भान्सामै औषधी

क्यारोटिनोइड्स : स्वस्थ जीवनका लागि अत्यावश्यक सूक्ष्म पोषक तत्व

डा नमराज धामी

औषधि विज्ञानका पिता भनेर चिनिएका ऐतिहासिक ग्रिक चिकित्सक हिप्पोक्रेट्सको बहुचर्चित एउटा भनाइ छ, 'खानालाई तिम्रो औषधि बनाऊ र औषधिलाई तिम्रो खाना' अर्थात् सम्पूर्ण पोषणयुक्त स्वस्थ खाना खाऊ।

क्यारोटिनोइड्स हाम्रो आहारको माध्यमबाट प्राप्त हुने अत्यावश्यक सूक्ष्म पोषक तत्वहरु हुन्, जसले शरीरमा हुने विभिन्न जैव रासायनिक प्रतिक्रिया तथा कार्यहरू सम्पादन गर्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। सबै क्यारोटिनोइडहरु बोसोमा घुलनशील प्राकृतिक रसायनहरू हुन्।

आँखाको ज्योति स्वस्थ राख्नको लागि आवश्यक पर्ने भिटामिन 'ए' को जैविक संश्लेषण गर्न नभइनहुने बिटा (क्यारोटिन बी) पोषणका दृष्टिले अत्यावश्यकीय क्यारोटिनोइड परिवारको एक सदस्य हो। बिटा क्यारोटिन बाहेक विभिन्न स्रोतहरूमा पाइने फाइटोइन, ल्युटिन, जियाजेंथिन, लाइकोपिन, क्रोसिन, एस्टाजेंथिन आदि पनि हाम्रो शरीर स्वस्थ राख्न आवश्यक पर्ने क्यारोटिनोइडहरु हुन्।

क्यारोटिनोइडहरु उत्कृष्ट एन्टिअक्सिडेन्टको कार्य गर्ने भएकोले विभिन्न रासायनिक प्रतिक्रियाहरू सम्पन्न भइरहँदा शरीरमा उत्पन्न हुने अक्सिडेटिभ स्ट्रेस व्यवस्थापनमा समेत अत्यावश्यक हुन्छन्। त्यस्तैगरी शरीरमा क्यारोटिनोइडहरु उचित मात्रामा रहेमा क्यान्सर, मुटु रोग, मधुमेह र बुढ्यौलीका कारणले हुने आँखाको ज्योति ह्रास तथा मोतिबिन्दु जस्ता स्वास्थ्य समस्याहरूको जोखिम न्यूनीकरण गर्नका साथै मस्तिष्कको प्रभावकारी कार्य सम्पादनमा सहयोगी हुने तथ्य विभिन्न अनुसन्धानहरूले पुष्टि गरिसकेका छन्।

महिला, भ्रुण, तथा शिशुको नियमित वृद्धि तथा विकासका लागि समेत क्यारोटिनोइडहरुको महत्वपूर्ण भूमिका रहन्छ। तसर्थ, सबै उमेर समूहका मानिसहरूको शरीर स्वस्थ राख्न प्रशस्त मात्रामा विभिन्न क्यारोटिनोइडहरु प्राप्त हुने भोजन गर्नु अपरिहार्य हुन्छ।

सर्वप्रथम सन् १८३१ मा गाजरमा बिटा-क्यारोटिन रहेको तथ्य पत्ता लागेको थियो। त्यसको लगभग १०० वर्षपछि सन् १९३० तिर बिटा-क्यारोटिन र भिटामिन एको रासायनिक संरचना पत्ता लागेको थियो। हालसम्म विभिन्न ७०२ जैविक स्रोतहरूबाट ११८३ क्यारोटिनोइडहरु पत्ता लागि सकेका छन्।

क्यारोटिनोइडहरु मुख्यतयाः प्रकाश संश्लेषण गर्ने बोटबिरुवा तथा लेउहरुमा जैविक संश्लेषण हुने गर्छन्। त्यसबाहेक विभिन्न ब्याक्टेरिया र ढुसीहरुमा पनि क्यारोटिनोइडहरुको जैविक संश्लेषण हुने तथ्य फेला परेको छ। तर केही मात्र किट बाहेक प्राणी जगत अन्तर्गतका मानिस लगायत कुनै पनि जीवहरूले क्यारोटिनोइडहरुको जैविक संश्लेषण गर्न सक्दैनन्।

