काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै जोरपाटीस्थित शंकरापुर अस्पतालले आफ्नो व्यवस्थापन गोकर्णेश्वर नगरपालिकालाई सुम्पेको छ।
अस्पताललाई अन्तरिम नगर अस्पतालका रुपमा रुपान्तरण गर्न नगरपालिकासँगको सहकार्यमा आगामी दुई महिनासम्मका लागि व्यवस्थापन गोकर्णेश्वर नगरपालिकालाई दिइएको हो।
यसका लागि अस्पताल र नगरपालिकाबीच सम्झौता भइसकेको छ।
स्वास्थ्य क्षेत्रको अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै नगरवासीको स्वास्थ्य समस्यालाई व्यवस्थित र समन्वयात्मक तवरले समाधान गर्न सकियोस भन्ने उद्देश्यले अस्पतालले नगरपालिकासँग सहकार्य गरेको हो।
आगामी दिनमा यदी कोरोनाका बिरामी बढ्दै गएर स्वास्थ्य मन्त्रालयले तोकेका अस्पतालले मात्र कोभिड १९का बिरामीको चाप धान्न नसक्ने अवस्था आएमा स्थानीय तहमा नै उचित व्यवस्थापन गर्न नगर अस्पतालमा रुपान्तरण गरिएको बताइएको छ। यसका साथै धेरैतिर ओपिडी सेवा बन्द रहेको अवस्थामा यस अस्पतालबाट जुनसुकै बिरामीलाई सेवा प्रवाह सुचारु राख्न सकिने अस्पतालका निर्देशक डा रमेश ढकालले जानकारी दिए।
उनका अनुसार स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको कामलाई समाजले नजिकबाट हेरिरहेको हुन्छ र यस्तो कार्यले खटिएर काम गर्न सबैमा उत्प्रेरणा जाग्छ।
कोभिड महामारीले गाँजेको अहिलेको अवस्थामा गोकर्णेश्वर नगरपालिकाले चालेका कदम अरु स्थानीय निकायका लागि समेत उदाहरण बन्न सकेको र यसमा यस क्षेत्रका स्वास्थ्य विज्ञहरुको सक्रियता र सहयोगले काम गरेको नगरप्रमुख सन्तोष चालिसेले बताए।
धेरै नगरवासीबाट अन्य स्वास्थ्य समस्याको समाधान हुन नसकेको दुखेसो व्यक्त भईरहदा नगरपालिकाले नै अस्पताल व्यवस्थापन गर्ने जिम्मेवारी बहन गर्दा स्थानीय जनसमुदायमा आत्मबिश्वास जाग्ने उनले बताए।
नगरपालिकाले गठन गरेको कोभिड टास्क फोर्सका संयोजक डा सुवास प्याकुरेलका अनुसार छुट्टै कोभिड व्यवस्थापन गाइडलाइन नै जारी गर्ने, मेडिकल सपोर्ट टीम बनाउने, कोभिड विशेष आइसोलेशन सेन्टर बनाउने, आफ्नै पहलमा अस्पताल व्यवस्थापन गर्ने, नगरपालिकाभित्रका सवै अस्पताल र एम्बुलेन्सको समन्वय गर्ने, निशुल्क एम्बुलेन्स संचालन गर्ने, घर घरमा फोन गरेर हेल्थ स्क्रिनिंग गर्ने, सर्भिलेन्स एप संचालनमा ल्याउने जस्ता कदमले नगरबासीमा उत्साह जागेको छ।

नगरपालिकासँगको सम्झौतापछि अन्तरिम नगर अस्पताल सञ्चालन गर्न नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनाइएको छ।
उक्त समितिमा अग्नी प्रसाद अधिकारी, डा सृजना पाण्डेय, डा सुवास प्याकुरेल, रामहरि सापकोटा, कुशल थापा, डा रमेश ढकाल, डा सतिकुमार देव र डा पवनराज चालिसे सदस्य रहेका छन्। डा सुवासप्रसाद आचार्य आमन्त्रित सदस्य छन्।
सम्झौतापछि शंकारापुर अस्पतालको नाम गोकर्णेश्वर शंकारापुर विशेष नगर अस्पताल राखिएको छ। सम्झौतामा नगरपालिकाका तर्फबाट नगरप्रमुख सन्तोष चालिसे र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि सापकोटाले हस्ताक्षर गरेका छन्।