बेइजिङ- कोरोना भाइरसको महामारी रोक्नका लागि चीनले विश्व स्वास्थ्य संगठनलाई थप ३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। गत मार्च ११ मा चीनले संगठनका लागि २ करोड डलर सहयोग गर्ने घोषणा गरिसकेको छ। योसँगै चीनले घोषणा गरेको सहयोग रकम ५ करोड डलर पुगेको हो।
विश्व स्वास्थ्य संगठनको भूमिका प्रभावकारी बनाउन चीनले यस्तो घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।
'संकटको यो घडीमा विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्नु भनेको बहुपक्षीय र विश्वव्यापी सहयोग हो,' चिनियाँ विदेश मन्त्राललयका प्रवक्ता हुआ चुन्यिङले ट्विटरमा लेखेका छन्।
केही दिन अघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको महामारीमा प्रभावकारी भूमिका नखेलेलेको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठनमा गर्दै आएको योगदान कटौती गर्ने चेतावनी दिइसकेका छन्। अमेरिकाले संगठनलाई प्रतिवर्ष ४ सय मिलियन अमेरिकी डलर सहयोग गर्दै आएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा डब्लुएचओ प्रमुख डा टेड्रोस घेब्रेयससले बुधबार मात्र व्यक्त गरेका थिए।