काठमाडौं- प्रदेश १ को अस्थायी मुख्यालय विराटनगरमा रहेको कोशी अस्पताल यतिबेला खास चर्चामा छ। अस्पतालको जति चर्चा छ, त्यो भन्दा बढी प्रशंसा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्रको भइरहेको छ।
कारण- डा मिश्रको कुशल व्यवस्थापनको परिणाम आज कोशी अस्पतालमा २८ जना कोरोना संक्रमित बिरामीको उपचार सहज भएको छ। उनले गत फागुनबाटै थालेको सक्रियताले एउटै अस्पतालमा यति धेरै संक्रमितको उपचार सहज रुपमा सम्भव भएको हो।
पेसाले स्त्री रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञ पनि हुन् डा मिश्र। विश्वकै प्रसिद्ध जोन्स हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्य विषय अध्ययन गरेकी डा मिश्रले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि काम गरिन्।
अहिलेको विषम परिस्थितिमा यति धेरै संक्रमित एउटै अस्पतालमा उपचार गर्न कसरी सहज भयो? उनी भन्छिन्, 'जनस्वास्थ्यबारे अध्ययन गरेको र रुचिको विषय भएकोले पनि मलाई संक्रमणको सम्भावनाबारे तयारी गर्न सहज भयो। टिमवर्क र सबैको सहयोगका कारण व्यवस्थापन गर्न सम्भव भयो।'
नेपालमा कोरोना संक्रमितका लागि उपचार गर्ने अस्पतालको तयारी हुँदै गर्दा, अस्पतालहरु केन्द्रीय मन्त्रालयबाट बजेट आउला र गरौंला भन्दै बाटो हेरेर बसिरहेका बेला कोशी अस्पतालकी मेसु मिश्रले भने फागुनमैं प्रदेश र स्थानीय तहसँग छलफल थालिन्। र, छुट्टै कोभिड-१९ को अस्पताल सञ्चालन गर्न सहमत पनि गराइन्।
सोही अनुसार विराटनगर-१०स्थित पुरानो नेसनल ट्रेडिंगको भवनमा छुट्टै कोभिड-१९ अस्पताल बनाइयो। उक्त उपचार केन्द्र प्रदेश १ मा पूर्ण रुपमा कोभिडका बिरामीहरुको उपचारका लागि सञ्चालनमा छ। जहाँ संक्रमितका लागि खाने/बस्ने लगायतका सबै व्यवस्था छ। उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि छुट्टै बस्ने व्यवस्था मिलाइएको छ।
गत २१ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सो अस्पतालको उद्घाटन गरेका थिए।
सो अस्पतालमा ५ भेन्टिलेटर, १० बेडको आइसियु र १० हाई डिपेन्डेन्सी युनिट (एचडियु) सहितको व्यवस्था पनि गरिएको छ। अस्पतालमा ७१ बेडको जनरल वार्डको व्यवस्था गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशीमा कोरोना संक्रमितको ल्याब परीक्षणका लागि पिसिआर मेसिन जडान गर्ने भनेपछि अहिले त्यहाँ ल्याब समेत सञ्चालनमा छ।
छुट्टै कोभिड अस्पताल बनाएपछि कोशी अस्पतालमा अन्य स्वास्थ्य सेवा रोक्नु नपरेको डा मिश्र बताउँछिन्। सबै सानाठूला शल्यक्रिया र प्रसूति सेवा नियमित रहेको उनी बताउँछिन्।
उनले भनिन्, ‘जतिबेला विराटनगरमा केस देखिएकै थिएन। देखिन्छ भन्ने पूर्वसंकेत पनि थिएन तर हामीले छुट्टै अस्पताल बनायौं। जहाँ अहिले २८ जना कोरोना संक्रमित उपचारत छन्।’
देशभर देखिएका ४७ जना कोरोना संक्रमितमध्ये आधाभन्दा धेरै कोशी अस्पतालमा उपचाररत छन्।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका १६ जना मुस्लिममध्ये गत साता १२ जनामा संक्रमण देखियो। उनीहरुलाई अस्पताल ल्याउन मिश्र आफैं खटिएकी थिइन्। अहिले ती १६ जनासहित २८ जना सोही स्थानका व्यक्तिको उपचार भइरहेको छ।
कोशी अस्पतालमा हाल १६ जना भारतीयसहित १२ नेपाली उपचारत रहेका छन्।
उनको दूरदर्शीताले बनेको कोभिडको छुट्टै अस्पतालमा उनीहरुको उपचार भइरहेकोले अन्य बिरामीको लागि नियमित सेवा रोकिएन।
सो अस्पताल निर्माणका लागि प्रदेश १ को सामाजिक विकास, अर्थ र भौतिक पूर्वाधार मन्त्रालयले सहयोग गरेको उनले बताइन्।
चैत महिनाभरि अस्पतालबाट ४ हजार बढी बिरामीले ओपिडी सेवा लिएको उनले बताइन्।
त्यो बेलामा गरेको तयारीले एकै पटक धेरै जना संक्रमित देखिँदा पनि समस्या नभएको उनको अनुभव छ।
‘यति धेरै बिरामी देखिएलान् भन्ने थिएन। संख्या त अझ बढ्न सक्छ। तत्काल हामी ७० जना जति संक्रमित राख्न सक्ने तयारीमा छौं,’ उनले भनिन्। तर, संक्रमित बढेपछि अन्य उपाय पनि सोच्नुपर्छ। त्यसबारे छलफल भइरहेको उनको भनाइ छ।
नेपालमा कोरानाका एक/दुई बिरामी देखिँदासम्म बजारबाट सर्जिकल मास्क, स्यानिटाइटर गायब भइसकेको थियो।
जसको अभाव अस्पतालहरुमा प्रत्यक्ष रुपमा परिरहेको थियो। स्वास्थ्यकर्मी बिरामी जाँच गर्न नै सशंकित हुन थालेका थिए। त्यसमा व्यक्तिगत सुरक्षाकवच पिपिई पनि थिएन।
मिश्रले देशमै सबैभन्दा पहिले विश्व स्वास्थ्य संगठनको मापदण्ड प्रयोग गरेर स्यानिटाइजर र मास्क बनाइन् र प्रदेशमा समेत बाँडिन्। उनले स्थानीय तहमै पिपिई सेट उत्पादन पनि गर्न पहल गरिन्।
‘जोखिम बढिरहेको थियो। स्वास्थ्यकर्मी डराइरहेका बेला म आफैं अघि सरेर उहाँहरुलाई पनि मोटिभेट गर्नुपर्ने थियो। अरुको मुख ताक्दा ढिला हुने भएकाले सक्दो पहलले आफैंले गरेका हौँ,' उनले भनिन्।
उनी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सबै कर्मचारीको साथ र सहयोगका कारण नै कोरोनाका बिरामीको उपचार गर्न सहज भइरहेको बताउँछिन्। यसका साथै प्रदेश र स्थानीय तहबाट पनि साथ रहेको उनले सुनाइन्।
डा मिश्र भन्छिन्, ‘कोशी अस्पतालले पूर्ण तयारी गरेको छ। यहाँसम्मकी यदि कोभिडकै कारण कसैको मृत्यु भएमा कहाँ राख्ने, कसरी राख्ने भनेर पनि सोही समयमा व्यवस्था मिलाएका छौँ। तर, कामना त कसैको मृत्यु नहोस भन्ने नै हो।’
