कोरोना भाइरससँग सम्बन्धित दुईटा गलत जानकारी शनिबार सामाजिक सञ्जालमा भाइरल भए।
पहिलो, नर्भिक अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको खबर।
दोस्रो, नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाइरसविरुद्ध किटनाशक औषधि छर्कने।
शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा दर्जनभन्दा बढीले यो विषयमा जिज्ञासा राख्दै मलाई पनि पठाइरहेका थिए। एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य पत्रकारिता गरिरहेका कारण म्यासेन्जरमा अडियोसहित आएका यी दुवै खबर गलत हुन् भन्ने कुरामा म ढुक्क थिएँ।
किनकी नर्भिकमा कोरोना भाइरसको प्रयोगशाला परीक्षण हुँदैन भन्ने मलाई राम्रो जानकारी थियो। हालसम्म कोरोना भाइरसको प्रयोगशाला परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुन्छ।
शुक्रबार राति १० बजे मात्रै मैले कोरोना भाइरसको आंशकामा नमुना परीक्षण गरिएका संख्या, नमुना पठाएका अस्पताल लगायतका विषयमा जनस्वास्थ्य प्रयोगशालाका अधिकारीसँग जानकारी लिएको थिएँ। त्यसैले भाइरल भएको यो विषय गलत तथ्यमा आधारित थियो।
सेनाले हेलिकोप्टरबाट किटनाशक औषधि छर्कने विषय पनि गलत हो भन्ने कुरामा म ढुक्क थिएँ। कोरोना भाइरसको संक्रमण देखिएका स्थान वा जोखिममा रहेका क्षेत्रमा कसरी किटनाशक औषधि छर्किने काम हुन्छ वा अन्य सुरक्षाका उपायहरु अपनाइन्छ भन्ने विषयमा पनि म जानकार नै छु।
त्यसकारण म्यासेन्जरमार्फत मलाई सन्देश पठाउने र जिज्ञासा राख्ने सबैलाई यी दुवै सूचना गलत हो भनिदिएको थिएँ।
तर, ती सूचना यसरी भाइरल भइसकेका थिए कि उक्त विषयमा सम्बन्धित निकायसँग आधिकारिक जानकारी लिएर म कार्यरत स्वास्थ्यखबर डटकमबाट समाचार नै बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगें। किनकी, यी दुई सन्देश गलत हुन् भन्ने विषयमा नेपाल सरकारबाट कुनै पनि आधिकारिक जानकारी आएको थिएन।
नर्भिक अस्पतालका अधिकारीले उक्त विषय गलत भएको जानकारी दिएपछि हामीले समाचार बनाएर प्रकाशित गर्यौँ। त्यसपछि नेपाली सेनालाई पनि उक्त विषयमा सोध्यौँ। सेनाले आधिकारिक रुपमा प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने बतायो। त्यसको केही समयपछि सेनाले पनि उक्त विषय गलत रहेको विज्ञप्ति सार्वजनिक गर्यो।
त्यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १७ जनाको कोरोनाका कारण मृत्यु भएको र प्लाष्टिकमा बेरेर पशुपतिमा लगेर जलाइएका जस्ता भ्रामक भिडियो सामाजिक सञ्जालमै फैलिएको थियो।
मेरो पहुँचसम्म आइपुगेका र बढी नै चर्चा पाएका केही गलत सूचनालाई मैले सन्दर्भमा लिएको हुँ। यसका अतिरिक्त कोरोनासँग जोडिएका थुप्रै गलत विषयहरु सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यमबाट प्रवाह भइरहेका हुन सक्छन्।
तर, यी र यस्ता विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मौन छ। गलत र अफवाह फैलिरहेको समयमा स्वास्थ्य मन्त्रालय सक्रिय हुनुपर्ने हो। जसरी सामाजिक सञ्जालमार्फत कोरोना भाइरससँग सम्बन्धित गलत सन्देशहरु भाइरल भइरहेका छन्, ठिक त्यसैगरी स्वास्थ्य मन्त्रालयले पनि आफ्नो आधिकारिक फेसबुक, ट्विटर तथा अनलाइनमार्फत ती खबर गलत हुन् भन्नुपथ्र्यो। तर यस विषयमा स्वास्थ्य मन्त्रालय चुकेको छ।
सरुवा रोगका क्षेत्रमा काम गरिरहेका विज्ञहरु महामारीको यस्तो समयमा सही सूचनालाई सामाजिक खोपका रुपमा व्याख्या गर्छन्। तर स्वास्थ्य मन्त्रालयले यो विपद्को घडीमा सही सूचना दिएर सामाजिक खोप लगाउने काम समेत गर्न सकेको छैन।
यो समयमा सबैभन्दा बढी सक्रिय स्वास्थ्य मन्त्रालय नै हुनुपर्ने हो। हरेक दिन मन्त्रालयले कोरोनाका क्षेत्रमा भइरहेका कामकारबाहीका विषयमा आधिकारिक सूचना वा मिडिया बिफ्रिङ गर्नुपथ्र्यो। तर मन्त्रालय आफैँ कहाँ छ भनेर खोज्नुपर्ने अवस्था छ।
