काठमाडौं - काठमाडौं उपत्यकाबाट दोलखाको जिरी पुगेका स्थानीयलाई जिरी नगरपालिकाले स्वास्थ्य परामर्श तथा उपचार सेवा दिएको छ।
लकडाउनको बेला नगरपालिकाले पठाएको १ सय ५० बढी सवारी साधन मार्फत दोलखा पुगेका सबैलाई स्वास्थ्य परामर्श दिएको जिल्ला अस्पताल दोलखाका बायोमेडिकल इन्जिनियरिंग विभाग प्रमुख उत्तम पोखरेलले बताए।
आकस्मिक सेवा सहित परिवार नियोजन, खोप कार्यक्रम लगायत नियमित स्वास्थ्य सेवा सञ्चालन भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राकेश श्रेष्ठले बताए। नगरपालिका भित्रका विभिन्न ४ ठाउँमा आइतबार एकै पटक कोरोना विशेष वडा स्तरीय स्वास्थ्य परामर्श तथा उपचार सेवा दिएको उनले बताए।
अस्पतालले विदेशबाट जिरी नगरपालिका भित्रने एक विदेशी सहित २२ जनाको आरडिटिबाट कोरोना परीक्षण समेत गरेको थियो। हालसम्म ५ सय ८८ जनाको ज्वरो मापन तथा स्वास्थ्य परामर्श सेवा दिइएको नगरपालिकाले जनाएको छ।