काठमाडौं— विश्वभर तीव्र रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) अझै रोकिने संकेत देखिएको छैन। बिहीबारसम्म कोरोना भाइरस विश्वका १६७ देशमा फैलिसकेको छ भने झन्डै ९ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
हालमासम्म यो भाइरस नेपालमा नदेखिए पनि संक्रमण फैलिनसक्ने जोखिम मध्यनजर गर्दै सरकारले विद्यालय, सिनेमाघर, जिम, क्लबलगायतका स्थान बन्द गरेको छ।
यही त्रासका बीचमा विभिन्न भ्रम पनि फैलिइरहेका छन्। मानिसहरु के खाए कोरोना भाइरस लाग्दैन वा के गरे बच्न सकिन्छ भन्ने जानकारी लिन अनलाइन पोर्टल चहारिरहेका भेटिन्छन्।
यही बीचमा फैलिएको एउटा भम्र हो, विभिन्न जडिबुटी सेवन गरेमा कोराना भाइरसबाट बच्न सकिन्छ वा संक्रमण हुँदैन।
कतिपयले बेसार पानी, तुलसी पानी खाएमा कोरोना भाइरसले संक्रमण नगर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।
हामीले यसरी फैलिइरहेको भ्रमबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायसँग जिज्ञासा राखेका थियौँ।
उनले कोरोना नयाँ भाइरस भएकाले यसको कुनै पनि उपचार पद्धति विकास नभएको बताए। उनले भने, ‘बाहिर हल्ला भएजस्तो कोरोना संक्रमणलाई बचाउने कुनै जडिबुटी छ भन्ने भ्रममा नपर्नु होला।’
उनले नेपाली भान्सामा हरेक दिन प्रयोग हुने सुठो, पिप्ला र तुलसीको पातको चिया दिनहुँ प्रयोग गर्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता विकास गर्ने बताए।
कोरोना भाइरसबाट प्रभावित हुनेमा धेरै व्यक्तिको रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर रहेको देखिएको छ। महानिर्देशक उपाध्यायले अमला, बोजो, असुरो, बेसार गुर्जो, टिमुर लगायतमध्ये कुनै एक जडिबुटीको दिनहुँ प्रयोग गर्दा रोगसँग लड्ने प्रतिरक्षा शक्तिको विकास हुने बताए।
‘यी जडिबुटीले मानिसमा इम्युनिटी शक्ति बढाउँछ तर यो कोरोना भाइरसको औषधि नै भने होइन। यी जडिबुटीको नियमित प्रयोगले अन्य संक्रमणबाट पनि बचाउँछ,’ उनले भने।
कोरोना संक्रमण र जडिबुटीबारे महानिर्देशक यसो भन्छन् (भिडियो)