काठमाडौं- स्वाब संकलन गरी कोरोना परीक्षण सहज र सुरक्षित बनाउन सिडेन बागमती प्रदेशका इन्जिनियरहरूले ‘टेस्ट बुथ’ निर्माण गरेका छन्।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशले इन्जिनियरहरू अनिल बानियाँ, प्रह्लाद उप्रेती, चन्दन नेपाल र सिडेन बागमती प्रदेशका सचिव विक्रम खतिवडाको प्रत्यक्ष संलग्नतामा बुथ बनाएको हो।
जीतपुरसिमरा उपमहानगरपालिकको अनुरोधमा सिडेन बागमती प्रदेशले उक्त बुथ नोबेल कोरोना भाइरस (कोभिड–१९) विशेष अस्थायी अस्पताल, जीतपुरसिमरा उपमहानगरपालिका-२, सिमरा बारालाई हस्तान्तरण गरेको छ।
‘यो बुथ पनि पिपिई नै सरह भएको र यसको प्रयोगले पिपिईको प्रयोग घटाउन सहयोग गर्ने र स्वास्थ्यकर्मीलाई सुरक्षित महसुस गर्न सहयोगी हुने भएकोले बुथ बनाएका हौं,’ इन्जिनियर खतिवडाले भने। उनका अनुसार यो बुथ दक्षिण कोरियाको टेक्नोलोजीलाई नेपाली इन्जिनियरहरुले नेपालमा उपलब्ध सामग्री अनुसार बनाएका हुन्।
इन्जिनियर अनिल बानियाँका अनुसार बुथभित्र पोजेटिभ एयर प्रेसर मेन्टेन गरिएकोले बुथ पूर्ण रूपमा वैज्ञानिक छ भने बुथ एयर टाइट बनाइएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका इन्जिनियर अभयकान्त झाले बुथको गुणस्तर राम्रो भएको भन्दै सिडेनले यसखाले सहयोग गरेकोमा खुसी व्यक्त गरे।
उक्त बुथले कोरोना संक्रमितको पहिचान गर्न चाहिने स्वाब निकाल्न सहयोग पुग्ने नोबेल कोरोना भाइरस विशेष अस्थायी अस्पताल, जीतपुरसिमराले जनाएको छ।