काठमाडौं- थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले नर्सलाई हटाएको भन्ने समाचार गलत रहेको बताएका छन्।
सामाजिक सञ्जाल तथा केही मिडियाले अस्पतालले २ सय नर्सलाई सेवाबाट हटाएको भन्ने समाचार प्रकाशित गरेका थिए। उक्त समाचारको खण्डन गर्दै अध्यक्ष चौधरीले अस्पताललाई बदनाम गराउन गलत हल्ला चलाइएको बताए।
'नर्सहरुलाई सेवाबाट हटाउने समाचार गलत र मनगढन्ते हो,' अध्यक्ष चौधरीले भने, 'यस्ता गलत समाचारमा विश्वास नगर्न र दिग्भ्रमित नहुन सबैमा अनुरोध गर्दछु।'
अध्यक्ष चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त समाचार प्रमाणित गर्न पनि भनेका छन्।
'नर्भिक अस्पताललाई बदनाम गर्न पटकपटक प्रयास भएको छ,' उनले भने, 'यसअघि पनि कोरोनाको उपचारको विषयमा पनि अफाह फैलाइएको थियो।'
उनका अनुसार अस्पतालमा हाल डाक्टर, नर्ससहित ९ सयभन्दा बढी कर्मचारी कार्यरत रहेका छन्।
'अस्पताललाई चिकित्सक, नर्सलगायत अन्य कर्मचारीहरु सधैं चाहिन्छ,' उनले भने, 'नर्स हटाएर अस्पताल चलाउने कुरा सोच्न पनि नसकिने कुरा हो। अहिलेको विषम परिस्थितिमा कर्मचारी हटाउनु समस्याको समाधान होइन।'
चौधरीले कोरोना भाइरसको संक्रमण नेपालमा देखिएपछि सरकारलाई केही दिनअघि मात्र ६० लाख रुपैयाँ बराबरको मेडिकल सामग्री र ५० लाख रुपैयाँ सहयोग गरेका छन्।