काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालले पिसिआर प्रविधिबाट कोरोना भाइरसको परीक्षणका लागि भेरिफिकेशन ल्याबको मान्यता पाएको छ।
अस्पतालले पिसिआर भेरिफिकेशन ल्याबको मान्यता पाएसँगै कोही व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएमा थप परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता हटेको छ।
वैशाख ७ गतेबाट पिसिआर प्रविधिबाट परीक्षण सुरु गरेको अस्पतालले भेरिफिकेशन ल्याबको मान्यता पाएको हो।
भेरिफिकेशन ल्याबका लागि हुनुपर्ने विभिन्न मापदण्ड पुरा गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यता पाएको अस्पतालका प्रमुख कन्सल्टेण्ट डर्माटोलिजिस्ट डा. बद्री चापागाईले बताए।
उनले भने, ‘पहिले कोरोनाको पुष्टि गर्न थप परीक्षणका लागि काठमाडौं पठाउनुपथ्र्यो। तर अहिले अस्पतालमै सुरु भएपछि काठमाडौं पठाउनु पर्दैन। हामीले गरेको परीक्षण नै अन्तिम नतिजा हुन्छ।’
ल्याब सञ्चालनका लागि मापदण्ड अनुसार आवश्यक पर्ने उपकरण, प्राविधिक जनशक्ति भएको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिने परीक्षण जस्तै विश्वसनीय भएको भन्दै मन्त्रालयले मान्यता दिएको उनले बताए।
अस्पतालले मान्यता पाएसँगै बिरामीलाई उपचारमा सहज हुने उनले बताए। कोरोनाको पुष्टि अस्पतालमै हुने भएपछि रिर्पोट छिटो आउने र उपचारमा सहज हुने छ।