काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधेको जनाएको छ।
कोरोना रोकथामको अभियानमा सहयोग पुर्याउन मन्त्रालयमा बोलाइएको मात्र पत्र काटिएको मन्त्रालयलका सह सचिव रघुराम विष्टले बताए। बाहिर आएजस्तो डा पुनलाई स्पष्टिकरणका लागि पत्र नकाटिएको उनले जानकारी दिए।
यता, डा पुनले पनि मन्त्रालयले आफुसँग स्पष्टिकरणका लागि नभई कोरोना रोकथामको अभियानमा सहयोग गर्न बोलाएको स्पष्ट पारेको छन्।
डा पुनले आज विज्ञप्ति जारी गरी कोभिड १९को रोकथामका लागि मन्त्रालयले सञ्चालन गरेका अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित भएको बताएका छन्। मन्त्रालयमा उपस्थित हुने विषयमा आज नै पत्र प्राप्त भएको उनले बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, पत्रअनुसार मलाई कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकाले आजै मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु।