काठमाडौं - नेपालका निजी अस्पतालहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले कोरोना भाइरसको संक्रमण र त्यसपछिको लकडाउनका कारण निजी अस्पतालहरु संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
अफिनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनका कारण निजी अस्पतालहरु अत्यन्त्त जर्जर अवस्थामा रहेको र अत्यावश्यक सेवा सञ्चालनमा समेत धौ धौ परेको भन्दै ध्यानाकर्षण गरेको हो।
अफिनले पर्यटन लगायतका केही उत्पादनमूलक क्षेत्रलाई राहत प्याकेजको तयारी भइरहेको समयमा निजी अस्पतालका विषयमा पनि सरकारले सोच्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ।
'सरकारले पर्यटन लगायतका केहि उत्पादनमूलक क्षेत्रलाई अहिले सबैभन्दा बढी प्रभावित र शंकटग्रस्त रहेको ठहर गरी तत्काल राहतका प्याकेजहरु ल्याउने तयारी गरिरहेको छ। निजी क्षेत्रका व्यवसायिहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका संस्थाहरुले पनि आ-आफ्नो ढंगबाट सरकारसँग राहतका आर्थिक प्याकेज माग गरिरहेका छन्,' विज्ञप्तिमा भनिएको छ, 'नेपालको कुल जनसंख्याको ७० प्रतिशत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेका निजी अस्पतालहरुको विषयमा भने कुनै किसिमको चर्चा समेत नभएको अवस्था छ।'
अफिनका अध्यक्ष बसन्त चौधरीले लकडाउका कारण अस्पतालहरुको व्यापार १० प्रतिशतमा झरेको बताए। अस्पतालमा बिरामीको संख्या घटे पनि सेवा सुविधाहरु घटाउन नमिल्ने र संवेदनशील क्षेत्र भएकोले २४ सै घण्टा सेवा सूचारु गरिरहनु पर्ने बाध्यतामा अस्पतालहरु रहेको उनी बताउँछन्।
'सेवा मुलुक उद्योग, जसले देशमा यति धेरै रोजगारी सिर्जना गरेको छ, तर यस्ता उद्योगको राहतका बारेमा सरकार पनि मौन रहेको छ,' उनले भने, ‘अस्पतालहरु १० प्रतिशत पनि सञ्चालनमा नरहँदा पनि सेवा भने १०० प्रतिशत नै सञ्चालन गरिरहेका छन्। बिरामी कम आयो भनेर कुनै एक दुई वटा सेवालाई कटाएर कर्मचारीलाई बिदा गर्न पनि मिल्दैन। यसरी जोखिम मोलेर काम गरिरहँदा पनि सरकारले सेवा क्षेत्रलाई उद्योगको रुपमा मान्यता नदिनु दु:खद हो।'
नेपाल मेडिसिटी अस्पतालका सञ्चालक उपेन्द्र महतो पनि सरकारले निजी अस्पतालहरुलाई हेर्ने दृष्टिकोणमा फरक हुँदा समस्या भोग्नु परेको बताए। अस्पतालहरुको आम्दानी घट्दा पनि बिरामीको उपचारका लागि भनेर २४ सैं घण्टा सञ्चालनमा गरिरहेको क्षेत्रलाई सरकारको राहत प्याकेजमा नसमेटिनु गम्भिर बिषय भएको उनको ठहर छ।
स्वास्थ्य व्यवसायी संघका उपाध्यक्ष तथा अल्का अस्पतालका सञ्चालक कुमार थापाले सरकारसँग राहत प्याकेज माग्नका लागि गृहकार्य भइरहेको जानकारी दिए। निजी अस्पताल अहिले सबैभन्दा बढी मर्कामा रहेका बेलामा समेत सरकारले राहत प्याकेजमा नसमेटेको भन्दै संघको तर्फबाट पहल थालिएको उनले बताए।
ॐ अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले कोरोनाको विश्वव्यापी महामारिको यो विषम परिस्थितिमा आफ्नो साधन श्रोतमा निजि क्षेत्रले स्वास्थ्य उपचार सेवा निरन्तर संचालन गर्नु आफैँमा सर्हानिय भएको बताए। यस विषम घडिमा निजी अस्पतालहरुलाई लक्षित गरी सरकारले तत्काल विशेष राहत प्याकेज घोषणा गर्नु अपरिहार्य रहेको जिकीर गरे।
निजी क्षेत्रका अस्पतालहरुको छाता संगठन अफिनले सरकारसँग बैंकहरुबाट सहज र सरल व्याजमा ऋण लिने व्यवस्था गरिदिनु पर्ने माग पनि अघि सारेको छ। केहि समयका लागि २ प्रतिशत ब्याजमा ऋण पाउने व्वयवस्था भएमा कर्मचारीहरुलाई सहजै रुपमा तलब दिन सक्ने समेत अस्पताल सञ्चालकहरुको भनाई छ।
हाल देशभर करिब ३५० वटा निजी अस्पतालहरु सञ्चालनमा छन्। त्यहाँबाट ७५ हजार भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन्। निजी अस्पतालमा १६ हजार शय्या छ भने सरकारी अस्पतालमा १० हजार शय्या मात्र छ।