जगदिश बुढा
जुम्ला- तिला गाउँपालिका– ९ की पम्फा बुढा ९ महिनाकी गर्भवती हुन्। उनी सुत्केरी हुने समय नजिकिँदै गर्दा पोषिलो खानेकुराको जोहो गर्न थालेकी छिन्। स्वास्थ्य संस्थामा पुगेर नियमित गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले पोषिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी भइन्। उनले भनिन्, ‘गाउँमै न्यानो कपडा पाउँदा निकै खुसी छु।’
उपाध्यक्ष बुढाले ¬¬‘सुनौलो हजार दिनभित्रका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्र्तगत नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराएकी हुन्। ‘लकडाउनको समयमा गर्भवतीले पोषिलो खानेकुरा पाउँदैनन्,’ उपाध्यक्ष बुढाले भनिन्, ‘यो समयलाई मध्येनजर गर्दै गर्भवतीलाई कोसेली स्वरुप पोषिलो खानेकुरा उपलब्ध गराएका हौँ।’
एक जना गर्भवतीलाई १ क्रेट अण्डा, ५ किलो चामल र १ लिटर तेल, बच्चालाई न्यानो कपडा र ब्ल्यांकेट दिइएको हो। नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गर्ने, स्वास्थ्यकर्मीको सुझाव ग्रहण गर्ने र आफू र आफ्नो बच्चाको ख्याल राख्ने गर्भवतीलाई पहिलो चरणमा पोषिलो खानेकुरा प्रदान गरिएको हो।
तिला गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक जानकी हितानका अनुसार गाउँपालिका भित्रका ५० जना गर्भवतीलाई कोसेली प्रदान गरिएको हो। यो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउन सहयोग पुग्ने विश्वास गरिएको छ। लकडाउनको समयमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवतीलाई कोसेली प्रदान गर्न उपाध्यक्ष बुढाको टोली गाउँटोलमा पुगेको थियो।
गर्भ रहेदेखि ९ महिनासम्म लगातार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र बालबालिकालाई लगाउनुपर्ने सबै प्रकारको खोप लगाउन उपाध्यक्ष बुढाले आग्रह गरिन्। गर्भवतीलाई घरमा उपलब्ध स्थानीय अन्न, गेडागुडी, सागपात र पोषिलो चिज मिलाएर खान सुझाव दिइएको थियो।
यो कार्यक्रम तिला गाउँपालिका– ६, घोडे स्वास्थ्यचौकीबाट सुरु भएको थियो। गर्भवती अवस्थामा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा समेत सहजीकरण गरिएको थियो। साबुनपानीले नियमित हात धुन, सेनिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कँदा मास्क अनिवार्य रुपमा प्रयोग गर्न सो अवसरमा सुझाव दिइएको थियो।
व्यक्तिबीच दूरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुने बताउँदै उपाध्यक्ष बुढाले गर्भवतीले आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिइन्। सरसफाइमा ध्यान दिने, खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्न र त्यसपछि प्रयोग भएको रुमालको उचित बिसर्जन गर्न पनि आग्रह गरिएको थियो। ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गर्नुपर्ने उनले बताइन्।