रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नागरिकलाई ठूलो राहत दिने गरी ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याएको छ। औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशत छुट दिने गरी नगरपालिकाले यो विशेष पहल सुरु गरेको हो।
बुधबार तिलोत्तमा–५ मणिग्राममा आयोजित एक समारोहका बीच नगरप्रमुख रामकृष्ण खाँणले उक्त फार्मेसीको उद्घाटन गरे। नगरकै संरक्षणमा सञ्चालन हुने यस फार्मेसीबाट जुनसुकै क्षेत्रका नागरिकले सहुलियत दरमा औषधि खरिद गर्न पाउनेछन्।
नगरपालिकाले यो सेवा प्रभावकारी बनाउन ‘बुट्स मेडिको प्रालि’ सँग ५ वर्षे सम्झौता गरेको छ। सम्झौताअनुसार फार्मेसी सञ्चालन भएको घरको वार्षिक २ लाख ५० हजार रुपैयाँ भाडा नगरपालिकाले बेहोर्नेछ। त्यसको बदलामा सञ्चालकले सेवाग्राहीलाई २५ प्रतिशतभन्दा बढी छुट सुनिश्चित गर्नुपर्ने सर्त राखिएको छ।
नगरपालिकाले घरभाडाको भार उठाइदिएपछि सञ्चालकलाई बिरामीलाई सहुलियत दिन सहज भएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए। उनका अनुसार फार्मेसीमा स्वदेशी तथा विदेशी सबै ब्रान्डका औषधिहरू उपलब्ध हुनेछन्।
बजारमा औषधिको चर्को मूल्यका कारण मारमा परेका विपन्न र दीर्घरोगीहरूलाई लक्षित गर्दै यो अवधारणा ल्याइएको कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए। नियमित औषधि खानुपर्ने बिरामीहरूका लागि यो २५ प्रतिशतको छुटले मासिक खर्चमा उल्लेख्य बचत हुने नगरपालिकाको विश्वास छ।
उद्घाटनका क्रममा नगरप्रमुख खाँणले यो अभ्यास देशभरका स्थानीय तहका लागि नमुना बन्ने दाबी गरे। 'हामी नागरिकको स्वास्थ्यप्रति संवेदनशील छौँ। यो वर्ष औषधिमा सहुलियत दिएका छौँ, आगामी वर्षदेखि सहुलियत दरमा प्याथोलोजी (ल्याब) सेवा पनि सञ्चालन गर्ने तयारीमा छौँ,' उनले भने।