विश्व स्वास्थ्य

कोरियामा कोरोना संक्रमण बढ्दै, १ सय ४४ जना एउटै चर्चका

शिव भुषाल

सिओल– कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ। मंगलबारसम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ। 

पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगुस्थित सिनछनजी चर्चसँग सम्बन्धित रहेको केन्द्रले बताएको छ। कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने ख्यङसान बोग्दो प्रान्तमा मात्र १ सय ५३ संक्रमित भेटिएका छन्। यो संख्यामा पनि १ सय ४४ जना थेगुस्थित सिनछन चर्चसँग सम्बन्धित रहेको केन्द्रको भनाइ छ। 

बिहीबार ख्यङनाम क्विनदाओ अस्पतालमा एकजना संक्रमितको निमोनियाका कारण मृत्यु भएको थियो। सोही अस्पतालले शुक्रबार बिहान १६ संक्रमित भर्ना भएको जनाएको छ। कोरियामा क्विनदाओ र थेगु कोरोना संक्रमितहरुको केन्द्र मानिएको छ। 

बिहीबारमात्रै १६ हजार १ सय ९६ जनाले कोरोना परीक्षण गरेकोमा १० हजार ३ सय १६ मा नेगेटिभ देखिएको र बाँकीको परीक्षण चलिरहेको केन्द्रको भनाइ छ। 

सिनछन चर्चमा धेरै मानिसहरु बन्द कोठाभित्र प्रार्थना गर्दा संक्रमण फैलिएको केन्द्रको दाबी छ।

केन्द्रका प्रमुख चुङ युन क्युङले भने, ‘संक्रमणको प्रकृति हेर्दा, संक्रमितको संख्या ठूलो भएको अनुमान गर्न सकिन्छ। हामी अनुसन्धान गरिरहेका छौँ, चर्चमा कसरी संक्रमण पुग्यो, हामीलाई थाहा छ, चर्चका अन्य देशहरुमा पनि शाखाहरु छन, जस्तै चीनको हुबेइमा पनि यसको शाखा छ कि भन्ने विषयमा हामी बुझ्दै छौं।’ 

केन्द्रले उक्त चर्चसँग सम्बन्धित थप  ५ सय ४० जनामा लक्षण देखा परेको बताएको छ। 

सिनछन चर्चबाट फैलिएको कोरोनाबाट जोगिन त्यहाँका स्थानीय सरकारले अत्याश्यकबाहेक अन्य समयमा घर बाहिर नजान सर्वसाधारणसँग अपिल गरेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने