काठमाडौं- अमेरिका-नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न ६८ लाख बढी रुपैयाँ आर्थिक सहयोग गरेको छ।
आइसियुको अभावमा अस्पतालको सेवा प्रभावित भएको भन्दै प्रतिष्ठानले ६८ लाख २५ हजार २ सय रुपैयाँ सहयोग गरेको हो। एएनएमएफले उक्त रकम बिहीबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीलाई हस्तान्तरण गरेको छ।
उक्त रकमले अस्पतालको आइसियु सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री खरिद गरिने फाउन्डेसन नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले बताए।
आइसियु सञ्चालनका लागि पेसेन्ट मनिटर २, भेन्टिलेटर २, इसिजी मेसिन १, आइसियु शय्या ४ र डिफिब्रिलेटर १ थान खरिद गरिने प्रतिष्ठानले जनाएको छ।
डा बस्नेतले भने, ‘आइसियुको अभावमा बिरामीहरुको ज्यान जाने गरेको र सेवा नै प्रभावित भएको थाहा पाएपछि हामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सुरु गर्न सहयोग गरेका हौं।’
आइसियु सञ्चालन भएपछि बिरामीको ज्यान जोगाउन सकिने र सेवा प्रभावकारी हुने प्रतिष्ठानकी उपकुलपति डा भण्डारीले बताइन्।