काडमाडौं- भारतमा कोरोना भाइरसको खोप बनाउने तयारी भएको दावी गरिएको छ। पुणेको सिरम इन्स्टिच्युटका सिइओ अडर पुनावालाले यो ट्रायल सफल भएमा औषधि यो वर्षको सप्टेम्बर या अक्टुबरसम्म बजारमा आउने दावी गरेका छन्। यसरी उत्पादन हुने खोप (औषधि)को मूल्य करिब एक हजार रुपैयाँ हुने उनको दावी छ।
भारतीय समाचार माध्यम आजतकका अनुसार उनीहरुले जोखिम उठाएर एडभान्स परीक्षण गरिरहेको र उत्पादन पनि सुरु भएको सिइओ पुनावालाले बताएका छन्।
उनले बेलायतमा अहिले पनि औषधिको क्लिनिकल ट्रायलको घोषणा भएको तर आफूहरुले उत्पादनको पहल गरिरहेको बताए। ट्रायल सफल भएमा छिट्टै खोप तयार गर्ने उनले बताए।
‘हामीले पहिले नै उत्पादन सुरु गर्ने तयारी गरिसकेका छौं किनकी यसको परीक्षण सफल भएमा तत्काल पर्याप्त रुपमा उपलब्ध गराउन सकियोस्,’ उनले भने, ‘मे महिनामै मानिसमा यसको परीक्षण सुरु हुने छ।’
उनले आफ्नो केन्द्र कोरोनाको औषधि बनाउन तयार रहेको र पूर्ण रुपमा टिम नै यसमा लागिरहेको बताए। यसका लागि पुणेमा कारखाना निर्माण भएको र ५००/६०० करोड रुपैयाकोँ लगानी पनि लगाइएको दावी गर्दै उनले अबको २/३ वर्ष कोरोनाकै औषधि बनाउने काममा कारखाना केन्द्रित हुने बताए।
कहिले र कति उत्पादन हुन्छ
उत्पादन कहिले सुरु हुन्छ त भन्ने प्रश्नमा सिइओ पुनावालाले भने, ‘अबको तीन सातामा यसको उत्पादन सुरु हुन्छ।’ कम्पनीले हरेक महिना ४० देखि ५० लाख डोज बनाउने दावी गरेको छ। यसपछि उत्पादन बढाएर हर महिना १ करोडसम्म पुर्यानउने उसको लक्ष्य छ। सेप्टेम्बर-अक्टुबरसम्म उत्पादन बढाएर प्रत्येक महिना ४ करोडसम्म पुग्ने उनले बताए। यसपछि मात्र दोस्रो देशमा निर्यात गरिने उनले बताए।
कस्तो हो पुणेको कम्पनी
पुनवालाको यो संस्थाको स्थापना १९६६ मा भएको थियो। यो विश्वभरकै सबैभन्दा धेरै खोप बनाउने कम्पनी मध्येको एक हो। यसले प्रत्येक वर्ष १.५ अर्ब डोज खोप तयार गर्छ। विश्वका ६५ प्रतिशत बालबालिकालाई यस कम्पनीको खोप दिने गरिन्छ।