डा हरि रिजाल
सामान्यतयाः कुनै पनि रोगका बिरामीहरु दुखाइले असह्य पीडा नहुन्जेलसम्म चिकित्सकसँग परामर्र्श लिन अस्पताल आउन चाहँदैनन्। जब दुखाइ अत्यन्तै बढ्दै जान्छ, छटपटी हुन्छ वा दुखाइले जटिलता निम्त्याउँछ, तब मात्र बिरामी अस्पताल धाउन बाध्य हुन्छन्। अस्पताल आएका बिरामीका गुनासामध्ये दुखाइ सबैभन्दा प्रमुख गुनासोमा पर्छ।
दीर्घकालीन दुखाइ र क्यान्सरको दुखाइ जस्तो अति नै पीडादायी दुखाइको उपचार आजको आवश्यकता बनेको छ, तर यस्ता बिरामीको उपचार निकै नै चुनौतीपूर्ण छ। दुखाइ निदानका लागि चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीमार्फत गरिने उपचार सामान्यतयाः अति नै पीडादायी दुखाइ तथा दीर्घकालीन दुखाइहरुमा त्यति प्रभावकारी नभइरहेको अवस्थामा र त्यस्ता बिरामीहरुको लागि दुखाइ निर्मूल सेवा (पेन क्लिनिक) एक महत्वपूर्ण एवं अन्तिम गन्तव्य हो भनेर बुझ्नु आवश्यक छ।
के हो पेन क्लिनिक?
पेन क्लिनिक प्रभावकारी दुखाइ व्यवस्थापनको अन्तिम गन्तव्य हो, जहाँ दुखाइ व्यवस्थापनमा दखल राख्ने विशेषज्ञ चिकित्सक सहितको टोलीले दीर्घकालीन दुखाइका बिरामी वा अति नै पीडादायी दुखाइ निर्मूल वा न्यूनीकरण गर्न आधुनिक प्रविधि सहितको औषोधोपचार गर्ने व्यवस्था गर्छ। यसै क्लिनिकमा अन्यत्र ठिक नभएका दुखाइसम्बन्धी बिरामीलाई जीवन जिउने योग्य वा दैनिक कार्य गर्न सक्ने बनाउन सकिन्छ।
यस क्लिनिकका चिकित्सक तथा सहयोगी चिकित्सकहरुले दुखाइ निर्मूलका बहुआयामिक व्यवस्थापकीय दृष्टिकोणमार्फत सफलतापूर्वक उपचार गर्ने गर्छन्। यस प्रकारको पेन क्लिनिकमा बिरामीको दुखाइ मात्र नभएर दुखाइसँग सम्बन्धित विविध पक्षहरु जस्तैः शारीरिक, भावनात्मक, संज्ञानात्मक, व्यावहारिक, व्यावसायिक र सामाजिक पक्षको समेत रेखदेख तथा समाधान गर्ने गर्छ।
दुखाइ निदान गर्न मात्र शरीरिक समस्या समाधान भएर हुँदैन। त्यसैले समान्य क्लिनिकहरु वा अस्पतालहरुमा गरिने उपचार त्यति प्रभावकारी भएको पाईंदैन। त्यसैले आजकल पेन क्लिनिक दुखाइ निर्मूलको विकल्पको रुपमा खरो रुपमा अगाडि आएको छ।
दुखाइ व्यवस्थापनमा दखल राख्ने विशेषज्ञ चिकित्सकले के गर्छ?
दुखाइ व्यवस्थापनमा दखल राख्ने विशेषज्ञ चिकित्सकको अन्तिम लक्ष्य भनेको दीर्घकालीन दुखाइले पीडित मानिसलाई निको पार्नु, जीवन जिउन योग्य बनाउनु वा दैनिक कार्य गर्न सक्ने बनाउनुका साथै तिनीहरूको हेरचाह गर्नु हो। यसका अलावा उनीहरूको आत्मसम्मान समेत बढाउनु हो, फलस्वरुप उनीहरू सामान्य व्यक्ति सरह जीवन बिताउन सक्छन् भन्ने मान्यता यस्ता विशेषज्ञ चिकित्सकहरुमा हुन्छ।
पेन क्लिनिकमा कस्ता बिरामीको उपचार गरिन्छ ?
