नेपालगन्ज- नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ। धम्की र हातपात प्रयासको विरोध गर्दै चिकित्सकहरूले ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीका अनुसार एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित समूहले चिकित्सकमाथि आक्रमण प्रयास गर्नुका साथै ज्यान मार्ने धम्की दिएको थिए।
'आफ्नो ज्यान जोखिममा राखेर काम गर्न नसकिने अवस्था बनेको छ,' उनले भने।
अस्पताल प्रशासनले धम्की दिने व्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गरिसकेको जनाएको छ। चिकित्सकहरूले भने सुरक्षा सुनिश्चित नभएसम्म नियमित सेवा सञ्चालन गर्न नसक्ने अडान लिएका छन्।
यता, मृतकका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै सम्बन्धित चिकित्सकविरुद्ध कारबाहीको माग गरेका छन्।