यदि कोरोनाका कारण कसैको मृत्यु भएमा मृत शरीर राख्ने डेथ बडी ब्याग बनाइएको छ। ती शव राख्ने छुट्टै तापक्रम व्यवस्थापन सहितको छुट्टै शव गृह तयारी अवस्था राखेको उनले बताइन्।
मेसु संगीता मिश्र भन्छिन्
हामी सुरुखेखि नै तयारी अवस्थामा बसेका थियौं। अहिले संक्रमित बढेदेखि दिनमा १५/१६ घण्टा काम गरिरहेका छौं। अन्यत्र भन्दा संक्रमित बढेपछि स्वास्थ्यकर्मी र समुदायमा त्रास बढेको छ। तनाव बढेको छ तर पनि हामी उच्च मनोबलका साथ काम गरिरहेका छौं।
मैले फागुनको २० गते नै कोरोना रोकथामको तयारीका लागि अस्पतालका अन्य विभाग प्रमुखहरुको पहिलो बैठक बोलाएको थिएँ।
सो बैठकमा हामीले कसरी तयारी गर्ने, के-कसरी काम गर्ने भनेर कार्यविधि बनायौं। विभिन्न चरणमा छलफल भएको थियो।
त्यसपछि प्रदेश र स्थानीय सरकारसँग छलफल गरेका थियौं। हामीले त्यो बेला इटालीको उदाहरण लिएका थियौं।
त्यहाँ सुरुमा कोभिड-१९ र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा संक्रमण फैलिएको थियो। त्यही गल्तीबाट हामीले सिकाइ हासिल गर्यौ र छुट्टै अस्पताल तयार गर्नुपर्छ भन्ने महसुस गर्यौैं।
त्यसपछि प्रदेश सरकारको सहयोगमा अस्पताल बन्यो भयो। अहिले २८ जना बिरामी राखिएको छ।
५० बेडबाट सुरु गरेका थियौँ। अहिले ८५ वेड हामीसँग छ। तर योभन्दा बढी भएमा धान्न सकिँदैन होला। तर, कोरोना संक्रमण रोक्नु हामी सबैको जिम्मेवारी हो। यदि संक्रमितको संख्या बढ्यो भने सबैले नै भूमिका निभाउनु पर्छ।
तर, हाम्रो ठूलो समस्या भनेको जनशक्ति अभाव छ। यहाँ काम गरिरहेका स्वास्थ्यकर्मीलाई छरछिमेकबाट त्रसित भएर हेर्ने क्रम बढेको छ। हामीले थोरै जनशक्तिसँगै काम गर्नुपर्ने भएकोले स्वास्थ्यकर्मीलाई मनोबल बढाउने काम गरौं। उहाँहरुलाई तिरस्कार गर्ने काम नगरौं।
कोशीको कोभिड-१९ को अस्पतालमा रहेका स्वास्थ्यकर्मी नै उपचारमा खटिएका छौं। ६ घण्टाको डियुटी मिलाएका छौँ। ४ जना चिकित्सक, नर्स र पारामेडिक्स ३ जना हुनुहुन्छ। नर्सको इन्चार्ज एक हुनुहुन्छ। उहाँ २४ घण्टा खट्नुहुन्छ।
पिपिई सेट लगाएपछि ६ घण्टाभन्दा बढी बस्न नसकिने भएकाले ६ घण्टाको एउटा सिफ्ट राखिएको छ। त्यसबाहेक कार्यालय सहयोगीको डियुटी पनि ६ घण्टाकै मिलाइएको छ। सरसफाइ कर्मचारीलाई पनि पिपिईको व्यवस्था गरेका छौं।
पिपिई लगाइसकेपछि समयमा खाना खान, बाथरुम जान नमिल्ले भएकाले समस्या हुन्छ। ६ घण्टापछि उहाँहरु क्वारेन्टाइनमा बस्नुहुन्छ।
एक जना अनकल डियुटीमा हुनुहुन्छ। उहाँ २४ घण्टा नै उपलब्ध हुनुहुन्छ।
यो समस्या तुरुन्तै सकिन्छ भन्ने लाग्दैन। हामी अझ तयार भई विपद्को मिलेर सामना गर्नुपर्ने छ।