पेन क्लिनिकमा आउने करिब ३० प्रतिशत बिरामीहरु नशासम्बन्धी दुखाइ (न्युरोप्याथिक पेन सिन्ड्रोम र न्युरोल्जिक पेन) लिएर आउने गर्छन्। पेन क्लिनिकमार्फत न्युरोजेनिक र सिम्पेथेटिक नशाको माध्यमाबाट हुने दुखाइ, जटिल क्षेत्रीय पेन सिन्ड्रोम (कम्प्लेक्स रिजनल पेन सिन्ड्रोम), पोस्ट हर्पेटिक न्युरालजिया (जनई खटिरा भएपछिको दुखाइ), ट्राइजेमिनल एवं पेरिफेरल न्युरोप्याथी) जस्ता रोगबाट हुने दुखाइको प्रभावकारी उपचार गर्ने गरिन्छ।
पेन क्लिनिकमा आउने अन्य बिरामीहरुमा हड्डी तथा मांसपेसीको दुखाइ पनि धेरै छन्। पेन क्लिनिकमा आउने करिब ५० प्रतिशत बिरामीहरु हड्डी तथा मांसपेसीको दुखाइका कारण आउने गर्छन्। कम्मर वा पिठको दुखाइ, घाँटी दुखाइ, फेल्ड ब्याक सर्जरी सिन्ड्रोम, घुँडा र जोर्नीहरूको दुखाइ, फाइब्रोमायाल्जिया, मायोफेसियल पेन सिन्ड्रोम आदि समस्याहरुमा हड्डी तथा मांसपेसीको दुखाइ हुने भएकोले यस्ता समस्याको समेत पेन क्लिनिकमा सफलतापूर्वक उपचार गर्ने गरिन्छ।
यसका अलावा भास्कुलर दुखाइका कारण करिब ५ प्रतिशत बिरामी पेन क्लिनिकमा आउने गरेको एक तथ्यांकले देखाएको छ। भास्कुलर समस्याहरुमा परिधीय संवहनी रोग (पेरिफेरल भास्कुलर डिजिज), रेनाउड फेनामेनोन तथा टाउको दुख्ने समस्याहरु प्रमुख रुपमा लिइन्छ।
यस्ता पेन क्लिनिकहरुमा फ्यान्टोम पेन तथा थयालेमिक पेन जस्ता केन्द्रीय दुखाइ (सेन्ट्रल पेन) का कारण करिब एक प्रतिशत बिरामी आउने तथ्यांक छ।
आजकल क्यान्सरको बढ्दो जोखिमका कारण क्यान्सरका बिरामी दिनानुदिन बढ्दै गएको छ। फलस्वरुप यसबाट हुने दुखाइका बिरामीको संख्या पनि कम छैन। करिब १२ प्रतिशत बिरामीहरु क्यान्सरको दुखाइका कारण पेन क्लिनिकमा आउने गर्छन्।
यसका अलावा महिलामा हुने तल्लो पेटको दीर्घकालीन दुखाइ तथा असामान्य पीडा हुने अवस्थाहरु जस्तैः एचआइभी, बच्चामा हुने र वृद्धावस्थामा हुने दुखाइहरुको समेत पेन क्लिनिकमा प्रभावकारी उपचार गर्ने गरिन्छ।
अन्तमा दुखाइ सामान्यदेखि निकै नै पीडादायी हुनसक्छ तर सही व्यवस्थापन गरिएमा जीवन सहज बनाउन सकिन्छ। यसमा पेन क्लिनिकको औषोधोपचार तथा विभिन्न प्रभावकारी आधुनिक पद्धतिको (प्लेटलेट रिच प्लाज्मा, रेडिआफ्रेक्वेंसी एब्लेसन, ओजोन न्यूक्लिओल्य्सिस) ठूलो भूमिका हुने सबैले बुझ्नु जरुरी छ।
(डा रिजाल पेन स्पेसलिस्ट हुन्)