काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपिए) ले एक हजार २ सय व्यक्तिगत सुरक्षा कवच (पिपिई) किट्स सरकारलाई हस्तान्तरण गरेको छ।
सोमबार नेपाल, चीन र युएनएफपिएबीचको दक्षिण–दक्षिण साझेदारी पहल अन्तर्गत चीन सरकारबाट उपलब्ध किट्सहरु प्रदान गरिएको युएनएफपीएले जनाएको छ।
सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शुकभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेको पीपीई किट्स तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको रहेको बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले कीट्स ग्रहण गर्दै किट्सहरु सही सयममा आइपुगेको र कोभिड–१९ को महामारी प्रतिकार्यमा महत्वपूर्ण सहयोग पुग्ने बताए।
नेपालका लागि युएनएफपिएका देशीय प्रतिनिधि लुब्ना बाकीले नेपालमा कोभिड–१९ सङ्क्रमणको बढ्दो संख्या पुष्टि भएसँगै धेरै मानिसहरुमा परीक्षण र उपचारको आवश्यकता भएकाले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको रक्षा गर्नु महत्वपूर्ण भएको प्रतिक्रिया दिइन्।
युएनएफपिएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ।
पिपिई किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको दौरान क्वारेन्टिनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकताहरू सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरेको जनाएको छ।
यी किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीहरुका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन्।