समाचार

दुर्गममा स्वास्थ्यकर्मी : पिठ्यूँमा ‘स्पिकर’ बोकेर कोरोनाबारे सचेतना

महेश न्यौपाने

रोल्पा- कोरोना भाइरस (कोभिड १९) को गति यस्तो छ कि, थाहा छैन यो कुनबेला कहाँ पुग्छ। यसबाट जोगिने अहिलेसम्म एउटै मात्र उपाय छ-सचेत हुने। सहरमा सञ्चारको सुविधा र सामाजिक सञ्जालकै सही सूचनाले पनि धेरैले के गर्न हुन्छ र के हुँदैन भन्ने बुझिरहेकै छन्। तर दुर्गम गाउँको अवस्था त्यस्तो छैन। 

स्थानीयहरु रोजगारीका लागि खाडीका देशदेखि, भारत तथा काठमाडौंका ईंटा भट्टासम्म पुगेका रोल्पा लुंग्री गाउँपालिकामा भने सचेतनाको स्तर अहिले फेरिएको छ। कोरोना भाइरसको जोखिमबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने यहाँका बासिन्दाले हरेक दिन सहि सूचना सुनिरहेका छन्। 

त्यसमा विशेष बनेका छन्- लुंग्री गाउँपालिका-१ पाङमा रहेको स्वास्थ्य चौकीका अहेब दामोदर पुलामी। 

बिहान उठ्नेवित्तिकै उनी पिठ्यूमका स्पिकर बोकेर कोरोनाबारे सचेत रहन माइकिङ गर्दै हिँड्न सुरु गर्छन्। मोटरसाइकल चल्ने केही बाटोमा भने उनलाई वडाअध्यक्ष मोति पुनले साथ दिन्छन्। हिँड्नुपर्ने बाटोमा उनी एक्लै निस्किन्छन्।

बिहान निस्किएका उनी ११ बजे भने स्वास्थ्य चौकी नै पुग्छन्। त्यहाँ उपचारका लागि आएका रहेकलाई उसैगरी कोरोना भाइरसबारे बताउँछन्। सचेत र सुरक्षित रहन आग्रह गर्छन्। दिउँसो ३ बजेसम्म स्वास्थ्यचौकीमा काम गरेपछि बेलुका ८ बजेसम्म उनी उसैगरी स्पिकर बोकेर गाउँ डुल्छन्।  

दाङको घोराही उपमहानगरपालिका घर भएका दामोदर रोल्पामा स्वास्थ्य सेवाको लागि खटिएको पनि १० वर्ष पुगिसक्यो। उनी २०६७ सालमा अहेब पदमा स्थायी नियुक्ति पाएर रोल्पाको दुर्गममध्येको एक साविकको गाम गाविसमा खटिएका थिए। गामबाट बुढागाउँ हुँदै उनी अहिले पाङ स्वास्थ्य चौकीमा कार्यरत छन्। 

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको बेलामा मात्रै होइन यसअघि पनि दामोदरले स्वास्थ्यकर्मीले चाहेमा जनताको जीवन फेरिन सक्छ भन्ने उदाहरण दिइरहेकै थिए। 

कोरोनाको जोखिम यहाँ छ, यहाँ छैन भन्न सक्ने स्थिति अहिले छैन। चीनको वुहानबाट सुरु भएको भाइरसले विश्व भ्रमण गरिसक्यो। त्यस्तो जोखिममा रोल्पाका गाउँसम्म पनि परेकै छन्। त्यसैले त दामोदर जस्ता स्वास्थ्यकर्मी दिन रात नभनी त्यसको जोखिम कम गर्न सूचना प्रवाहमा खटिएका छन्। 


‘अहिलेको आवश्यकताअनुसार नै चेतनामूलक कार्यक्रम संचालन गरिरहेका छौँ, हाम्रो स्वास्थ्य चौकीको सेवाक्षेत्र भित्रका ठूलो संख्यामा मानिसहरु रोजगारीका लागि खाडी, भारत तथा काठमाडौँसम्म पुगेकाले र उनीहरु भर्खरै गाउँ फर्किरहेकाले पनि यहाँ जोखिम बढी छ’ दामोदरले सुनाए। 

‘साविकका सबै वडामा यातायातको सुविधा छैन। यातायातको सुविधा भएको वडामा वडाध्यक्ष मोति पुनले सघाउनुहुन्छ, सडक नपुगेको ठाउँहरुमा स्पिकर बोकेर म एक्लै निस्कन्छु’, दामोदर भन्छन्, ‘साविकको ३ नम्बर वडामा एक जना स्वास्थ्यकर्मी खटाएका छौँ,  उहाँले त्यहाँ बसेर सचेत बनाउन सूचना दिनुहुन्छ, बाँकी वडामा म आफै पुगिरहेको छु।’

साविकाको पाङ गाविस ठूलो भौगोलिक क्षेत्र र दुर्गम भएकाले एउटा वडाबाट अर्को वडामा जान घण्टौं समय लाग्छ।  

दामोदरले स्वास्थ्य सेवाको सुरुवात गरेको रोल्पाको गाम गाविस सदरमुकाम लिवाङबाट २८ कोषको दुरीमा पर्छ। उनी त्यहाँ पुग्दा जिल्ला स्वास्थ्य कार्यालयले आफ्ना सबै स्वास्थ्य संस्थाहरुको कार्यसम्पादनका आधारमा बर्सेनी स्तर निर्धारण गर्दा गामको स्वास्थ्य चौकी ५१औँ नम्बरमा थियो। 

