जगदिश बुढा
जुम्ला- जुम्लाको हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। यहाँका बिरामीलाई अस्पतालसम्म आउजाउ गर्न निकै समस्या भइरहेको बेला हिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा सञ्चालनमा ल्याएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार आफ्नै एम्बुलेन्स आइपुगेपछि आकस्मिक सेवा प्रवाह गर्नका निकै सहज भएको छ। कोराना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण बिरामीको आवतजावत गर्न निकै कठिन भएको अवस्थामा यो सेवा सञ्चालनले निकै राहत मिलेको गाउँपालिका अध्यक्ष रजबहादुर शाही बताउँछन्।
उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो। अब नियमित रुपमा बिरामीको सेवा गर्न कुनै कठिनाइ हुनेछैन्।’
प्रमुख प्रशासकीय अधिकृत बुढा राजश्व छुट गरेर १० लाख बजेटमा पालिकाले एम्बुलेन्स खरिद गरेको बताउँछन्।
यो सेवा सञ्चालनले यहाँका जटिल प्रकृतिका बिरामीलाई जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज भएको छ। यहाँ एक वटा प्रथामिक स्वास्थ्य केन्द्रसहित तीन वटा स्वास्थ्य चौकी र चार वटा सामुदायिक स्वास्थ्य केन्द्र छन्। अहिले सबै स्वास्थ्य संस्थामा तीन महिनालाई पुग्ने औषधि भण्डारण गरिएको छ।
तर स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामीलाइ एम्बुलेन्सले पुर्याउनेछ । प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा निकै समस्या छ। हिमा गाउँपालिकाको पाचौं गाउँ सभाबाट एम्बुलेन्स खरिद गर्ने प्रस्ताव पारित भएको थियो।
हिमा गाउँपालिका जुम्लाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत हिमा गाउँपालिकामा मातृशिशु सुधारको लागि हरेक आमाहरुलाई सुरक्षित सुत्केरी सेवा प्रदान गर्न निशुल्क रुपमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो।