समाचार

प्युठान अस्पताललाई युनिभर्सल जनरल एनेस्थेसिया मेसिन सहयोग

दीपा पौडेल

प्युठान- जिल्ला अस्पतालबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि  ३० लाख रुपैयाँ बराबरको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ।

निक साइमन्स इन्स्टिच्युटले शुक्रबार एक कार्यक्रमको आयोजना गरी अस्पतालको सेवालाई प्रभावकारी र गुणस्तरिय बनाउनका लागि भेन्टिलेटरसहितको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन सेट प्रदान गरेको इन्स्टिच्युटका  प्रदेश ५ का  संयोजक बिमल चन्द्र पुनले जानकारी दिए।  

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अमृत पन्थीलाई उक्त मेसिन हस्तान्तरण गर्दै पुनले भने–“विगत ७ बर्षदेखि हामीले यस अस्पतालसंग सहकार्य गर्दै आईरहेका छौं।” विशेष गरी ग्रामिण भेगका नागरिकहरुलाई सेवा प्रदान गर्ने ग्रामिण क्षेत्रमा रहेका अस्पतालहरुमा सहयोग गर्दै आईरहेको भन्दै उनले प्युठान अस्पताललाई प्रत्येक बर्ष ३ देखि ६ लाख रुपैयाँसम्मको स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार उपलब्ध गराउँदै आएको जानकारी दिए। 

इन्स्टिच्युटले यस अस्पतालमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउँदै आएको र चिकित्सकहरुको आवासगृह व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको उनको भनाई छ।

निक साइमन्ससंगै जिल्ला समन्वय समिति प्युठानले प्युठान अस्पतालमा  आइसोलेशन वेड निर्माणका लागि ५ लाख बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष केशवराज आचार्यले जानकारी दिए।
 
सेवा सुविधा प्रभावकारी बनाउन निक साइमन्स इन्स्टिच्युटले उक्त उपकरण प्रदान गरेकोमा इन्स्टिच्युटलाई धन्यवाद दिदैं डाक्टर पन्थीले यसले ग्रामिण भेगका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने बताए। यसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको लडाईमा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सहयोग पुग्ने उनको भनाई छ।

प्रदेश नं ५ का प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले अस्पतालमा भएको आइसोलेशन बेडको निरिक्षण गरेका छन्। उनले अस्पतालमा रहेको ४ वेडको आइसोलेशनलाई १० बेडको बनाउँदै कोरोना विरुद्धको लडाईमा अग्रसर हुन र तयारीका लागि सबै सरोकारवालाहरुले प्रयास गरिरहेको बताए।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने