काठमाडौं– बंगलादेशमा अध्यनरत नेपाली विद्यार्थीको उद्धारका लागि सरकारलाई दबाब दिन मेडिकल विद्यार्थीहरुले एसएमएस अभियान सुरु गरेका छन्। मेडिकल अध्यनरत विद्यार्थीहरुको संस्था ‘फडेरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट’को पहलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एसएमएस पठाउने अभियान थालिएको हो।
एसएमएसमा बंगलादेशमा कोरोना महामारीले बिकरालरुप लिँदै गरेको र त्यहाँ अड्किएका नेपाली विद्यार्थीले स्वदेश फर्किन चाहेकाले त्यो वातावरण मिलाइदिन मन्त्री ज्ञवालीलाई आग्रह गरिएको छ। सरकारलाई झकझक्याउन एसएमएस अभियान सुरु गरिएको र त्यसलाई ‘डिजिटल मुभमेन्ट’का रुपमा अघि बढाउने ‘फडेरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट’का अध्यक्ष नरेश भट्टले बताए।
‘हामी सबै विद्यार्थी आबद्ध भएको संस्था भएकाले यहीबाट नेतृत्व गर्ने भन्ने कुरा भयो,’ उनले भने, ‘अहिलेलाई एसएमएस अभियान गर्ने, भोलिदेखि ट्विटरमा ह्यासट्याग अभियान चलाउने। डिजिटल मुभमेन्ट गरेर सरकारलाई झकझ्यक्याउने र ध्यानार्कषण गराउने हाम्रो उदेश्य हो।’
कोरोना भाइरस संक्रमण फैलिएर आफूहरु जोखिममा परेका बेला पनि सरकारले वेवास्ता गरेको भन्दै बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले सरकारप्रति आक्रोश पोखिरहेका छन्। बंगालदेशमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको भन्दै आफूहरु पनि कोरोना संक्रमित भइने हो कि भन्ने उनीहरुको चिन्ता छ।
पछिल्लो विवरण अनुसार बंगलादेशमा ५ हजार ९ सय १३ जनालाई कोरोना संक्रमण भएको छ भने १ सय ५२ को मृत्यु भइसकेको छ।
बंगलादेशस्थित नेपाली दूतावासलाई त्यहाँको सरकारले नेपाली विद्यार्थीलाई आफ्नै नागरिक सहर व्यवहार गर्ने आश्वासन दिएको भनिए पनि उनीहरु विश्वस्त छैनन्। ‘यताको सरकार आफैं निरीह भइसकेको छ,’ नेपाली विद्यार्थी रमन कार्कीले अघिल्लो साता भनेका थिए, ‘त्यस्तोमा हाम्रा लागि भनेर सहयोग, सहजीकरण हुने कुनै अत्तोपत्तो छैन।’
कोरोना नियन्त्रण गर्न भन्दै त्यहाँको सरकारले लकडाउन घोषणा गरे पनि त्यसको त्यहाँ पालना नभइरहेको नेपाली विद्यार्थीहरु बताउँछन्। लकडाउनको पालना नहुँदा कोरोना संक्रमण बढ्ने र त्यसको मारमा आफूहरु पनि पर्ने त्रास उनीहरुलाई छ।
विद्यार्थीहरुको आक्रोश ढाकास्थित नेपाली दूतावास र राजदूतप्रति पनि छ। आफूहरुले दूतावासमार्फत् सरकारलाई बुझाएको ज्ञापन पत्र समेत नबुझाइदिएको आरोप विद्यार्थीहरुको छ। विद्यार्थीहरुले बुझाएको विज्ञप्तिमा आफूहरु आफ्नै खर्चमा पनि नेपाल आउन तयार भएको र त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने माग गरिएको छ।
‘हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदाहुँदै पनि यदि राज्यसँग कुनै आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले हामीलाई एउटा चार्टर्ड प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्यूनतम लागत हामीले आफैं तिरेर आफ्नै खर्चमा नेपाल जानेछौं,’ उक्त ज्ञापन पत्रमा उनीहरुले लेखेका छन्, ‘नेपाल पुगिसकेपछि हामी होम क्वारेन्टाइन अथवा राज्यले तोकेको स्थानमा क्वारेन्टाइन बस्न तयार छौं।’
उक्त आरोपको राजदूत डा. वंशिधर मिश्रले भने अस्वीकार गरेका थिए। ‘विद्यार्थीहरुले दिएको ज्ञापन पत्र मैले परराष्ट्र मन्त्रालयमा नपठाएको भन्ने कुरा गलत हो,’ अघिल्लो साता नै राजदूत मिश्रले यसबारे उनले स्वास्थ्यखबरसँग भनेका थिए, ‘मैले परराष्ट्रमन्त्री र परराष्ट्र सचिव दुवै जनालाई त्यो ज्ञापन पत्र पठाइदिएको छु। हामी यहाँको अवस्थाका बारेमा दैनिक रुपमा परराष्ट्र मन्त्रालयलाई रिपोर्ट पठाउँछौं।’
सरकारले विद्यार्थीहरुलाई उद्धार गरेर लैजाने निर्णय गर्ने बित्तिकै दूतावासले विमान चार्टर्ड गरेर विद्यार्थी स्वेदश फर्काउन तयार रहेको राजदूत मिश्रको भनाइ छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल भने अहिले कसैलाई पनि उद्धार गनुपर्ने अवस्था नरहेको र त्यो भएपनि उडान प्रतिबन्ध खुलेपछि सुचारु हुने बताउँछन्। ‘अहिले कसैलाई पनि उद्धार गर्नुपर्ने अवस्था हो जस्तो लाग्दैन मलाई,’ यसबारे राखेको जिज्ञासामा उनले भने, ‘नेपाल आउन चाहने नेपालीहरुको सन्दर्भमा अहिले उडान बन्द भएको हुनाले त्यो सुचारु भएपछि मात्रै यी प्रक्रियाहरु सुरु हुन्छन्।’
धेरै देशले नेपालमा रहेका आफ्ना नागरिक लिए पनि नेपालले भने विदेशमा रहेका नेपालीबारे अहिलेसम्म कुनै ठोस योजना बनाएको छैनन्। ‘जहा हुनुहुन्छ, त्यही सुरक्षित रहनुहोस्। अप्ठ्यारो परे सम्बन्धित देशले आफ्नै नागरिक सहर व्यवहार गर्छन्,’ भन्ने जवाफ राष्ट्रपति, प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मले दिइरहेका छन्।