कोरोना भाइरसका विषयमा अहिले थुप्रै जिज्ञासा छन्, डर छ, त्रास छ। संकटको यो घडीमा नागरिकहरु सरकारका तर्फबाट हरेक दिन अधिकारिक सूचना चाहिरहेका छन्।
गर्नुपर्ने काम अरु पनि छन्।
अहिले विभिन्न नाकाबाट नेपाल भित्रिनेको भीड लागेका खबरहरु सार्वजनिक भइरहेका छन्। उनीहरुको पर्याप्त परीक्षण भइरहेका छन् वा छैनन् भन्ने विषयमा पनि अन्योल छ। जसले मानिसमा संक्रमण फैलिने हो कि भन्ने डर बढेका छ। विमानस्थलमा हुने कोरोनासम्बद्ध जाँचको विषयमा पनि अनेकथरी खबर आउने गरेका छन्। यस्ता विषयमा आधिकारिक तथ्यांक र कामकारबाहीको यथार्थ जानकारी सार्वजनिक गर्नु सरकारी निकायको दायित्व हो।
यस्तो समयमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई २४सै घन्टा सक्रिय हुनुपर्ने हो। उक्त इकाईले प्रविधिको प्रयोग गर्दै कम्तीमा पनि हरेक घन्टा वा निश्चित समयको अन्तरमा आधिकारिक सूचना सार्वजनिक गर्न आवश्यक छ। तर उक्त इकाई दुई दिन पुराना सूचना राखेर दायित्व पूरा गरेको भ्रम पालिरहेको छ।
सचेतना अभिवृद्धि गर्ने काममा मन्त्रालयले समय सुहाउँदो प्रविधि प्रयोग गर्न सकेको छैन। बरु नागपञ्चमीमा नागको फोटो टाँसेजस्तो आफ्ना कार्यालय र हेल्थ डेस्कमा फ्लेक्स टाँसेर मख्ख परिरहेको छ।
स्वास्थ्य मन्त्रालयले अलिकति सक्रियता र रचनात्मकता देखाउने हो भने अफवाह फैलिन नदिन र मानिसमा डर न्यूनीकरण गर्न सहयोग पुग्ने थियो। समयमै सही सूचना प्रवाह पनि हुने थियो।
तर, स्वास्थ्य मन्त्रालय र त्यसको जिम्मा लिएका मन्त्री के गरिरहेका छन् त? उत्तर उत्साहित बनाउने खालको पाइँदैन।
स्वास्थ्यमन्त्रीबाट हरेक दिन सरकारबाट भइरहेका काम, प्रगति र रणनीतिबारे ब्रिफिङ हुनुपर्ने अपेक्षा गर्न सकिन्छ। तर, स्वास्थ्यमन्त्रीसँग जोडिएका कस्ता सामग्री सार्वजनिक भइरहेका छन्? उनी भन्दैछन्, ‘पाहुना आइरहेका छन् घरमा, आज नबोलौं।’
गलत सूचनाको भाइरलबाट आम मानिसलाई जोगाउनुपर्ने मन्त्री नै भाइरल भइरहेका छन्। मन्त्रीको घरमा पाहुना आउन पाउँछन्। तर त्यसले उनको जवाफदेहितालाई असर गर्नुहुँदैन। गर्छ भने मन्त्रीले पाहुनाको मानमनितो नै राख्दै गरुन्। तर जनताले जवाफदेहिताको विकल्प पाउनुपर्छ।
यद्यपि, रचनात्मक काम गर्न र सही सूचना प्रवाह गर्ने संयन्त्र बनाउन साह्रै ढिलो भने भइसकेको छैन। उसै पनि राम्रो काम जहिल्यै गरे पनि हुन्छ भन्ने लोकोक्ति नै छ।
कोरोना रोकथामका लागि नागरिकले के गर्ने? कस्तो अवस्थामा कसबाट सूचना लिने? प्रयोगशाला परीक्षण के–कसरी भइरहेको छ? नाकाबाट छिरेका कति नागरिकको स्वास्थ्य परीक्षण भयो? कोरोना परीक्षण कहाँकहाँ हुन्छ? उपचारको तयारी कहाँ के हुँदैछ? लगायतका विषयमा सरकारका तर्फबाट भइरहेका कामका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट नै हरेक दिन आधिकारिक सूचना दिने काम किन नगर्ने? सामाजिक सञ्जालबाट हरेक दिन मन्त्रीले प्रत्यक्ष जानकारी किन नदिने?
मन्त्रीबाट नै आधिकारिक सूचना हरेक दिन आउने हो भने मिडिया मात्र होइन, आम नागरिक पनि उक्त सूचना आउने समय पर्खिएर बस्ने छन्। जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दा धेरैले उनको सम्बोधनको समय कुरेर बसेका थिए। त्यसैगरी स्वास्थ्य मन्त्रीले दिने मिडिया बिफ्रिङ सुन्न पनि कुरेर बस्ने छन्।
स्वास्थ्य मन्त्रालयले यो विषयलाई गम्भिरतापूर्वक लिन आवश्यक छ। कोरोनाको नियन्त्रण, व्यवस्थापन तथा रोकथामका लागि गर्नुपर्ने धेरै काममा स्वास्थ्य मन्त्रालय चुकिसकेको छ। तर अब नागरिकलाई आधिकारिक जानकारी दिने विषयमा भने मन्त्रालय नचुकोस्। सही सूचना दिएर सरकारले नागरिकलाई सामाजिक खोपको काम गरोस्।