आफ्नै शरीरमा क्यारोटिनोइडहरुको जैविक संश्लेषण गर्न नसक्ने मानिस लगायतका धेरै जीवजन्तुहरूले भने आफ्नो शरीरमा आवश्यक पर्ने क्यारोटिनोइडहरुको परिपूर्ति वनस्पति तथा मासु जन्य भोजनका माध्यमबाट गर्ने गर्छन्। मांसाहारी प्राणीहरुले भने मासुजन्य भोजन नै क्यारोटिनोइडहरुको मुख्य स्रोत हो भने मानिसहरूले विभिन्न जनावरहरूबाट प्राप्त हुने दूध तथा दुग्धजन्य खाद्य वस्तुहरूको सेवन बाट पनि क्यारोटिनोइडहरु प्राप्त गरिरहेका हुन्छन्। यसका अतिरिक्त मानिस लगायत अन्य जनावरहरूको आन्द्रामा पाइने विभिन्न ब्याक्टेरियाहरुले पनि क्यारोटिनोइडहरुको जैविक संश्लेषण गरी आन्तरिक पोषण प्रदान गर्ने गरेका तथ्यहरू समेत पुष्टि भइसकेका छन्।

बोटबिरुवाहरुमा क्यारोटिनोइडहरुको जैविक शश्लेषण कोषिकाभित्र पाइने एक किसिमको विशिष्ट कोषकीय संरचनाभित्र हुन्छ, जसलाई प्लास्टिड भनिन्छ। हरियो पात तथा लेउहरूमा हुने प्लास्टिड लाई क्लोरोप्लास्ट भनिन्छ भने विभिन्न रङ्गका फल तथा फूलहरूमा हुने प्लास्टिडहरुलाई क्रोमोप्लास्ट भनिन्छ। क्यारोटिनोइडहरु विभिन्न रङ्गका हुने गर्छन्। त्यस कारण क्यारोटिनोइडहरु बढी मात्रामा भण्डारण हुने अंगहरु सोही अनुरूप रङ्गीन देखिने गर्दछन्।

उदाहरणका लागि सुन्तला रङ्गको गाँजर, सुन्तला, पाकेको फर्सी, आदिमा बिटा-क्यारोटिन अत्यधिक मात्रामा हुन्छ, रातो रङ्गको गोलभेडा तथा खरभूजामा लाइकोपिन हुन्छ। पहेँलो रङ्गको सयपत्रीको फूलमा ल्युटिन र सुनौलो रङ्गको मकैको दानामा जियाजेंथिन हुन्छ। त्यस्तै बोटबिरुवाहरुको हरियो पातहरूमा पनि ल्युटिन, बिटा-क्यारोटिन र जियाजेंथिन लगायतका क्यारोटिनोइडहरु हुन्छन्। तर फरकफरक वनस्पतिहरूले फरकफरक किसिमका क्यारोटिनोइडहरु संश्लेषण तथा भण्डारण गर्ने गर्दछन्।

बालकदेखि वृद्ध अवस्थासम्म हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि प्रशस्त मात्रामा पोषक तत्वहरु रहेको भोजन गर्नु अत्यावश्यक हुन्छ। क्यारोटिनोइडहरुले शरीरमा घटित हुने विभिन्न जैविक गतिविधिहरू सूचारु राख्दै शरीरलाई विभिन्न रोगहरूबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने हुँदा यथेष्ट मात्रामा क्यारोटिनोइड पाइने खाद्य वस्तुहरूको सेवन गर्नुपर्छ।

नियमित रूपमा विभिन्न रँगका मौसम अनुसारका ताजा फल (जस्तो सुन्तला, मौसमी, जुनार, आँप, केरा, मेवा, खरभुजा, आरु, आदि), तरकारी (जस्तो गाजर, गोलभेडा, पाकेको फर्सी, भेडेखुर्सानी, सुनौलो मकै, आदि), कन्दमूल (सखरखण्ड, तरुल, आदि), तथा हरियो सागपातहरूको सेवन गर्नाले हाम्रो शरीरमा आवश्यक पर्ने क्यारोटिनोइडहरुको परिपूर्ति भइरहन्छ र शरीर स्वस्थ रहन मद्दत पुग्छ।

त्यस्तै माछा, मासु, अण्डा, दूध र दूधजन्य खाद्य पदार्थहरू पनि क्यारोटिनोइडहरु प्राप्त गर्ने भरपर्दा स्रोतहरु हुन्। क्यारोटिनोइडहरु सबै उमेर समूहका मानिसहरूका लागि उत्तिकै महत्वपूर्ण भए पनि बालबालिका तथा वृद्धवृद्धाहरूका लागि भने अपरिहार्य पोषक तत्वहरु मानिन्छन्।

- डा धामी पोखरा विश्वविद्यालयमा कार्यरत छन्।
 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar
ad
ad
ad
ad

पढ्नै पर्ने