काठमाडौं- सरकारले वैशाख ३ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रीपरिषद् बैठकले लकडाउनको अवधि तेस्रो पटक बढाएर वैशाख ३ गतेसम्म कायम गर्ने निर्णय गरेको जानकारी दिइएको छ।
यसअघि गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाउने तयारी भइरहेकाे जानकारी दिएका थिए। सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनः लकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो।
यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो। कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन)को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ।
मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको थियो।