काठमाडौं- नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। आइतबार एकैदिन १६ जना थपिएर ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार नेपालगञ्जमा १५ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो।
प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल जानकारी दिएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको थियो। आइतबारै साँझमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो।
शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड १९ अस्पताल तयार गरिएको छ।
*स्वास्थ्य मन्त्रालयका पदाधिकारीबाट जानकारीका आधारमा स्वास्थ्यखबरमा 'नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए' शीर्षकमा प्रकाशित समाचार पुनः पुष्टि गर्दा गलत भएको देखिएकाले क्षमायाचनासहित हटाइएको छ। नेपालमा आइतबार १६ जना मात्र कोरोना संक्रमित पुष्टि भएको छ र नेपालमा हाल कोरोना संक्रमितको संख्या ७५ छ।