आज अन्तर्राष्ट्रिय नारी दिवस। विश्वभर मनाइँदै छ। यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। पछिल्लो समय महिलाहरु नेतृत्व तहमा पुग्ने क्रम बढेको छ। हामीले यसपटक स्वास्थ्य क्षेत्रको नेतृत्व तहमा रहेका केही महिलासँग कुराकानी गरेका छौं। नेतृत्व तहमा पुगेपछि निर्णय लिन र त्यसलाई कार्यान्वयन गराउन कत्तिको चुनौती छ? आफ्ना अन्य साथीहरुबाट गरिने व्यवहार कस्तो छ? महिलालाई नेतृत्व तहमा पुगेपछि हुने मुख्य चुनौती के–के हुन् भन्ने विषयमा स्वास्थ्य मन्त्रालय, अस्पतालका विभाग नेतृत्व गरिरहेका केही प्रतिनिधि महिलाले स्वास्थ्य खबरका कल्पना पौडेल, कमला गुरुङ र सिर्जना खत्रीसँग साटेको अनुभव साटेका छन्। ती अनुभव उनीहरुकै शब्दमाः
छोराछोरीलाई तिमी गर्न सक्दैनौ भन्ने बानी सुधारौँ
रोशनी तुइतुई, प्रमुख नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा
मेरो बुबाआमाले मलाई कुनै पनि कामका लागि मलाई ‘नो’ भन्नुभएन। जसले मलाई पुरुषभन्दा अलग हुँ, यो काम गर्न सक्दिनँ भन्ने सोच कहिल्यै आएन।
ज्ति बेलासम्म म अविवाहित थिएँ, मलाई भेदभावको कुरा यादै भएन। तर, जब विवाह भयो, बच्चा जन्मिए त्यसपछि चाहिँ मलाई यी कुराले पहिलो पटक क्लिक ग¥यो। महिला र पुरुषबीचको विभेद अनुभव भयो।
२०४७ सालमा मैले एसएलसी दिएकी हुँ। २०४५ सालमा भक्तपुर काण्ड, जसलाई ह्याजु काण्ड पनि भनिन्छ। त्यो समय म ९ कक्षामा पढ्थें। त्यही काण्डको असरले ९ र १० कक्षामा हाम्रो पढाइ नै भएन।
त्यसपछि एलएलसी सुरु हुन ३ महिना बाँकी रहँदा ३–४ वटा स्कुलका विद्यार्थीलाई सरले राति ९ देखि ११ बजेसम्म पढाउनुहुन्थ्यो। म एक्लै जाने–आउने गर्थें। घरबाट ‘तिमी एक्लै नहिँड, डर हुन्छ’ भन्नुभएन। त्यसैले कुनै डर लाग्ने कुरै भएन। मेरो विद्यालयबाट एसएलसी पास हुने म एक्ली केटी थिएँ।
घरको काम वा अन्य केही कारणले भन्दा आमा भएपछि अलिकति फरक अनुभव भयो। पहिले जस्तो चाहेर पनि गर्न सक्दैनथें। अफिस जाने–आउने, बच्चाको सबै बन्दोबस्त मिलाएर निस्कनुपर्ने व्यवहार निकै चुनौतीपूर्ण लागेको थियो।
एकल परिवार भएकाले पनि बच्चाको हेरचाह र अफिसको काम दुई फरक तर महत्वपूर्ण कुरा मिलाउन गाह्रो हुन्छ।
कति पटक बच्चालाई खाना ठिक पारिदिएर बाहिरबाट ढोका लगाएर हिँड्नुपरेको छ। अफिसको काम १० देखि पाँच बजेसम्म भन्ने हुँदैन। धेरैजसो छिटो आउने, ढिलो घर जाने हुन्छ।
बच्चाहरु घडी हेरेर बस्छन्। कतिबेला आउनुहुन्छ भनेर फोन गरिरहन्छन्। निकै गाह्रो हुन्छ, त्यो क्षण।
बच्चा अहिले अलि बुझ्ने भए। पहिले बोल्न, फोन गर्न नसक्ने हुँदा ढोकामा आएर रोएर बस्ने रहेछन्। ढोका खोलेर उनीहरु रोएको र आँसुले भिजेको अनुहार देख्दा निकै दुःख लाग्थ्यो। अहिले पनि ती क्षण सम्झँदा निकै भावुक बनाउँछ।
हामी श्रीमान्–श्रीमती नै स्वास्थ्य क्षेत्रमा कार्यरत छौँ। दुवै बाहिर हुँदा बच्चालाई समय दिन सकिँदैन। बुबालाई भन्दा आमालाई बच्चाले धेरै खोजी गर्छन्। आजकल पनि बिदाको दिन कार्यक्रममा निस्कनुपर्दा अलि समय लाग्ने खालको कार्यक्रम भए आफूसँगै लिएर निस्कन्छु।
मैले नेपालगञ्ज नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ गरेको हुँ। त्यसपछि बागबजारस्थित मोडल अस्पतालमा काम गर्न सुरु गरें।
अस्पतालको त्यो समयको वातावरण अहिले पनि याद गर्छु। ०५४ सालको कुरा हो, त्यो समय मेरो जीवनको टर्निङ प्वाइन्ट नै हो।
त्यो समय अहिलेको जस्तो डाक्टर र नर्सबीच दूरी थिएन। एकअर्कालाई गरिने सम्मान अहिलेभन्दा बढी थियो। अहिले चिकित्सक र नर्सले एकअर्कालाई गर्ने सम्मान कहीँकतै कम भएको हो कि जस्तो लाग्छ। कामप्रति लगावभन्दा वितृष्णा बढेझैँ लाग्छ। त्यसका अनेक कारण हुन सक्छन्।
त्यो समय कामप्रतिको लगाव डाक्टर र नर्स दुवैको उस्तै थियो। म पढाइ निकै रुचि राख्थें। पढेका कुरा नोट बनाएर राख्ने बानी थियो। अस्पतालका चिकित्सक र मभन्दा सिनियरको उत्पे्ररणले २०–२१ वर्षकै उमेरमा मिडवाइफ्री सम्बन्धी पुस्तक लेख्न सकेको थिएँ। त्यही क्रम अहिले पनि जारी छ। मेरो १२ पुस्तक प्रकाशित छन्।
स्टार्फ नर्सबाट सुरु गरेको जागिर नर्सिङ अधिकृत हुँदै अहिले ११औँ तहमा आइपुगेको छ। यो समयमा श्रीमानको सहयोग नभएको भए सम्भव हुने थिएन।
अहिले म नेतृत्व तहमा छु। म काम, क्षमता वा योग्यतामा अरुभन्दा कमजोर छु भन्ने लाग्दैन। तर मभन्दा माथिको नेतृत्वले जिम्मेवारी दिँदा म महिला र त्यसमा पनि नर्स भन्ने सोच राखेको जस्तो लाग्छ।
महिला त्यसमा पनि नर्स। उसले काम गर्न वा नेतृत्व गर्न सक्दैन भन्ने सोचले गर्दा कहिलकाहीँ मलाई खल्लो अनुभव गराउँछ। नर्सहरु क्षमतावान् हुँदैनन् भन्ने जस्तो सोच हाम्रो मानसिकतामा गढेर बसेको छ। यसलाई हटाउन निकै समय लाग्छ। तर सुरुवात आफैंबाट गर्नुपर्छ।
यदि हामी नेतृत्व गर्न चाहन्छौँ भने स्वयंलाई यो गर्न सक्दिनँ कि भन्ने सोचबाटै निकाल्नुपर्छ। योग्यता र क्षमता विकास गर्नुपर्छ। हरेक कुरामा योग्य भएपछि अधिकार वा आफ्नो स्थानका लागि आवाज उठाउन पनि सहज हुन्छ।
सबैभन्दा महत्वपूर्ण दायित्व आमाबुबाको हुन्छ जस्तो लाग्छ। छोरीलाई तिमी यो काम गर्न सक्दिनौ वा यो गर्नुहुन्छ, यो हुँदैन भन्ने सिकाइ नै परिवर्तन गर्नुपर्छ। हरेक काम गर्न सक्छौ, गर्नैपर्छ, ‘नो’ भन्न हुँदैन भन्ने बाल्यकालको सिकाइ नै पछिसम्म काम लाग्छ।
पहिलेभन्दा निकै सहज छ
कविता देवकोटा, नर्सिङ निर्देशक, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
महिला भएकाले कार्यस्थलमा खासै समस्या भोग्नु परेको छैन। स्टाफ नर्सदेखि नर्सिङ प्रमुखको जिम्मेवारीसम्म आइपुग्दा सबैले सहयोग नै गरिरहनु भएको छ।
स–साना समस्या त पुरुष–महिला सबैलाई पर्छन्। त्यसलाई सुुल्झाउँदै अघि बढ्ने हो। पहिले स्टाफका रुपमा आफूभन्दा सिनियरसँग निकै डर लाग्थ्यो। मनमा लागेको कुरा भन्न पनि धक लाग्ने गथ्र्यो।
हाम्रो समयका सिनियरहरु निकै कडा मिजासका हुनुहुन्थ्यो। केही गल्ती भइहाल्यो भने निकै रिसाउने हुनाले पनि निकै डर लाग्थ्यो। मेट्रोनले वार्ड भिजिट गर्न आउँदै हुनुहुन्छ भनेको सुन्दा सातो जाला जस्तो हुन्थ्यो। नर्सिङ निर्देशकको कोठा बाहिर हिँड्नुप¥यो भने पनि डरले मुटु काप्न थाल्थ्यो। अहिले त्यो अवस्था छैन।
अहिले म आफै नर्सिङ निर्देशकको भूमिकामा आइपुग्दा समय फेरिएको छ। बहिनीहरु मनमा लागेको कुरा निर्धक्कसँग भन्नुहुन्छ।
मैले गर्ने हरेक निर्णय पनि सबैको हितलाई ध्यानमा राखेर गरिरहेको हुन्छु। अस्पतालमा काम गर्दा हामी सबै एकै हौँ, कोही पनि सानो–ठूलो छैन भन्ने भावना राखेर काम गर्छौँ। त्यसैले एकअर्कामा सम्मान भाव पनि छ।
अन्य पेसाभन्दा हाम्रो पेसाको प्रकृति फरक छ। बिहान–बेलुका–दिउँसो कुनै पनि समय ड्युटी पर्न सक्छ। रातिको समय अलि जोखिमपूर्ण हुन्छ। आजकल त गाडीले घरसम्म पु¥याइदिने व्यवस्था छ। र, पनि बहिनीहरु नपुग्दासम्म पुगेकी पुगेनन् भन्ने चिन्ता लागिरहन्छ।
परिवारले पनि छोरी भएकै कारण घर नपुग्दासम्म बढी तनाव लिनुहुन्छ। महिलालाई दोहोरो जिम्मेवारी हुन्छ। विवाहपछि घर, बालबच्चाको व्यवस्थापन गरेर मात्र ड्युटीमा निस्कनुपर्छ। काममा रहँदा पनि घरमा बच्चा के गरेको होला भन्ने चिन्ता भइरहन्छ। जसले मानसिक तनाव बढाउँछ।
नर्सिङ पेसा चुनौतीपूर्ण पनि छ। २४सै घन्टा बिरामीको हेरचाह गर्नुपर्ने हुन्छ। केही सानो गल्तीले ठूलो समस्या ल्याउन सक्छ। सुरक्षाका हिसाबले पनि यो पेसा चुनौतीपूर्ण छ। त्यसैले कतिपय कुरा त हामी नर्सले सहेरै बस्नुपर्ने हुन्छ।
महिला भएकै कारण क्याम्पस प्रमुख हुँदा पनि काम गर्न गाह्रो भयो
आशालक्ष्मी प्रजाप्रती, नर्सिङ प्रमुख, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
म २०५० सालमा नर्सिङ अधिकृतको रुपमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा प्रवेश गरेको थिएँ।
त्यो समयमा अलि सानै पनि थिएँ। मलाई सानै देखेर मभन्दा सिनियर दिदीहरुले जिम्मेवारी पूरा गर्न सक्दिनँ कि भनेर बेलाबेलामा वार्ड आएर काम गरेको हेरेर बस्नुहुन्थ्यो।
नर्सिङ प्रमुख भइसकेपछि पनि मैले कहिल्यै काम गर्नुहुँदैन भनेर बसिनँ। बहिनीहरुलाई काम लगाउने भन्दा सँगै काम गर्छु। मैले काम गरेँ भने बहिनीहरुले गर्नुहुन्छ भन्ने लाग्छ। त्यसैले जहिले पनि समयमै अस्पताल आउने गर्छु।
