प्रज्ञान बस्नेत
कोरोना भाइरसले गर्दा संसारभरि नै त्रासको वातावरण छ। कोरोना भाइरस विरुद्धको लडाईंमा नायकको भूमिका निर्वाह गरिरहेका स्वाथ्यकर्मीको विश्वव्यापी प्रशंसा भइरहेको अवस्थामा नेपालको अवस्था भने त्यसको ठिक विपरीत छ।
स्वाथ्यकर्मी सरकार र प्रशासनबाट पुरस्कृत हुनुपर्ने बेलामा तिरस्कृत भइरहेका छन्। कहिले स्वाथ्यकर्मीको लाइसेन्स खारेज गर्ने धम्की दिइन्छ भने कहिले पुलिस प्रशासनद्वारा हातपात गरिन्छ।
राज्यले स्वास्थ्यकर्मीको लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन सक्दैन र त्यसको परिणाम स्वरूप सुस्त भएको नेपालको स्वास्थ्यप्रणालीको सम्पूर्ण दोष चाहिँ स्वास्थ्यकर्मीमाथि थोपरिन्छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत रामकुमार यादवमाथि वैशाख १ गते सिरहा नगरपालिका(१७ मा नेपाल प्रहरीले गैरकानुनी रुपमा हातपात गरेको छ। एक मेडिकल विद्यार्थीको रुपमा आफ्ना चिकित्सक दाइको रोहबरमा स्थानीय दीर्घरोगीलाई औषधि प्रयोगको सही तरिका सिकाइरहँदा भएको यस घटना उदेकलाग्दो छ।
अझ कुटाइ खाने रामकुमार विरुद्ध नै मुद्दा दर्ता गर्ने प्रयासले हुनेवाला एक जना डाक्टरको भविष्य नै संकटमा पर्नसक्ने देखिएको छ। साथै यस घटनापछि भएको झडप र त्यसपछि उक्त गाउँ नै प्रहरीबाट डराएर विस्थापित भएको घटनाले प्रहरी जनताको सुरक्षालाई भन्दा पनि आतंक सिर्जना गर्न उन्मुख भएको प्रष्ट देखाउँछ।
यसका साथै त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि भएको कुटपिटपछि कारबाहीको सट्टा सरुवा मात्र गरिनुले पनि नेपाल सरकार स्वास्थ्यकर्मीको सुरक्षाप्रति कति गम्भीर छ भन्ने स्पष्ट पार्छ।
कुनै पनि चिकित्सकको काम बिरामीको उपचार मात्र गर्ने नभएर जनचेतना फैलाउने पनि हो। त्यही काम गर्दागर्दै एक चिकित्सक, जसको काम नै सरुवा रोग विशेषज्ञको रुपमा जनचेतना फैलाउने हो उसैलाई कारबाही स्वरूप पत्र काट्ने कदमले धेरै चिकित्सकको मनोबल गिराउने काम गरेको छ।
माहामारीको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्नुपर्छ। हो, यो महामारी नियन्त्रणमा सरकार, नागरिक समाज, सुरक्षाकर्मी सबैको भूमिका छ तर आफ्नो ज्यान नै जोखिममा राखेर बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीलाई समयमा कदर गर्न नसक्ने हो र उनीहरुको सुरक्षा गर्न नसकेर मनोबल मात्र गिराउने काम गरियो भने यसको भयाभह परिणाम हामी सबैले भोग्नुपर्ने हुन्छ। त्यसैले बेलैमा सचेत बनौँ।
-(बस्नेत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन्।)