फोन कम प्रयोग गर्न दिशानिर्देशहरू बनाएका छन्।
त्यसैले नेपालमा पनि यी भयका अध्ययन अनुसन्धानलाई ध्यानमा राखी समयमा नै उचित कदम चाल्नुपर्ने देखिन्छ जसले गर्दा भविष्यमा रोगको कारणले हुने आर्थिक, सामाजिक तथा मानसिक बोझ कम गर्न सकिन्छ।
- (लेखक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको मेडिकल विभागमा कार्यरत छन्।)