काठमाडौं- डा बिष्णुमाया (बिएम) खरेलको निधन भएको छ। अन्तिम चरणको क्यान्सरसँग संघर्षरत डा खरेलको आइतबार राती साढे ९ बजे निधन भएको हो।
डा खरेललाई डिम्बाशयको अन्तिम चरणको क्यान्सर भएको थियो।
दन्त रोग विशेषज्ञ डा खरेल चितवनस्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरकी प्रबन्ध निर्देशक समेत थिइन्। उनका श्रीमान् डा प्रमोद लामिछाने हाडजोर्न तथा नसा रोग विशेषज्ञ हुन्। ३७ वर्षीया खरेलको एक छोरा छन्।
डा खरेलले २०७४ बैशाख २८ गते क्यान्सर भएको थाहा पाएकी थिइन्। क्यान्सर भएको थाहा पाएपछि उनी थप उपचारका लागि भारत समेत पुगेकी थिइन्। त्यहाँका चिकित्सकले अन्तिम स्टेजको क्यान्सर भएकाले निको नहुने कुरा बताएका थिए। उनीहरुले भनेका थिए -'अन्तिम स्टेजको क्यान्सर हो, वेट एन्ड वाच।'
त्यसपछि उनी नेपाल फर्किएर आवश्यक थप उपचार अगाडि बढाइरहेकी थिइन्। उपचार सम्भव हुने आशामा डा खरेल श्रीमानसँग जापान समेत पुगेका थिए।
जापान पुगेर गरिएको उपचार र अनुसन्धानपछि डा खरेलको क्यान्सर ‘एडिनो कासिनो अफ स्टोमक पोलिडिफरेन्सियट’ भन्ने पत्ता लागेको थियो। ‘वेल डिफरेन्ससियट’को हकमा सुधार आउनसक्ने सम्भावना रहन्छ। तर उनको क्यान्सरको प्रकृति ठीक उल्टो थियो।
हिरोसिमा युनिभर्सिटी हस्पिटलका चिकित्सकले पेटको क्यान्सरको अध्ययन र ‘प्रोगेस रेट’ दुवै निकै कम भएको बताएका थिए। उनीहरुले पहिलो चरणमै निदान भएको हकमा करिब १ देखि डेढ वर्षसम्म मात्र बाँचेको इतिहास सुनाए। तर त्यो समयमा डा खेरलेको क्यान्सर अन्तिम स्टेजमा रहेको र त्यो पत्ता लागेको पनि ४ महिना पूरा हुन लागिसकेको थियो।
शल्यक्रियाबाट केही राहत मिल्छ कि भनेर चिकित्सकहरुलाई आफ्नो जिज्ञासा नराखेका होइनन् डा दम्पतीले। तर शल्यक्रिया गर्दा महत्वपूर्ण अंगहरु फाल्नुपर्ने भएकोले शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली(इम्युन सिस्टम) मा नै असर पर्ने र झन् समस्या थपिनसक्ने भन्दै जापानी चिकित्सकहरुले शल्यक्रियामा जोड दिएनन्। केमोले सुधार आइरहेको निष्कर्ष निकाल्दै उनीहरुले पनि भारतका चिकित्सकले झैं उही सुझाव दिए, ‘वेट एन्ड वाच’।
त्यसपछि उनको भरतपुर सेन्ट्रल हस्पिटलमा केमो सुरु गरिएको थियो। केमोपछि उनको क्यान्सरको अवस्थामा सुधार आएको थियो। तर उक्त सुधार पर्याप्त भने थिएन।
केमो लिएको भोलीपल्ट नै उनी बिरामीको उपचारमा खटिकी थइन्। उनलाई लाग्थ्यो जति बढी व्यस्त भइयो उती नै आफ्नो पीडा भुल्न सहज हुन्थ्यो।
आफू क्यान्सरपीडित भए पनि चिकित्सकीयका ज्ञानका आधारमा उनी आफूजस्तै अन्य बिरामीलाई रोगसँग नडराउन सुझाउँथिइन्। ‘हुने हार दैव नटार भन्ने त उखानै छ । रोगसँग डराउँदै जाने हो भने यसले झन् गाल्दै जान्छ। त्यसकारण योसँग म लड्नसक्छु भनेर मानसिकतालाई बलियो बनाउनु जरुरी छ’, उनको सुझाव हुने गर्थ्यो।
गत वर्ष स्वास्थ्यखबरसँगको कुराकानीमा उनले भनेकी थिइन् ‘बच्चादेखि नै ‘नेभर कम्स टुमरो’ भन्ने सोच भएको मान्छे हुँ। पढ्ने बेलामा पनि म कहिल्यै मर्दिन भनेर सिकियो भने धेरै राम्रो कुरा जानिन्छ भन्ने सोच लिएर पढ्थेँ। तर जिन्दगी जिउने कुरामा भने म भोलि नै मर्दैछु भन्ने सोच आउँथ्यो। भोलि नै मर्दा, केही छिनमा मर्दा वा केही घण्टा/मिनेट मात्रै मेरो जीवन बाँकी छ भने पनि म पूर्णरुपमा आफूप्रति कन्भिन्स छु। मलाई मेरो जीवन र जीवनीसँग कदापि कुनै सिकायत रहनेछैन।’
क्यान्सरले गाल्दै गए पनि उनको आत्मबल दरिलो थियो। तर आइतबार राती उनले क्यान्सरलाई जित्न सकिनन्।