हामीले उपचारका लागि पनि विज्ञ डाक्टरहरुको सल्लाहमा प्रोटोकल बनाएका छौँं। उहाँहरुको सल्लाहमा नै डियुटी चिकित्सकले उपचार गर्नुहुन्छ।
अहिले कोशी अस्पतालका सबै कर्मचारी सहयोगी हुनुहुन्छ। उहाँहरुकै सहयोगले पनि राम्रो व्यवस्थापन गर्न सकेको हुँ। एक्लै सम्भव हुने कुरा होइन यो। यो विषयमा निकै भाग्यमानी ठान्छु।
पहिलो केस आउँदा वैशाख ९ गते शनिबार राति १ बजे हामीले उदयपुरबाट आएका संक्रमितलाई रिसिभ गरेका थियौँ। अहिलेसम्म उहाँहरु शिक्षित भएकाले उपचारमा सहजीकरण गर्न सजिलो भएको छ।
उहाँहरुसँग नजिकैबाट के, कस्तो भनेर बुझिरहेका छौँ। फोनमा नियमित कुरा हुन्छ।
मैले केके आवश्यक पर्छ, तपाईंहरुलाई भनेर सोध्दा धेरै जना मुस्लिम समुदायबाट भएकाले कुरान, नवाज पढ्न बस्ने इमामी उपलब्ध गराइदिनुस् भन्नुभयो।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले मैले समुदायमा कुरा गरेर उपलब्ध गराएँ। उहाँहरुले हाम्रो समस्या पनि बुझ्नुभएको छ।
हामीलाई उपचारका लागि खटिएका चिकित्सकलाई प्रदेश सरकारले होटलमा खाने/बस्ने गरेका छौं। सात दिन उपचारमा खटेपछि उहाँहरु १४ दिन क्वारेन्टाइनमा बस्नुहुन्छ। सो समयमा उहाँहरुको संक्रमण भएरनभएको परीक्षण पनि गर्छौं।
परिवारसँग अलग बस्दाको पीडा पनि छ
पहिलो १२ जना संक्रमित अस्पतालमा ल्याएको दिनदेखि म पनि घरमा क्वारेन्टाइनमा बसेको छु। परिवारमा ७६ वर्षको सासुआमा हुनुहुन्छ। बुढाबूढी मानिसलाई छिटो संक्रमण हुने डर भएकाले म निकै सचेत छु।
श्रीमान् र १८ र १४ वर्षमा छोराहरु छन्। सबैसँग दूरी बनाएको छु। दुई हप्ताभन्दा बढी भयो परिवारसँग आफूलाई छुट्टै राखेको।
उनीहरुलाई कुनै प्रकारको जोखिम नहोस् भन्नेर छुट्टै कोठा बनाएको छु। उनीहरु बोलचाल, कुराकानी वा सँगै बसेर खाना खाने क्रम छुटेको छ।
यो पल निकै पीडादायी हुने रहेछ। श्रीमान्सँग आफ्ना कुरा सेयर गर्न पाउँदिन। दिनभर पनि विभिन्न प्रकार तनाव भइरहेको हुन्छ। संक्रमित व्यक्तिको संख्या थपिँदै गर्दा कसरी काम गर्ने भन्ने तनाव हुन्छ।
घरमा गएर एक्लै कोठा बस्नुपर्ने, पहिल्यै खाना ल्याएर टेबुलमा राख्दिनुभएको हुन्छ। एक्लै खानुपर्ने, बिहान उठेर उही काम। यसअघि यस्तो प्रकारको समय नआएकाले पनि होला एकदम गाह्रो हुने रहेछ। कोठामा जाने(आउने ढोका नै अलग्गै बनाएको छु। त्यहाँ अरु कोही जाँदैनन्।
आफू सँगसँगै परिवार र समुदायलाई जोखिमबाट जोगाउनुपर्ने दायित्व छ। यसै पनि धेरै जना संक्रमित भएकाले अस्पताल वरपरको समुदायमा एकखालको स्वभाविक त्रास छ। तर हामीले सुरक्षाको पूर्ण पालना गरेका छौं।