केही कुराको निर्णय लिनुपर्दा सबैलाई बोलाएर सल्लाह गरेर मात्र लिन्छु। त्यसैले कसैले विरोध गर्नुहुन्न।
प्रशासनले पनि कहिले निर्णयमा विरोध गरेको छैन। मलाई स्टाफ वा अन्य सामान नै चाहिएमा सजिलै कार्यान्वयन भएको छ। स्टाफ अपुग भयो, अस्थायी स्टाफ स्थायी गराँै भन्ने जस्ता कुरा सजिलै पूरा हुने विषय होइन। यी विषयमा लामो समयदेखि माग गरिरहेका छौँ तर पूरा भएको छैन।
एक वर्ष परोपकार नर्सिङ क्याम्पसमा क्याम्पस चिफ भएर काम गर्दा भने महिना भएकै कारण विभिन्न चुनौतीको सामना गर्नुप¥यो।
त्यो समयमा भने मैले गरेका निर्णयहरु अस्पताल निर्देशक, प्रशासन शाखा, मेट्रोन कतैबाट कार्यान्वयन हुँदैनथ्यो। निकै दुःख भएको थियो। आर्थिक कुरामा निकै कष्टको सामना गर्नुप¥यो। त्यो समयमा पुरुष भएको भए यस्ता समस्या आउँदैनथे जस्तो अनुभव पनि हुन्थ्यो। त्यो एक वर्षमा निकै कुरा सिक्ने मौका पाएको थिएँ।
महिला नर्स मात्र हुन्छन् भन्ने धेरैको मानसिकता छ
प्राडा शैली प्रधान, प्रमुख, डेन्टल विभाग, वीर अस्पताल
स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको करिब २८ वर्ष भयो। २०४८ सालमा मैले स्वास्थ्य सेवा सुरु गरें। सातौं तहमा डेन्टल सर्जनको रुपमा सरकारी सेवामा प्रवेश गरेकी हुँ।
११औं तहमा बढुवा भएर डेन्टल विभाग प्रमुखको रुपमा काम गरेको धेरै भएको छैन। साढे चार वर्षजति भयो, खुलातर्फको प्रतिस्पर्धामा जितेर आएकी हुँ। यो नेतृत्व तहसम्म आउन गाह्रो छ। निरन्तर काम गरेर अघि बढिरहँदा प्रोत्साहन भने मिल्छ।
हाम्रो समयमा धेरै महिला डेन्टल सर्जन थिएनन्। त्यसैले महिला भएकै कारण धेरै संघर्ष गर्नु परेको अनुभव छैन। तर एउटा नमिठो अनुभव चाहिँ सधैं हुन्छ। हामी बिरामी हेर्न बसिरहेका हुन्छौ। मसँग मेरो सहायक दन्त चिकित्सक पुरुष हुँदा बिरामीले हामीलाई सिस्टर भनेर बोलाउँछन्।
एक पटक म मेरो एसिस्टेन्टसँग अस्पतालमा हिँड्दै थिएँ। एक जना बिरामी आएर उसलाई डाक्टर यो हेर्नुस् न भन्दै रिपोर्ट देखाए। मलाई चाहिँ सिस्टर भने। यो घटनाले के देखाउँछ भने महिलाहरु नर्स मात्र हुन सक्छन्, डाक्टर पुरुष मात्र हुन्छन् भन्ने समाजको मानसिकता देखाउँछ।
मलाई मेरो परिवारबाट धेरै सहयोग छ। घर र काम दुवैको सन्तुलन मिलाई अघि बढ्न चुनौती छ। परिवार बुझ्ने भयो भने सहज पनि हुन्छ।
सबै महिलाहरु सक्षम छन् तर पुरुषप्रधान मानसिकताका कारण अझै पनि महिला नेतृत्व तहमा आउन सकिरहेका छैनन्। महिला र पुरुषलाई जबदेखि समान व्यवहार गर्न थालिन्छ, समाजको मानसिकतामा परिवर्तन आउँछ। त्यसपछि वास्तवमै महिला र पुरुष समान हुन्छन् अनि नेतृत्व तहमा पनि महिलाको संख्या बढ्छ।