जगदिश बुढा
जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना परीक्षणका लागि पिसिआर मेसिन आइपुगेको छ। मेसिन आएर इन्स्टल समेत भइसकेको छ। तर आवश्यक किट नहुँदा प्रयोगमा आउन भने सकेको छैन।
अस्पतालका निर्देशक मंगल रावल किट नआउँदासम्म मेसिन प्रयोगमा ल्याउन नसकिने बताउँछन्। ‘पिसिआर आयो, जडान कार्य पनि सकियो, आवश्यक जनशक्ति तयारी अवस्थामा छन्,’ डा रावल भन्छन्, ‘तर आवश्यक पर्ने किट नहुँदा प्रयोगमा आउन सकेको छैन।’
सरकारसँग किट माग गरिएको र आगामी शुक्रबारसम्म काठमाडौँमा आइपुग्ने जानकारी पाएको उनले बताए। ‘किट आउने वित्तिकै परीक्षण कार्य प्रारम्भ भइहाल्छ,’ उनले भने। पहिले पिसिआर मेसिन सरकारसँग माग गरिएको थियो। तर सम्भव नदेखिएपछि प्रतिष्ठानले आफ्नै लगानीमा टेन्डर आह्वान गरेर चीनबाट जुम्ला ल्याइपुर्याएको हो।
रिएजेन्ट र किट नहुँदासम्म पिसिआर मेसिनबाट परीक्षण हुन सक्दैन। किट बाहिर किन्न पनि मिल्छ। तर बाहिर त्यो कसैसँग पनि उपलब्ध छैन्। सरकारले ल्याउन सक्ने भएकोले पाँच सयसम्म किट माग गरिएको छ। तत्काल दुई/तीन सय किट आए पनि परीक्षण कार्य अघि बढाउन सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।
यो मेसिनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्छ। अहिले दुई जना ल्याबका कर्मचारी सुर्खेतमा छन्। उनीहरु सुर्खेतको पिसिआर मेसिनबाट चलाउन सिकिरहेका छन्। किट आउने वित्तिकै उनीहरु जुम्लामा आएर परीक्षण कार्य सुरु हुने अस्पतालले जनाएको छ।
‘अहिले मान्छे भित्रिने क्रम बढिरहेको छ। यो बेला अस्पतालमा राम्रो तयारी थियो। तर किटले रोक्यो,’ डा रावल भन्छन्, ‘किट पुग्ने वित्तिकै मेसिन सुचारु भइहाल्छ।’ उनका अनुसार आगामी आइतबार–सोमबारदेखि पिसिआर मेसिन सञ्चालनमा आउनेछ।
यसअघि काठमाडौंबाट हेलिकोप्टरमा जुम्ला पुगेको टोलीले स्वाब लिएर परीक्षण गरेको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको थियो। जनस्वास्थ्य सेवा कार्यालय ¥यापिड परीक्षणका लागि गाउँगाउँमा पुगेको थियो। सबै रिपोर्ट नेगेटिभ आयो।
जुम्लामा अहिलेसम्म कोरानाको संकेत देखिएको छैन्, तर उच्च सतर्कता अपनाउनको लागि आग्रह गरिएको छ। अहिले जिल्लामा क्वारेन्टाइनमा बसेकाहरु थर्मल गन हानेर घर फर्किरहेका छन्।