जिल्लाकै सबैभन्दा पुछारमा रहेको स्वास्थ्य संस्थामा काम गर्नु दामोदरका लागि चुनौतीपूर्ण काम बनेको थियो। मगर खामभाषी जनताको बसोबास रहेको गामका अधिकांश महिलाले नेपाली खस भाषा राम्रोसँग बुझ्दैन थिए। दामोदर खाम भाषा नबुझ्ने। समस्या सञ्चारमा नै परिदियो। 

यतिसम्म कि असार साउनको बर्खे बिदामा विद्यालय बन्द हुँदा स्वास्थ्य चौकीसमेत बन्द गर्ने चलन जस्तो भएको थियो। त्यसरी स्वास्थ्य संस्था नै बन्द गर्नु राम्रो नभएको भन्दै दामोदरले सबै समय स्वास्थ्य चौकी खुला राख्न सुरु गरे। हरेक महिनाको १५ गते स्वास्थ्य  संस्थामा मात्रै संचालन हुँदै आएको खोप सेवा थप पाँच वटा केन्द्रमा विस्तार गरे। 

दामोदरले नै तत्कालिन गाविससँग समन्वय गरेर एक जना अनमी भर्ना गरी सुरक्षित मातृत्व कार्यक्रम सुरु गरे। २०६९ सालमा गाम गाविसलाई जिल्लाकै पहिलो पूर्ण खोपयुक्त  गाविसको रुपमा घोषणा गर्न सफल भए। जिल्ला विकास समितिसँग समन्वय गरेर वर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य संस्थामा प्रसुती गर्ने कामको थालनी गरे। गाम स्वास्थ्य चौकीमा सुरक्षित मातृत्व शून्य प्रतिशत थियो, उनले गरेको पहल स्वारुप उनी त्यहाँ रहँदा सुरक्षित मातृत्व ३४ प्रतिशत पुगेको थियो। उनले काम गरेको चार वर्षमा गाम स्वास्थ्य चौकीको स्तर २१ औं तहमा उक्लियो।

दामोदरले केही समय रोल्पाको सुगम भनिएको बुढागाउँ स्वास्थ्य चौकीमा काम गरे। लगत्तै पुनः अर्को दुर्गम गााविसमा रहेको स्वास्थ्य चौकी पठाइयो, रोल्पाको पाङ स्वास्थ्य चौकी।

उनी पाङ स्वास्थ्य चौकी आउँदा अवस्था पहिलेको गाम स्वास्थ्य चौकीको जस्तै थियो। अधिकांश वडामा आमा समूह गठन भएका थिएनन्। भएका पनि कागजमा सीमित थिए। एकाघरका धेरै सदस्य समावेश गरेर आमा समूह गठन गरिएको थियो। 

जिल्ला स्वास्थ्य कार्यालयमा प्रगती विवरण बुझाउनका लागि मात्रै गठन गरिएका ती आमा समूहहरु निस्कृय थिए। दामोदरले नै सबै वडाहरुमा आमा समूह गठन गरे। त्यसपछि पनि मौसमी बसाईंसराइले संस्थागत प्रसूती, पूणै खोप, गर्भवती जाँच र सरसफाइका काममा निकै चुनौती थियो। 

त्यसबेला आर्थिक वर्ष ०७०/०७१ मा पाँच जना मात्रै संस्थागत सुत्केरी भएको थियो। प्रसुती सेवाको कुनै कार्यक्रम र प्रचार प्रसार थिएन। सक्नेले स्वास्थ्यकर्मी घरमै बोलाएर प्रसुती सेवा लिन्थे। सेवा लिए वापत स्वास्थ्यकर्मीलाई पैसा दिनु पर्ने चलन थियो। 

दामोदर त्यहाँ पुगेपछि घरमा नै प्रस्तुति गराउने काम पूर्ण रुपमा बन्द गरेर संस्थागत प्रसुतीलाई प्रवद्र्धन गरे। पाङ स्वास्थ्य चौकीमा रहेको पाँच प्रतिशत संस्थागत सुत्केरीलाई निकै बढाए। पाङ अहिले पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भइसकेको छ। यस्तै राम्रा कामको निरन्तरतका कारण उनले २०७६ साल पुसमा पाङलाई संस्थागत प्रसुतीयुक्त वडा घोषणा गराउन सफल भएका थिए।

पहिले त गर्भवती जाँचको अवस्था पनि उस्तै थियो। आर्थिक वर्ष ०७०/०७१ मा तीन जना गर्भवतीले मात्रै नियमानुसार चार पटक गर्भजाँच गराएका थिए । अघिल्लो आर्थिक वर्षमा गर्भवती रहेका १५४ जना सबैले जाँच  गराएकाले पाङ स्वास्थ्य संस्थाले पूर्ण संस्थागत प्रसुती गराउन सफल भएको थियो।

दामोदरले नै बालविवाह न्यूनीकरणका लागिसमेत अभियानको थालनी गरे। घरभित्रको धुँवामुक्त गाविस घोषणाका लागि सुधारिएको चुल्हो कार्यक्रम, पूर्ण सरसफाइ जस्ता कार्यक्रम निरन्तर संचालन भइरहेका छन्। 

तर अहिले ती सबै कार्यक्रम थाँति राखेर उनी कोरोना सचेतनामा लागिपरेका छन्। सरसफाइमा ध्यान दिने र एकआपसमा दुरी बनाएर सजग रहन गाउँलेलाई भनिरहेका छन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने