भैरहवा- प्रतिमान नीमा स्मृति प्रतिष्ठान भैरहवाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) प्रदान गरेको छ। प्रतिष्ठानले दुईवटै अस्पताललाई पिपिई ५ थान, फेस सेल्ड (हेल्मेट), ५ थान, पञ्जा ५ जोडा, स्यानेटाइजर २० पिस र बुट ५ जोडा उपलब्ध गराएको प्रतिष्ठान कार्यकारी निर्देशक स्वाती थापाले बताइन्।
प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापा र निर्देशक धर्म बहादुर केसीले आइतबार लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. राजेन्द्रप्रसाद खनाल र भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नाललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरे। स्वास्थ्य सामग्री ग्रहण गर्दै डा. खनालले अस्पताललाई सुरक्षा कवचको अभावमा काम सञ्चालन गरिरहेको अवस्थामा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले पिपिईसहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिए। उनले विभिन्न सहयोगी हातहरुका कारण अस्पताललाई कार्यसम्पादन गर्न सहज भएको बताए।
भीम अस्पपतालका मेसु डा. दर्नालले आगामी दिनमा पनि प्रतिमान–नीमा स्मृति फाउण्डेशनसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने बताए।
प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुर्दशन बरालले प्रदेश ५ मा विभिन्न क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आफ्नो भवन क्वारेन्टाइनको रुपमा दिएकोमा धन्यवाद दिए। उनले आफ्नो स्रोतबाट कोभिड–१९ विरुद्ध लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताललाई पिपिईसहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्य प्रशसंनीय रहेको बताए।
केही दिनमा रोहिणी, ओमसतिया र सियारी गाउँपालिकालाई पनि ४/४ थान पिपिई उपलब्ध गराउने फाउण्डेशनका निर्देशक धर्म बहादुर केसीले बताए।
स्वास्थ्यकर्मीलाई तालिम
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई प्रतिष्ठानले आगामी हप्ता तालिम प्रदान गर्ने जनाएको छ। अमेरिकाको ब्राउन युनिभर्सिटी, मसेडोनियाको प्रोजेक्ट होपको सहयोग र प्रदेश ५ सामाजिक विकास मन्त्रालयको समन्वयमा कोरोनाविरुद्ध लड्नका लागि तालिम सञ्चालन गर्न लागिएको प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले बताइन्।
'हामीले पहिलो चरणमा विभिन्न जिल्लाका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी १० जनालाई डट्स ट्रेनिङ (तालिम) प्रदान गर्नेछौं, तालिम लिएपछि उहाँहरुले २ हजार बढी फ्रन्टलाइनमा काम गर्नेलाई आफूले सिकेका कुरा अरुलाई सिकाउनु हुनेछ,' थापाले भनिन्, 'एक जनाले फ्रन्टलाइनमा रहेर काम गर्ने २ देखि ३ सयसम्मलाई कोरोनाविरुद्ध लड्न सिकाउनु हुनेछ।'